धमाधम स्याउ बगैँचा व्यवस्थापन गरिँदै



हुम्ला ।

हिमाली जिल्ला हुम्लाका किसान यतिबेलास्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापन कार्यमा व्यस्त देखिएका छन् । स्याउका बोट समयमै काँटछाँट, मलजल र सिँचाइको उचित व्यवस्था गर्दा गुणस्तरीय फल उत्पादन हुने अपेक्षा छ । प्राविधिकको सुझाव अनुसार किसानहरू धमाधम बगैँचा सुधारतर्फ लागेको सिमकोट गाउँपालिका–५ का किसान मानवीर रोकायाले बताए ।

विगत पाँच दिनदेखि आफ्ना ५० बोट स्याउ रहेको बगैँचाको व्यवस्थापनमा जुटेको उनी बताउँछन् । ‘सबै बोटको काँटछाँट गर्नुका साथै मल राख्ने खाल्डो खन्ने, सिँचाइ गर्ने र बोटको डाँठमा बोडोपेस्ट लगाउने कार्य भइरहेको छ’ उनले भने, ‘यसअघि बगैँचाको नियमित हेरचाह नगरे पनि गत वर्ष कृषि प्राविधिकबाट तालिम पाएपछि म सक्रिय भएको हुँ ।’

जिल्लाको नाम्खा गाउँपालिका–१ स्थित हेप्का खोलामा स्याउ बगैचा बनाएका किसान पासाङ लामाले पनि बगैँचा व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको जानकारी दिए । उनले हाल साढे तीन सय बढि स्याउ लगाएका छन् । फल दिइरहेका स्याउका बोटहरूको काँटछाँट पूरा भइसकेको भन्दै सिँचाइ वयवस्थापनको काम भइरहेको उनले बताए ।

हुम्लामा मंसिर अन्तिम सातादेखि नै स्याउ बगैँचा व्यवस्थापन सुरु गर्न सकिन्छ । उच्च हिमाली क्षेत्रहरूमा फागुन महिनाभर काँटछाँट गर्न सकिने कृषि विकास कार्यालयका प्रमुख चूडामणि पन्तले बताए । उनका अनुसार जिल्लामा ५० भन्दा बढी विरुवा रहेकेो स्याउ बगैँचाको सङ्ख्या १५० भन्दा बढी छन् ।

विभिन्न सहयोगी निकायको सहजीकरणमा किसानहरू विरुवा काँटछाँट, मलजल र बोडोपेस्ट प्रयोगलाई प्राथमिकता दिन थालेका हुन् । किसानको बढ्दो सक्रियतासँगै हुम्लामा व्यवसायिक स्याउ खेतीको सुरुआत भएको छ । यसले आगामी दिनमा उत्पादन वृद्धि गर्ने विश्वास लिइएको छ । हुम्लाका सातवटै गाउँपालिकाहरू स्याउ खेतीका लागि उपयुक्त मानिन्छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १० गते आइतबार