सल्यान ।
जिल्लामा बाघको आतंक बढेपछि बालबालिकालाई विद्यालय जान सकस भएको छ । बाघले बस्ती नजिकै आएर आतंक मच्चाउन थालेपछि विद्यालय जाने कालीमाटीका बालबालिकालाई सकस परेको हो । बाँके राष्ट्रिय निकुञ्जबाट छिरेको बाघले गत पुस दोस्रो साता कालीमाटी गाउँपालिका–६ हात्तीढुंगा र वडा नम्बर ७ को पर्सेनीका दुईजना तथा कालीमाटी र सुर्खेतको सिमानामा एक गरी तीन जनाको ज्यान लिएको थियो ।
त्यसयता बाघले बस्तीनजिक दैनिक आतंक मच्चाउन थालेपछि विद्यालय आउजाउ गर्ने बालबालिकामा त्रास फैलिएको छ । यता बाँके राष्ट्रिय निकुञ्जले सेनाको टोलीले खटाएर भए पनि बालबालिकाको सुरक्षा दिने जनाएको छ । बालबालिकालाई बाघको आक्रमणबाट बचाउन भन्दै वडा कार्यालयले सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । उक्त मागअनुसार कालीमाटी गाउँपालिका–७ स्वामीबास, हाउखोला, बाटुले, ¥याङबाट नेपाल राष्ट्रिय मावि घुईयाबारी पढ्न जाने विद्यार्थीलाई निकुञ्जमा रहेको सेनाको टोलीले सुरक्षा दिने जनाएको छ ।
बाघले पुस महिनामा तीन जनाको ज्यान लिएको र आक्रामक भएर बस्ती नजिकैमा घुमिरहँदा पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिन तथा मार्न सकेका छैनन् । हाउखोला, बाटुले, स्वामिबास र ¥याङकाका १०० बढी बालबालिका एक महिनादेखि नियमित विद्यालय जान सकेका थिएनन् ।
सेनाले सुरक्षा दिने बताएपछि हाल सबै बालबालिका नियमित विद्यालय जाने तयारीमा छन् ।
सेनाले विद्यालय जाने र घर फर्किने समयमा सुरक्षा दिने बताएको छ । बाघलाई नियन्त्रणमा लिन तथा मार्न वन कार्यालयले आदेश दिए पनि सेनाले नियन्त्रणमा लिन नसकेपछि त्रासका कारण विद्यालय जान नसकेका बालबालिकालाई पढाइबाट वञ्चित हुन नदिन सेनाको सहयोग माग गरिएको हो ।
कालीमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले सुरक्षाको माग गरेपछि सेनाको टोलीले बिहान विद्यालय जाने र बेलुकी घर फर्कने समयमा सुरक्षा दिन सहमति भएको हो । स्वामिबास, बाटुले, हाउखोला र ¥याङका बालबालिकालाई घुईयाबारीमा रहेको नेरा माविमा पुग्न जंगल छेउको बाटो डेढ घण्टासम्म लाग्ने गर्छ ।
स्थानीय रातो बस्नेतले बाघको त्रासले ८÷१० जनाको समूह बनाएर मात्र निस्कन बाध्य भएको बताए । उनका अनुसार बाघ दैनिकजसो बस्ती नजिकै जंगलमा कराउने गर्दा स्थानीय कामकाजका लागि एक्लै घरबाट निस्कन र जंगलमा गएर घाँसदाउरा गर्न सकस परेको छ ।









प्रतिक्रिया दिनुहोस्