नरैनापुरमा डेढ सय वर्ष पुरानो धार्मिक मेला



बाँके । बाँकेको नरैनापुरमा करिव १५१ वर्षदेखि लाग्दै आएको प्रसिद्ध धार्मिक मेला सामाजिक सद्भाव र आपसी एकताको सङ्गम बनेको छ ।नेपालगन्जदेखि करिब ४७ किलोमिटर पूर्वमा अवस्थित नरैनापुर गाउँपालिका–२ स्थित खलीफा नूर अहमद साहको मजार सरिफमा प्रत्येक वर्ष आयोजना गरिने धार्मिक मेलामा नेपालसहित छिमेकी मुलुक भारतका हिन्दू –मुस्लिम समुदायका धार्मिक श्रद्धालुहरू सहभागी हुने गरेका छन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले खलिफा नूर अहमद साहको मजारलाई प्रमुख धार्मिक सदभाव पर्यटनस्थलका रूपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको जानकारी दिए । नरैनापुरका देशका विभिन्न भागका हिन्दू मुस्लिमसँगै सीमापारि भारतका पनि सयौँ हिन्दू मुस्लिमको सहभागिता रहने सो मेलालाई धार्मिक एकताको मेलाका रूपमा पनि मनाइने गरिएको उनको भनाइ छ ।

प्रसिद्ध सुफीसन्तकोे समाधीमा मेलाको बेला आउने हिन्दू मुस्लिम जोकोहीको पनि मनोकामना पूरा हुँदै आएकाले मेलामा आउनेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको स्थानीय ताजमोहम्मद खानले बताए ।

उनका अनुसार शनिवारबाट सुरु भएको मेला एक हप्तासम्म सञ्चालन हुनेछ । मेलामा रातिको समयमा धार्मिक प्रवचन हुँदै आएको छभने भाकल गरेकाहरूले दैनिक रूपमा बाबाको समाधीमा फातिहा, नियाज तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् ।

धार्मिक सद्भाव र एकताको प्रतीकका रूपमा रहेको सो मजारको संरक्षण र विकास सरकारले गर्नुपर्ने खानले बताए । गाउँपालिकाले मेलामा सहभागी श्रद्धालुहरूलाई खानेपानी, आवास तथा स्वास्थ्योपचारका लागि विभिन्न शिविरहरू सञ्चालन गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार