नेपालगन्ज ।
महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनमा स्वतन्त्र विद्यार्थी युनियनले तालबन्दी गरेर क्याम्पस प्रमुख र सहायक प्रमुखहरूलाई कार्यकक्षमै थुनेको छ । क्याम्पसमा विद्यार्थीहरूले राख्दै आएका विभिन्न मागहरूको सम्बोधन नगरी आलटाल गरेको भन्दै क्याम्पस प्रमुख लालमणी आचार्यसहित सहायक क्याम्पस प्रमुखहरू सुवास गौतम, भुवनेश्वर लामिछाने र बिसिए कार्यक्रम निर्देशक कोषराज रेग्मीलाई बुधबार दुई घण्टासम्म कार्यकक्षमै थुनेका हुन् ।
क्याम्पसका स्ववियु सभापति केशरजंग शाहीले दिएको जानकारी अनुसार स्ववियुको तर्फबाट साउन ६ गते ५१ बुँदे मागपत्र पेश गरिएको थियो। उक्त मागपत्रमा क्याम्पसमा पुस्तकालय व्यवस्थापन गरी ई–लाइब्रेरीको व्यवस्था गरिनुपर्ने, खेलमैदानको उचित व्यवस्था गरिनुपर्ने, छात्रावास व्यवस्थित गरी सञ्चालनमा ल्याउनुपर्ने, कक्षाकोठामा डिजिटल बोर्डको व्यवस्था गरिनुपर्ने, प्रयोगशाला र शिक्षक कर्मचारीको उचित व्यवस्था हुनुपर्ने तथा अन्य शैक्षिक तथा प्रशासनिक सुधारहरू गर्नुपर्ने लगायतका मागहरू क्याम्पस प्रशासनसमक्ष पेश गरिएको मागपत्रमा उल्लेख छन् ।
उक्त मागपत्र बुझाएको एक महिना बितिसकेको र समस्या रहेको वर्षाैँ भइसक्दा पनि क्याम्पस प्रशासनले समस्या समाधानका लागि पहल नगरेपछि तालाबन्दी गर्नुपरेको सभापति शाहीले बताए । क्याम्पस प्रमुख आचार्यले प्रशासनले मागहरू क्रमशः पूरा गर्दै जाने योजना बनाइरहँदा पनि विद्यार्थीहरू आत्तिएर तालाबन्दीमा उत्रिएको बताए । ‘हामीले काम गरिरहेकै थियौँ । लेखासम्बन्धी केही प्रक्रिया लम्बिएकाले तत्काल हुने काममा पनि अलिकता ढिलाइ भएको हो ।
अहिले आएर एक्कासी विद्यार्थीहरूले तालाबन्दी गरे,’ आचार्यले मिसन टुडेसँग भने । आचार्यले अब मिति तोकेर विद्यार्थीका मागहरू क्रमशः पूरा गर्दै जाने सहमति भएको जानकारी दिए । स्ववियु सभापति शाहीका अनुसार भदौ १८ गतेभित्र छात्रावासलाई व्यवस्थित गर्न कदम चाल्ने, डिजिटल स्मार्ट बोर्ड राख्ने, प्राध्यापकहरू कक्षामा नआउने सम्बन्धमा कडाइ गर्ने लगायतका कामहरूका लागि सहमति भएको जानकारी दिए। अरु विषयलाई पनि क्रमशः कार्यान्वयन गर्दै जाने सहमतिपछि ताला खोलिएको उनले बताए ।
क्याम्पसमा रहेको पुरुष छात्रावास दुई दशकदेखि अवैधरूपमा सञ्चालन भइरहेको, जीर्ण छात्रावास भवनमा विद्यार्थीहरू ज्यान जोखिममा राखेर बसिरहेको, क्याम्पसमा रहेको पुस्तकालय व्यवस्थापन नगरेर जर्जर हालतमा राखिएको विषयमा मिसन टुडेले रिपोर्ट प्रकाशित गरिसकेको छ । विद्यार्थीहरू अहिले क्याम्पसमा खेलमैदान नरहेको, प्राध्यापकहरू नियमित कक्षामा नआउने गरेको, फ्याकल्टी प्रमुखहरू नियमानुसार क्याम्पसमा नबस्ने गरेको, ल्याब, आइसिटी सम्बन्धि साधनहरू नभएको, क्याम्पसको उचित व्यवस्थापन गर्न प्रशासनले चासो नदिएको आरोप लगाइरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्