नेपालगन्ज ।
नेपालगन्जमा पर्चा नै टाँसेर चोरी हुने चेतावनी दिइरहेका घटना सार्वजनिक भइरहेका बेला विभिन्न स्थानबाट एकै दिन पाँच जना चोरीको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरबाट एकजना र नेपालगन्जबाट चारजना पक्राउ परेका हुन् ।
नेपालगन्जमा ल्यापटप चोरीमा संलग्न भएको आरोपमा सन्दिप बढही नाम गरेका व्यक्ति पक्राउ परेका प्रहरीले जनाएको छ ।
त्यस्तै, नेपाल टेलिकमको तार चोर्न लागेको आशंकामा टेलिकमको क्षेत्रीय कार्यालयपरिसरबाट मो. आदिल हासमीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । यसबाहेक, नेपालगन्ज वडा नम्बर ३ बाट दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । उनीहरूको साथबाट प्रयोग भइसकेका करिब १० किलो गोलीका खोकासमेत बरामद भएको र उनीहरू चोरीमा संलग्न भएको आरोपमा स्थानीयहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
उनीहरूमाथि स्थानीयले नियन्त्रणमा कुटपिट गरेर घाइतेसमेत बनाएकोले अहिले भेरी अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीको भनाइ छ । यस्तै, नेपालगन्जको एक घरमा चोरी प्रयास गरिरहेको अवस्थामा अर्का एक युवक पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् ।उनको साथबाट छिनी, एटिएम कार्ड र पुराना सिक्का बरामद गरेर स्थानीयहरूले प्रहरीको जिम्मा लगाएका हुन् ।
पक्राउ परेका व्यक्तिले आफू पिसाब गर्न घरमा प्रवेश गरेको दाबी गरे पनि स्थानीयका अनुसार उनी चोरीको उद्देश्यले घरभित्र छिरेका थिए ।प्रहरीले उनीमाथि छानबिन गरिरहेको जनाएको छ । यसैबीच, नेपालगन्जका स्थानीयले केही दिनदेखि घर अगाडि पोलमा ‘चोर्न आउने’ भन्दै टाँसिएका पर्चाका कारण त्रासमा परेको बताउँदै आएका छन् । प्रहरीले भने चोरीका घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्