धिरेन अनुपम
ठुल्दाजु मोहनसिंह र माल्दाजु रतनसिंह लगायत हामी तीन दाजुभाइ पिताजीको क्रियाकाजको लागि कोराबास बसेका थियौँ । आमा स्वर्गेवास भएको तीन वर्ष नपुग्दै पिताजी पनि आमालाई खोज्न धुवाँको बाटो भएर आगोको घरबाट हराउनु भएको आज नवौँ दिन भएको थियो । माघ १५ र १६ गते धरानमा हुने तेस्रो अन्तर्राष्ट्रिय साहित्य महोत्सव चैत १३ देखि १४ गतेको लागि सरेको कुरा मेरा अनन्य मित्र रोमु अधिकारीले फोन मार्फत सुनाउनु भयो । पिताजीको अकस्मात निधनको खबर सुनेपछि मित्र रोमु अधिकारी पनि भावविह्वल हुनु भएको रहेछ । गुरु मेरो त तपाईँसँग फोन गरेर समवेदना प्रकट गर्ने हिम्मत नै आएन । कसरी फोन गरौँ । म बडो अफसोचमा परेँ । मित्र रोमु अधिकारीज्युले दुःखभाव प्रकट गर्दै पछि समवेदना प्रकट गर्नु भएको थियोे । पिता गुमाउनुको पीडा मित्र रोमुज्युलाई पनि अनुभूत छ । केही बर्ष अघि उहाँले पनि आफ्ना पिताजीलाई गुमाउनु भएको थियोे । घर मुली सधैँका लागि घरबाट बाहिरिएर अस्ताउने कुराको पीडा भोगेकोलाई मात्रै थाह हुन्छ । मित्र रोमुजी र मलाई एउटै ग्रहदशाले छोएर गयो । धरान साहित्य महोत्सव चैत १३ र १४ गते सरेपछि मलाई पनि राहतको महसुस भएको थियो । पिताजी स्वर्गे भएको पैंतालिस दिन भइसकेको थियोे । चुनाव सकिएर देश व्यापी रुपमा चुनावको नतिजा प्रकाशित भयो तर धरान साहित्यिक महोत्सवमा जाने दिन गन्दा गन्दै आज, भोलि, पर्सि गर्दै तेस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव –२०८२ को निर्धारित समय १३ र १४ गते आँखै अगाडि आएको पत्तै भएन । गुरु डा. महेन्द्रकुमार मल्ल र मेरो सुर्खेतदेखि धरानसँगै जाने योजना भए पनि उक्त योजना सफल भएन । अफिसियल कामको सिलसिलामा गुरु अघि नै काठमाडौँ लाग्नुभयो । मलाई दिन गन्दै औँला भाच्दै पर्खी बस्नुको विकल्प भएन । मेरो बिस्तराको सिरानमाथि झुन्डिएको छ बार्षिक क्यालेण्डर । हावाले क्यालेन्डरका पाताहरूलाई हल्लाएपछि धरान साहित्य महोत्सवमा उपस्थिति हुन खबर ल्याएर हावा झ्यालबाहिर पाले झैँ उभिरहेको छ अर्थात म त्यहाँ जानै पर्छ । हर निमेष मनले यस्तै यस्तै अनुभूति गथ्र्यो । टिकट हातमा लिएर गाडी नचढुन्जेलसम्म समयका हरेक कर्ण कर्णमा म हराइरहन्थेँ । १० गते बिहानै महेन्द्र मल्ल गुरुले बाग्लुङदेखि फोन गर्नु भएको थियोे । “धिरेन तिम्रो त फोन पनि आउदैन त ?” जवाफमा “गुरु ११ गतेको लागि टिकट बुक गरिसकेको छु अब उतै भेटौँला” भन्दै बिदा मागेको थिएँ । ११ गते टिकटमा उल्लेखित समयअनुसार नै म बसपार्क पुगिसकेको थिएँ । अहिले झोला तानेर यात्रुलाई हैरान गराउने परम्परा सुर्खेतमा अन्त्य भएको रहेछ । उक्त दृश्य देखेपछि खुसी लाग्यो । झोला गाडीमा राखेँ र आफ्नो सिट सुरक्षित गरेँ ।
पश्चिम दिशा हिडेको घामको पाइला हेर्दा घडीले सुब्बाकुना पुग्दा पौने दुई बजाएको थियोे । यस्तै पाँच बजेको हुनुपर्छ गाडी कोहलपुर चप्परगौडी गएर रोकियो । क्याविनबाट एउटा कर्कस आवाज बस भित्र बसेका यात्रुको कानमा आएर ठोक्कियो । नास्ता गर्नुस् । कान ठाडा भए । अब बिच बाटोमा गाडी काहीँ रोकिदैन । एकैचोटि गोरुसिङ्गे गएर रोकिन्छ खाना खान । यात्रुहरू कान ठाडो पार्दै एकएक गर्दै झरे । होटेलको टेबुलमा गएर ओठहरू चल्मलाउन थाले खाजा नास्ताको प्लेटमा । पन्ध्र मिनेको विश्रामपछि हामी सवार गाडी ढकेरी, शम्शेरगञ्ज हुँदै कुसुम पुगेको थियोे । मोबाइलमा घण्टी बज्यो । घरबाट आयो कि भने हतारहतार फोन खल्तीबाट झिकेँ । धरानबाट मित्र रोमु अधिकारीले गर्नु भएको रहेछ । गुरु कता पुग्ने भयो ? शम्शेरगञ्ज । म पनि झोलीझिम्टी लिएर झुम्काबाट धरान जाँदैछु हाम्रो भेट भोलि त्यतै हुन्छ । बसपार्क पुगेपछि कल गर्नुहोला, म लिन पुगिहाल्छु । हस् गुरु भन्दै फोन राखेँ । गाडी हावाको गति समाएर अघि बढ्दै गयो मन भने धरान पुग्ने कुतुहलतामा भुरुङ झैँ नाची रहयो ।
गाडीले ठिक समयमा गोरूसिङ्गे पु¥यायो । ठिकै समयमा बुटवल हुँदै दाउन्ने पुगियो तर अझैसम्म दाउन्ने सडक खण्डको अवस्था मरेको सिनोको हाल झैँ उत्तानो छाती लगाएर बसिरहेको छ । राजधानी मात्रै नभएर नेपाल भर जोड्ने बाटोको अवस्थाप्रति राज्यले चासो नदिनु विडम्बना भन्नुबाहेक अरु शब्द भएन । राति १२ बजे पुगेको यात्रु चक्काजामको सिकार भएर बिहान ३ बजेसम्म धुलो खाएर दाउन्नेमै बसिरहनुमा दोषी को ? काममा ढिलासुस्ती देखाएर यात्रुलाई सास्ती दिने ठेकेदारहरूप्रति सरकार निर्मम कहिले हुने ? आदि प्रश्नहरूको जवाफ खोज्ने प्रक्रियामा आफूले आफैसँग रिसाउनु सिवाय अरु केही हात लागेन । धुलोको स्वाद चखाउँदै जामबाट गाडी उन्मुक्ति पाएर कतिखेर निक्लियो याद भएन । भुसुक्कै निदाइएछ गाडी भित्रै । बिउझिँदा बिहान ६ बजेको थियोे, पारस बसपार्क चितवन पुग्दा ।
साढेसात बजे गाडीले मकवानपुर हेटौंडा पु¥यायो । निद नपुगेर आँखा पिरा भएका थिए । धाराको पानीले आँखा भिजाएपछि आँखाको पिरो कम भयो । बिहानको नित्यकर्म र चियानास्ता पछि हामी सवार गाडी हेटौंडाबाट पूर्व लाग्यो । अमलेखगञ्जको चोकलाई दायाँ पार्दै गाडी बायाँ मोडियो । बारा, महोत्तरी, रौतहट, धनुषा, सिराहा, सप्तरी हुँदै पूर्व सुनसरी तर्पm । महेन्द्र राजमार्गको लम्बाई नाप्दै थिए गाडीका चक्काहरू । सर्लाहीको लालबन्दी पुग्दा पहिले झैँ मित्र रोमु सरको मोबाइलको रिङ बज्यो । गुरु कहाँ पुग्नु भयो ? उल्लासले भरिएको मनलाई चौडा बनाउँदै भने लालबन्दी गुरु । उहाँको जवाफ थियोे एकदेखि दुई बजेसम्म पुग्नु हुन्छ । बर्मझिया पुग्दा चार बजिसकेको थियोे । बाजेका नाउमा खोलिएका पेँडा पसलहरूमा पहिलेको जस्तो चहलपहल थिएन । बाजेको पेँडा बनाउने असली कलालाई नातीहरूले नक्कलीबनाई ग्राकलाई ढाँटेर र त होइन ? यस्तै यस्तै मनमा प्रश्नहरू उब्जिए । बाजेको नामले सडक किनारको दायाँबायाँ बाटोमा फिजिएका होडिङबोर्डका उदास चेहेराहरू छल्दै हामी सवार गाडी कोशी ब्यारेजमा पुगेपछि गति कम गर्दै नदी पार ग¥यो । तालका माछालाई कोशी नदीका माछा बनाएर बेच्ने पसले र नदीकै माछा बेच्ने पसलहरू पुलछेउकै किनारमा लस्करै थिए। गाडीबाट सहजै छुट्याउन सकिन्थ्यो ताल र नदीका माछा । पापी पेटभन्दा लोभी संसारमा कुनै वस्तु छैन । पेट हुँदैन थियोे भने मान्छेले दुःख पनि गर्दैन थियोे होला । उनीहरूको पेशाप्रति सहानुभूति प्रकट गर्दै कमसेकम उनीहरूले देश त बेचेका छैनन् भन्ने सम्मान पलायो । फेरि टिनटिन टिनटिन घण्टी बज्यो । फोन गुरुकै थियो । कहाँ पुग्नु भयो ? मिलन पेट्रोल पम्प । ए ए मेरै गाउँमा पुग्नु भएछ । चालीस मिनेटमा धरान बसपार्क पुग्नु हुन्छ । हस् गुरु हस् भन्दै फोन राखेँ । गाडी इटहरी चोकमा आएर उत्तर मोडियो । चोक उस्तै थियो बरु सडकको रुप फेरिएको थियो । एक लाइन सडकबाट दुईलाइन भएका रहेछन् । पूर्व, पश्चिम, उत्तर, दक्षिण छुट्टिएका सडकहरूको दिशा हेरेँ । अतितलाई सम्झना गरेर हातका औँला भाचेँ । भाँचिएका औँलाबाट हिसाब निक्लिएपछि थाह भयो ठिक १६ बर्ष पहिले इटहरी चोकमा पुगेको रहेछु ।
फेरि फोनमा घण्टी बज्यो । फोन मित्र हेमन्त निरौलाजीको रहेछ । प्रश्न उहीँ थियोे सर कता पुग्नु भो ? इटहरी । ए ए नजिकै पुग्नु भएछ । भोटेपुलमा झर्नुहोला, म लिन आउँछु हजुरलाई । तपाईँलाई रिसिभ गर्ने मनै हो । हेमन्त सरको मृदुभाषी कुराले आत्मियता थप्यो । कामको बाँडफाँटको जिम्मा सबैलाई दिइएको रहेछ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्थ्यो । गाडी भोटेपुल पुग्न दश मिटर टाढा थिएन । हेमन्तजी मेरै पर्खाइमा बस्नु भएको रहेछ । मैले गाडीको क्याबिनबाटै मोटो ज्यान देखिहालेँ । हतारहतार झर्दै न्यानो मायाको आँचलमा लतपतिएर छाति मिलायौँ र एकले अर्कालाई अभिवादन ग¥यौँ । म उहाँको पछि बसेँ । धरानको व्यस्त सहरको बाटो हुँदै एक चिया पसलमा मोटरसाइकल अडियो । बाटोबाट भित्र पस्यौँ उक्त चिया पसल फेसबुकबाट परिचित कवि मधुप्यालाको मधुशाला रहेछ । मधुशालासँगै रहेछ चियाशाला पनि । चिया पिउँदै रातभरिको थकान मेटेँ । डा. भिम खतिवडा, अस्मिता भट्टराई, खेम आचार्य, एमपि पाण्डे र मित्र रोमु अधिकारीज्युहरू सँगको भेटले मन प्रफुल्ल भयो । निद र थकान हरायो, धरान पुगेको वास्तविक अनुभूति भयो । आत्माले धरानको माटोलाई नमन गरेँ शीर झुक्याएर । चिया पिएपछि हामी अघि बढ्यौँ । भानुचोकको आडैमा एक पान पसलको अघि हेमन्तजीले बाइक रोक्नु भयो । उहाँ पानको पारखी हो उहाँका दाँत र ओठले नै परिभाषित गरेका थिए । पानको अर्डर गर्नु भयो आफ्नो लागि । म पनि पानको मिनि पारखी हुँ । अर्डर गरौँ गरौँ मनमा लागि रहेको थियो । हेमन्तजीले सोधिहाल्नु भयो, सर कुन पान लिने ? म त मिठा पान नै खान्छु । साहुजीले पानको पातको गर्धनतिर कैँची सोझाउँदै टाउको हल्लायो र पातलाई टुई टुक्रा बनायो । कत्था र चुना मिलाएर पान तयार गरेर दियो । मुखमा हालेँ । बनारसी पान र धराने पानमा फरक छुटाउँनै सकिन । हामी कार्यक्रम स्थल तर्फ मोडियौंँ । त्यहाँ पुग्दा शोभा भण्डारी र रोमनाथ ढुङ्गेल कार्यक्रम स्थलमा हुनुहुन्थ्यो । भोलिको कार्यक्रमको लागि बन्दोबस्त मिलाउँदै हुनुहुँदो रहेछ । सिमसिम पानीले स्वागत गर्यो । धनुषा, रौतहट, सिराह, सप्तरीको गर्मीलाई धरानको चिसोले काट्यो । चिसोसँगै शरीरमा स्फूर्ति चलायमान भयो । छोटो परिचयपछि बसाइको प्रबन्ध लक्ष्मी चोकको आडैमा रहेको ह्याप्पी ल्याण्डमा भएको रहेछ । हेमन्त निरौलाजीले मलाई त्यहीँ ल्याण्ड गराउनु भयो । आजको हाम्रो बास रुम नम्बर १०१ मा रहेछ । पहिले नै महेन्द्र मल्ल गुरु र प्रज्ञाका कुलपति भुपाल राईज्यू त्यहीँ हुनुहुँदो रहेछ । गुरु र मेरो रुम एउटै थियोे । २६ घण्टाको यात्रापछि धरान सहर पुगेको थिएँ । अनिदो यात्रा र केही घण्टा अघि मधेस प्रदेशको गर्मीलाई धरानको चिसो मौसमले निलेपछि लुटुक्कै निदाएको थाह नै भएन ।
म ब्युझिँदा विजयपुर गढीको थाप्लोबाट घाम उदाएपछि चिन्नेडाँडा र शुलीकोटको पखेरामा पारिलो घाम परेको थियोे । यसो लाग्थ्यो राति परेको चैते झरीले भिजेको शुली र चिन्नेले आफ्नो जवानीलाई घाममा सुकाइ रहेका छन् । युद्धमा पराजित सिपाही झैँ साँघुरीगढी भने झोक्रिएर धरान सहर नियाली रहेको थियो । विजयपुरका अन्तिमराजा बुद्धिकर्ण राय उर्फ बुद्धिकर्ण राई हुन् । राजा पृथ्वीनारायण शाहको सेनाले विक्रम संवत १८३१ विजपुर कब्जा गरेपछि विजयपुर दरबारको भबिष्य सकियो । विजयपुर कब्जापछि बुद्धिकर्ण राय भारतको बिहार भागेर उतै राज्य खडा गरेर बसेका थिए भन्ने सुक्ती जोडिएको छ । स्रोत अनुसार पृथ्वीनारायण शाहको तिलंगा ÷सेनाले पुन पक्राउ गरी विजयपुरमै ल्याएर बर्बर्तापूर्वक शरीरको छाला काढेर बुद्धिकर्ण रायको हत्या गरेका थिए रे । श्रीमानको मृत्युको खबरले रानीले पनि भावविह्वल हुँदै विजयपुरभन्दा पूर्व पर्ने खोलामा सेरिएर मृत्यु वरण गरेकाले उक्त खोलाको नाम नै सेरी खोला रहन गएको हो रे । जुनखोला अहिले सुनसरीदेखि मोरङ्ग जिल्ला हुँदै दक्षिण बगिरहेको देखिन्छ । भेडेटारबाट सेरी खोलालाई दायाँ पार्दै चोर औँला देखाउँदै मित्र रोमु अधिकारीले गजलकारद्वय खेम आचार्य र अस्मिता भट्टराईको गाउँको सिमाना देखाउनु भएको थियो । विजयपुरगढी आफ्नो पहिचान खोजी रहेको छ । पहिचानमा उभिएर आफ्नो इतिहासको वीरगाथा खोजी रहेको छ । उक्त गाथालाई उजागार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन सकेको खण्डमा कोशी प्रदेश थप समृद्ध हुने अर्को आधारशीला हुन सक्छ । खण्डहर अवस्थाको कुरुप चेहेर लिएर बाँच्ने या खण्डहर अवस्थाबाट पूनर्निर्माण भई सुन्दर चेहरामा उभिएर हाम्रा पुर्खाको इतिहास विश्वलाई चिनाउने कुराको गाम्भिर्यता सरकारले कहिले बुझ्ने ? हिजो साँझ धरान १३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्ले सरसँग फोनमा कुराकानी मात्रै भएको थियोे । उहाँको व्यस्तताका कारण भेटघाट हुन सकेन । भोलि बिहान ७ बजे स्रष्टा पार्कमा भेट्ने कुराकानी सहित फोन राखेका थियौँ । प्रभातफेरी स्रष्टा पार्कदेखि सुरु भएर लक्ष्मी चोकमा पुगी महाकवि देवकोटाको शालिकमा पूmलमाला माल्यार्पण गरी कार्यक्रम स्थल फर्कने सेड्युल बनेको थियो । सोही मुताबिक महेन्द्र मल्ल गुरु, केशब कोइराला, अस्मिता, एमपि पाण्डे, हेमन्त सर, रोमु अधिकारी, कुलपति भुपाल राईकै पछि लाग्दै पंक्तिकारका खुट्टा पनि पार्क तिरै सोझिए । अध्यक्ष नेत्र काफ्लेज्यू आफ्नै १३ नम्बर वडा कार्यालयको प्राङ्गणमा साहित्यकारहरूलाई स्वागत गर्दै हुनुहुन्थ्यो । सर नमस्कार । नमस्कार फर्काउँदै खुसीले अँगालो मार्दै मल्ल गुरु र मलाई वडा कार्यालय देखाउनु भयो । पहिलो पटक वडा कार्यालयबाट आधारभूत स्वास्थ्य सेवा दिएको देखेँ । वडापत्रका लेखिएको थियोे आठओटा स्वास्थ्य सेवा सम्बन्धी निःशुल्क उपचार तथा जानकारीको बारे ।
धरान उपमहानगरपालिका १३ नम्बर वडाले स्वास्थ्य क्षेत्रमा गरेको कामको सिको नेपाल भरिका सम्पूर्ण वडाहरूले गर्न सकेको खण्डमा किशोर, किशोरी, गर्भवती आमा र बिरामीहरूले सस्तोमा उपचार पाएर स्वास्थ्य लाभ गर्ने कुरामा दुईमत छैन । गाउँदेखि सहरसम्म गएर महंगो उपचार गर्ने कष्टको समाधान गाउँमै हुन सक्थ्यो । एक बर्ष अगाडिको कुरा हो । मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतले सम्पन्न गरेको कर्णाली उत्सव कार्यक्रममा आउँदा नेत्र काफ्ले सरले भन्नुभएको थियोे । धरानमा स्थानीय साहित्यकारहरूको सालिक बनाउने कुरा । आज त्यो कुराले मूर्त रूप लिएको थियोे । एक, दुई, तीनजना स्रष्टाको मात्रै होइन तेह्र जना साहित्यकारहरूको सालिक बनाउने कुरा सामान्य पनि होइन । राज्यले राज्यको नजरमा देखा परेका साहित्यकारहरूको सालिक मात्रै बनाएको छ तर नेत्र काफ्लेज्यूले देशले तिर्नु पर्ने स्रष्टाको गुनलाई आफ्नो पहलमा राज्यको नजरमा ओझेल परेका साहित्यकारहरूलाई जीउँदो इतिहास बनाएर धरान उपमहानगरपालिका वडा नम्बर १३ को खोला किनारको खण्डहर जमिनलाई सदुपयोग गरी स्रष्टाहरूको व्यक्तित्व र कृतित्वलाई जीवित बनाइदिनु भएको छ । यति मात्रै होइन धरान उपमहानगरपालिका र कोशी प्रदेशकै इज्जत उच्च बनाउनु भएको छ । नेत्र सरले देवदुत बनेर मृतक स्रष्टाहरूको योगदानलाई अमर बनाउनु भएको छ । उहाँलाई भने सृष्टि रहुन्जेल समयले अमर बनाउने कुरामा दुईमत छैन । नेपाल प्रज्ञा प्रतिष्ठान लगायत नेपालका साहित्यिक संस्थाहरूले उहाँको योगदानलाई सम्मान गर्नुपर्छ । कसैले पनि नाक खुम्चाउनु पर्ने कुनै कारण छैन । साहित्य लेख्न जो कोही सक्छ तर साहित्यिक अभियन्ता बन्ने कुरा धेरै अफ्ठेरो कुरा हो । जो कोही जननिर्वाचित वडा अध्यक्षले आफै अग्रसर भएर साहित्यिक अनुष्ठानहरू गरेको तथ्य भेटिदैन । भाँचिएको आफ्नो हातलाई झलुङ्गोमा राखेर स्रष्टा पार्क उद्घाटन गर्न उहाँले खेल्नु भएको भूमिकाको प्रशंसा जति गरे पनि कमै हुन्छ । साढे आठ बजे बाजागाजा झाँकीसहित नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईज्यूले वाङ्मय कवि तथा समाजसेवी छविलाल पोख्रेल, सङ्गीतकार रमाकान्त खनाल, लघुकथाकार एवम् शिक्षासेवी जगदीश नेपाली, ललितकलाका कर्ण मास्के, कथाकार, जीतमान राई, पत्रकार गमबहादुर लम्जेल, कवि मानबहादुर शाक्य, कवि बेणु आचार्य, कवि कृष्ण पाख्रिन, कवि गोविन्द विकल, कवि बद्रि पालिखे, कवि टंक घिमिरे र कवि विमल गुरुङ लगायत १३ जना स्थानीय स्रष्टाहरूको सालिक अनावरण गर्नुभयो ।
राज्यले गर्न नसकेको काम नेत्र काफ्लेज्यूले गरेकोमा कुलपति भूपाल राईले बधाई तथा धन्यवाद दिनु भएको थियोे । साहित्यकार छविलाल पोख्रेलले जातीय छुवाछुत बिभेदको लागि त्यतिबेला देखिनै जागरण अभियान चलाउनु भएको रहेछ । साहित्यकार रमाकान्त खनालले भारतमा पुगी सङ्गीत शिक्षा सिकेर काठमाडौं दरबारसम्म पुगेर कला प्रस्तुत गरेका रहेछन् । जगदीश नेपालीले शिक्षाको पहुँच नभएको समयमा सुनसरी जिल्लामा विद्यालय खोली शिक्षाको बीउ रोप्ने काम गर्नु भएको कुरा शिलालेखमा उल्लेख छ । सबै मूर्ति स्थापित भएता पनि अन्य स्रष्टाहरूको व्यक्तिगत विवरण शिलालेखमा खोपिएर सालिकको मुनि टाँसिन बाँकी छ । सालिक अनावरण पश्चात् झाँकी सहितको प्रभातफेरी स्रष्टा पार्क देखि लक्ष्मी चोकसम्म पुग्यो । महाकवि देवकोटाको सालिकमा माल्यार्पण पछि झाँकी धरान बेन्क्वेट एण्ड इभेन्टस् पुगेर धरान साहित्य महोत्सवले औपचारिक आकार ग्रहण गरेको थियोे । काठमाडौं, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सुर्खेत, कन्चनपुर, अछाम, संखुवासभा, भोजपुर, रुपन्देही, कपिलवस्तु, चितवन, नुवाकोट, मकवानपुर, बाग्लुङ, नवलपरासी पूर्व, गुल्मी, पाल्पा, तनहुँ, कास्की, आसाम, मेघालय तथा दार्जिलिङका कवि साहित्यकारहरूको उपस्थिति थियोे । हलमा राखिएका कुर्सीहरू भरी गाग्री जस्तै भरिए । किरात संस्कृति तथा नेपाली भेषभुसाको मिश्रित पहिरनमा थेप्चो नाक गोरो उज्यालो, हँसिलो चेहरा स्टेजमा उक्लियो । उनको नाम रहेछ सन्जु राई । उहाँ गरिमा डान्स स्कुल धरानकी प्रवन्धक तथा नृत्य निर्देशक हुनुहुँदो रहेछ । साहित्य कला संस्कृति प्रतिष्ठान धरानका संयोजक गोपाल देवानले कार्यक्रम सभाध्यक्षताको आसन ग्रहण गरेपछि देश तथा विदेशबाट आउने स्रष्टाहरूलाई अतिथि आसन ग्रहण गराउनु भएको थियोे । सर्जकहरूको आतिथ्यता ग्रहण पश्चात् प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेष्ठले स्वागत मन्तव्यद्वारा सबैलाई स्वागत गर्नु भयो । नेपाली भाषा साहित्य र शिक्षाको क्षत्रमा योगदान पु¥याए बाफत मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिस्टार डा. महेन्द्रकुमार मल्ललाई नगद राशी, सम्मान पत्र र दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियोे । अतिथि स्रष्टाहरूको शुभकामना मन्तव्य । कार्यपत्र प्रस्तुत । अग्रज कविहरूको कविता वाचन राखिएको थियोे । पहिलो दिनको अन्तिम बिशेष कार्यक्रमका रुपमा गजल महफिल थियोे । किशोर कोइराला, मुना आत्रेय, अनन्त अनुराग, टिकु भट्टराई, दिपा दिपहरी, यादव भट्टराई र पंक्ति कार सायरको भुमिकामा थिए । कार्यक्रमको सहजिकरण गजलकार अस्मिता भट्टराईले गरेकी थिइन् ।
कार्यक्रम सञ्चालन हुनुपूर्व मित्र रोमु अधिकारीले सायरहरूको संक्षिप्त परिचय सहित अतिथि आसन गह्रण गराउनु भएको थियोे । सायरका गजलका सेरले दर्शक दिर्घामा बसेका दर्शकहरूको मन लुट्यो । अक्सर मान्छेहरू भिडमा हराउँछन् आज दर्शक श्रोताहरू गजलका सेरहरूमा हराएका थिए । हलमा गुन्जने ताली र हल्ला महफिलको शोभा हो । महफिलको सौन्दर्य भनेकै तालीमा मिसिएको गुल्जार हो । पहिलो दिनको धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सवले देश विदेशबाट आएका साहित्यकारहरूको तालीमा मिसिएको हलमा उत्सव मनाएर विदाई भयो । एउटा कुराले भने मनमा गहिरो छाप छोड्यो । आफ्नो नाम ब्यानरमा नभएपछि निम्तो आएपनि साहित्यिक कार्यक्रममा सहभागी नहुने परम्परा पूर्वमा व्याप्त रहेछ । आपूm भए ठिक अरु भए बेठिक भन्ने सिद्धान्त सायद साहित्यको लागि राम्रो होइन । साहित्यकार हुनु भनेको त अरुलाई सुन्नु पनि हो नि । नेताहरूको जस्तो दाउपेच साहित्यमा गर्न थालेपछि साहित्यकार र नेताहरूमा फरक के नै भयो र । धरान, इटहरी, विराटनगर बराह क्षेत्र र भेडेटार दुरीको हिसाबले धेरै टाढा होइन । तर सार्वजनिक विदाका दिन भएपनि साहित्यिक कार्यक्रममा आउनुभन्दा उँहाहरू टिकटक र फेसबुकका रिल हेरेर दिन कटाउन उहाँहरूलाई रमाइलो लाग्यो होला । पूर्व पुगेपछि मैले पनि चिनेका केही थान साहित्यकारहरूलाई व्यक्तिगत खबर गरेको थिएँ तर उहाँको उपस्थिति देखिएन । उहाँहरूको अनुपस्थितिले मलाई पनि खल्लो लाग्यो । निधिखोजी गर्दा आयोजकले पत्रचार गर्दा पनि उहाँहरू आउनु भएको रहेनछ । कार्यक्रम समापनपछि मित्र रोमु अधिकारी ज्युको स्टाटसले पनि उहाँहरूको बिषयमा धेरै कुरा बोलेको छ । कुनै अपरिचित श्रोताले तपाईँको गजलको फ्यान हुँ भन्दा मनमा खुशी मिल्ने रहेछ । कार्यक्रम सकिएपछि अपरिचित साहित्यकारहरूले गजल राम्रो रहेछ भनेर प्रशंसा दिनु भयो । ध्रुव एक्लास, युवराज ठकुरी, विनोद घिमिरे, इन्दु नेपाल योन्जन सँगको पहिलो भेटले मनमा धेरै खुशी थप्यो ।
कार्यक्रम सकिएपछि आयोजकले सबै साहित्यकारलाई निश्चित गरिएको आवास क्षेत्रतिर पठाउनु भयो । मल्ल गुरू र मेरो बसाइँ पहिलेको ठाउँदेखि सरेको रहेछ । यसो भनौँ धरान सहरको शीर माथिको सारंगाडाँडामा । उक्त क्षेत्रलाई नेत्र सरकै पहलमा पर्यटकिय क्षेत्र घोषणा गरिएको रहेछ । भारत , विराटनगर ,झापा , मोरङ लगायत मधेष प्रदेशदेखि गर्मि छल्न मान्छेहरू सारंगा आउने रहेछन् । सारंगा ओसार्न गेटमै गाडी आयो । झोलाझिम्टी गाडिमा कोचेर हामी सिटमा बस्यौँ । दार्जिलिङबाट साहित्यकार विमला प्रधान जोशी, प्रतिमा क्षेत्री र एन बि दाहाल पनि थपिनु भयो । हामी सवार जिप घुम्ति मोड पार गर्दै मुसो झैँ दौडियो । सडक किनारमा सजिएका झिलिमिली होटेलहरूको आँगन काट्दै तीन कि.मी माथि अवस्थित न्यु जुलिट होटलको आँगनमा पुगेर जिप अडियो । हामीलाई साहुजीको जिम्मा लगाएर चालक फर्किए । दिन भरिको थकान र धरानको गर्मिलाई सारंगाको डाँडाको चिसोले खर्लप्पै निल्यो । सारंगा डाँडाको खुल्ला आकासबाट धरान, इटहरी, झुम्का, कोशी छेउछाउको अद्भुत दृष्य देख्दा लाग्छ स्वर्गको एक टुक्रा जमिनमा खसेर बसेको छ । हामी त्यहीँ दृश्य निहाली रहेका छौँ । झिलिमिली सहरको अद्भुत दृष्य जति हेरे पनि धित मरेन । वेटर भाइलाई निवेदन गर्दै रुममा फर्किँए । केही समयपछि भाइले कोठामै सेवा टक्राए । वल्ड दरबारको एक एक पेगको स्वादमा हामी रमायौँ । बाहिर हावाहुरी र पानी परिरहेको थियो । शरीरले न्यानो मागेपछि म आफ्नै बिस्तारामा गएर सिरकमा गुटुमुटु हुँदै निदाएँ ।
एकाएक बाहिरबाट एनबि सरले ढोकामा मुक्का बजारेपछि थाह पाएँ उज्यालो भएको । बिहान ग्यालरीमा अचानक भुपाल राईज्यूसँग भेट भयो । भेट पछि थाह भयो उहाँको बसाइ पनि हाम्रै आडको रुममा भएको रहेछ । बिहानको नुवाईधुवाई र नित्य कर्मसँगै फ्रेस भएपछि । तिनतला माथि झोला लिएर उक्लियौँ । अमलेट र चिया तयार नहुँदै हामीलाई लिन जीप आँगनमै आइपुगेको रहेछ । हतारहतार चिया अमलेट खादै गाडी चढ्यौँ । प्रतिमा क्षेत्री र विमला दिदीले त उसिनेका अण्डा हतार हतार गररे गाडी भित्रै खानु भयो । गाडी ओरालो लाग्यो र हामी कार्यक्रम स्थलमा पुग्यौँ ।
हामी पुग्नुभन्दा पहिले नै साहित्यकारहरूलाई भ्रमण गराउनको लागि सत्यसाई स्कुल बस कृषि हाटबजार गेटको अघि उभिएको थियोे । सबै साहित्यकारहरूले आआफ्नो सिट ओगटी सकेका थिए । गुरु नजाने भएपछि म गाडीको अन्तिम सिटमा गएर बसेँ । बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली र श्रमसंस्कृति पार्क घुमाउने आजको कार्यक्रमको पहिलो तालिका रहेछ । सबै साहित्यकारहरू बसमा चढी सकेपछि खुशी र जोसमा भरिएको आवाजमा शोभा भण्डारीले नेपाल घुम्न आएका विदेशीलाईभैmँ अपरिचित ठाउँको बारेमा व्याख्या विश्लेषण गर्दै अवलोकन गर्ने ठाउँको बारेमा जानकारी गराउनु भयो । यसरी त पंक्तिकारको पनि धरान भ्रमण पहिलो नै थियोे । बडो चाखपूर्वक उहाँका कुरा सुन्दै मोबाइल नोटमा ठाउँहरू टिपोट गरेँ । नबुझेका कुराहरू मेरै सिटको आडमा बसेका होचो कदका मानिस प्रफुल्ल भण्डारीबाट बुझ्ने प्रयास गरेँ ।
जब सत्यसाई स्कुल बसले खुट्टा तान्ने सुरसार गर्यो । महिला साहित्यकारहरूको हल्लाले कानको कानेगुजी नै खायो । पिकनिक जाने केटाकेटीलेझैँ होहो र हाहा गर्दै दिदीहरू नाच्न र गाउन थाले । लाग्छ सोह्र बर्षे जवानीको उमङ्ग उनिहरूको जिवनमा आज देखा परेको हो । उमेरले पैतालिस काटेकाहरू मात्रै होइन साठी नाघेकाहरू बेस्सरी रमाए । साहित्यकार भरत बार्बरिक दाइ उमेरले एकसट्ठी भएता पनि बुज्रुक महिला, पुरुषको हुलमा उनको उमेर सबैको भन्दा कमै होला भन्ने कुरा उहाँका श्रृङ्गारीक मुक्तकहरूले स्पस्ट पारेको देखिन्थ्यो । फुलेर हिउँझै सेताम्मे बनेका लामा कपालले बार्बरिक दाइको उमेरलाई छ दशकको तुलोमा जोख्ने आट गर्नै सकेको थिएन । दाइको जोस र शरीरको स्पूmर्तिले मलाई पनि सोह्र बर्षे युवा अवस्थामा पु¥यायो । बस अगाडि उकालो बढेर पुर्व उत्तर लाग्यो केही समयपछि तेरपायँ तेरपायँ हुँदै भित्ता र सडकको फेरो समाएर नागबेली आकारमा दक्षिण हुँदै स्रष्टा स्तम्भलाई दायाँ पार्दै बुढासुब्बा बाजेको मन्दिर बाहिर रोकियो । फुलपाति, धुप, अबिर बेच्न बसेका दायाँबायाँ साहुजीहरूको आवाजलाई नजरअन्दाज गर्दै साहित्यकारहरूको हुल मन्दिर परिसर पस्यो । बुढासुब्बा बाजेसँग कस्ले के माग्यो थाह भएन । केही महिना अगाडि मात्रै मेरा पिताजी स्वर्गेवास भएको हुँदा पुजाआजा गर्न नपाएकाले बुढासुब्बा बाजेसँग माफि मागेर म फर्किँए । २००३ सालमा संगठित रुपले भानु जयन्ति धरानमा मनाएपछि साहित्यिक गतिविधि संस्थागत रुपमा अघि बढेका रहेछन् । श्रष्टा स्तम्भ विजयपुर विच बजारमा निर्माण हुनु त्यसैको उदाहरण हो । नेपाली भाषा साहित्य तथा कला संस्कृति बचाउन प्रा.डा टंक न्यौपाने सरले गर्नु भएको महत्वपूर्ण योगदानको इतिहासले मुल्याङ्कन गर्ने नै छ । स्रष्टा स्तम्भ उहाँ कै अग्रसरतामा निर्माण भएको रहेछ । स्रष्टाको सम्मानमा स्रष्टा स्तम्भ निर्माण हुनु सर्जकको लागि महत्वपूर्ण सम्मान अरु के नै हुन सक्छ । किरात धर्मालम्बीको आस्थाको केन्द्र बनेको बुढासुब्बा मन्दिर अहिले सबै जातजाति र विभिन्न धर्मावलम्बीहरूको आस्थाको केन्द्र बनेको छ । आपूmलाई शिवको सन्तान मान्ने किरात राइहरूले बौद्ध धर्म र हिन्दु धर्मलाई पनि मान्ने गरेका छन् । बहु भाषाभाषी, बहुधर्मालम्बी देश नेपाल त्यसै भएको होइन । सोचेका र आँटेका भाकल बुढासुब्बा बाजेले पु¥याउने भएकाले पूर्वि नेपालका पहाडी जिल्ला र मधेस जिल्लाबाट दर्शन गर्ने भक्तजनहरूको भिडले मन्दिर परिसर भरिभराउ थियोे ।
बाजेलाई पंक्षिदेखि बोका सुङ्गुर र राँगाको वलि चढ्ने भएकाले आफ्नो मनोकामना पूरा गर्न श्रद्धालुहरू लाइनमै लागेर पालो कुरीरहेका देखिन्थे । केही विजयपुर डाँकाकै पश्चिम दक्षिण दिशातिर पिण्डेश्वर मन्दिर भएकाले हामी त्यतै लाग्यौँ । भगवानको दर्शनभन्दा पनि आपूmपुगेको ठाउँलाई सार्वजनिक गर्ने लत सामाजिक सञ्जालले लगाएको छ । अहिले फोटो र भिडियो बनाएर सार्वजनिक गर्ने होड चलेको छ मान्छेहरूमा । साहित्यकारहरू मन्दिरका हरेक एङ्गलमा उभिएर ग्रुप र सिङ्गल फोटो खिच्न तछाड मछाड गर्न थाले । हरेक ठाउँको अवलोकनको लागि दश मिनेट छुट्टाइएको थियोे । आठ मिनेट नहुँदै शोभा भण्डारीले चर्को आवाज लगाई हाल्नु भयो । हामी उक्त आवाजको पालना गर्दै बसमा फटाफट चढ्यौ र दन्तकाली मन्दिर लाग्यौंँ । सती देवीको दाँत पतन भएकाले उक्त मन्दिरको नाम दन्तकाली रहन गएको रहेछ । नेपाली मात्रै होइन रहेछ उक्त मन्दिरमा भारतीय भक्तजनको पनि बाक्लै भिडभाड थियो । मन्दिरको अवलोकन र दर्शन पश्चात समयको पालना गर्दै साहित्यकारको हुल श्रमसंस्कृति पार्क प्रस्थान गर्यो । यसरी त श्रमसंस्कृति पार्कका केही थान भिडियोहरू सामाजिक सञ्जालमा नदेखिएको पनि होइन तर सशरीर उपस्थित भएर उक्त ठाउँमा पुगेर नजिकबाट अवलोकन गर्न पाउँदा मनमा बेग्लै उर्जा र आनन्द थप्ने रहेछ । लामा लामा कपाल । कमाल माथि ह्याट । फ्रेन्च कट दारी । उमेरले पाको हट्टकट्टा मान्छे मेरै छायाको किनार छेउमा उभिएका थिए । हेर्दा बिदेशी जस्तो पनि लाग्ने बोली सुन्दा नेपाली । उहाँसँग परिचय गरिहालेँ । उहाको नाम रहेछ राजेन्द्र खनाल । प्रोफेसरबाट रिटायर्ड हुनुभएको एघार बर्ष जति भएको रहेछ । यसरी त उहाँ वातावरण विज्ञ पनि हुनुहुँदो रहेछ । छोराछोरी स्कटल्याण्ड बस्ने भएकाले उहाँको आउजाउ विदेश र स्वदेशमा बराबर नै हुने रहेछ । ७१ बर्षको उमेरमा पनि दाजुको स्पूmर्ति देखेर म दङ्ग परेँ । उहाले श्रमसंस्कृति पार्क र सर्तु जलधार खोलाको बारेमा बेलिबिस्तार लगाएर ब्रिफिङ गर्नु भयो । मुख्य कुरा त के थियोे भने नेपाल र भारत देशको सम्झौतापछि कोशी नदीमा बाँध बनाउने कार्य सन् १९५४ देखि शुरु भएर सन् १९५८ मा बाँध निर्माण सम्पन भइसकेको कुरा इतिहासले बताउँछ । त्यही बखतको कुरा रहेछ । कोशी नदीको बाँध निर्माणका लागि चाहिने ढुङ्गा भारत रेलगाडी सर्तुखोला सम्म पठाएको रहेछ । अहिलेको श्रमसंस्कृति पार्क जहाँ विश्वेश्वरप्रसाद कोइरालाको सालिक छ ।
त्यसैको आडमा रेल स्टेसन रहेको कुरा राजेन्द्र दाइले सिमेन्टले बनेको पुरानो पहरा देखाउँदै कहानीको बिट मार्नु भएको थियोे । खोला वारिका संरचनाको अवलोकन गरेर खोला पारी त¥यौ फलामे पुलबाट । आन्तरिक तथा बाह्य पर्यटकहरूको गन्तव्य बनेको छ श्रमसंस्कृति पार्क । बन्जर सर्तुखोलाको किनारलाई स्थानीय धरानवासी र बेलायतमा रहने गोर्खा लाहुरेहरूको आर्थिक सहयोगमा श्रमसंस्कृति पार्कको निर्माण हर्क साङ्पाङले गरेको देख्दा खुशी लाग्यो । आखिर मनले चाह्यो भने असम्भव के नै रै छ र ? श्रमसंस्कृति पार्कले नेपाली जाति, भाषा संस्कृति र प्रकृतिमा पाउने जीवजन्तुकोहरूको समेत प्रतिनिधित्व गरेर मानव सभ्यता जोगाउन उदाहरण बनेर पर्यटकहरूलाई लोभ्याई रहेको छ । मानव श्रमले निर्जिव बस्तुलाई पनि सजिव बनाउने रहेछ । श्रममा विश्वास गर्ने मान्छेहरूको सहर धरान हो भन्दा अतिसयोक्ति नहोला । त्यसैको उच्च रुपको नमुना हो श्रमसंस्कृति पार्क । मेयर हर्क साङ्पाङको श्रममा वडा अध्यक्ष नेत्र काफ्ले सरको पनि केही रचनात्मक विबेक मिसिएको कुरा स्थानीय साहित्यकारहरूले बताएका थिए । विकास भनेको सोच हो । सोचलाई स्टक्चरमा बदलेको खण्डमा खण्डहर ठाउँ पनि रमणीय स्थान हुने रहेछ भन्ने उदाहरण हो सुर्तुखोला किनार । श्रमसंकृति पार्कको मध्यभागमा ग्रुप फोटो खिचेपछि सबै कार्यक्रम स्थल तर्पm नै सोझियौ । धरानको व्यस्त बजार भानुचोकको मुटुमा उभिएको घण्टाघरको घडिले एघार बजाएको सुचना प्रवाह गर्दा हामी कार्यक्रम स्थल पुगि सकेका थियौँ । चना, चिउराको नास्तापछि १२ बजेदेखि दोस्रो दिनका कार्यक्रमहरू सञ्चालन भए । लघुकथा वाचन, युवा र पाका कवि मिश्रित कविता वाचन । साहित्य कस्तो हुनु पर्छ भन्ने साहित्य माथिको बहस । मुक्तक वाचन कार्यक्रमका शेसन बाँकी नै थिए । आयोजकले निर्धारण गरेको समय अनुसार सुरु भए । दोस्रो दिनको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले गर्नु भएको थियो । सन्जु राईले हिजो भैmँ आज पनि कार्यक्रमलाई औपचारिकताको मालामा उनिदिनु भयो । गजल महफिल भैmँ आजको मुक्तक साँझ बिशेष आकर्षकको कार्यक्रम थियोे । मदन भण्डारी, सेजल श्रुति, जमुना क्षेत्री, सवि मेबाहाङ, नवराज नवशिला, मञ्जुश्री गिरी, राधा सुवेदी, सुजन डोटेल, माधव भट्टराई, एकराज भट्टराई मुक्त श्रृङखलाका सर्जक हुनु हुन्थ्यो । सबैले चोटिला मुक्त प्रस्तुत गर्नु भयो । सवि मेबाहाङको समुधुर आवाजले सबै दर्शकहरूको मन लुट्यो । मुक्तकलाई तरून्नम ामा गाउने पुर्वको शैलीले मेरो पनि दिल जित्यो ।
अन्तमा धरान लोकदोहोरी प्रतिष्ठानका कलाकारहरूले लोकदोहोरी प्रस्तुत गरेर सबै साहित्यकार अतिथिहरूलाई लोकगितमा नचाई छाडे । भिम खतिवडा सरको मन्तव्य युद्धको लागि मानसिक रुपले सिपाहीहरूलाई लड्नको तयार गराउने जोसिलो प्रशिक्षण भन्दा कम थिएन । उहाँको मन्तव्यबाट सहजै अनुमान गर्न सकिन्थ्यो साहित्यले वामपन्थी विचारको प्रतिनिधित्व गर्नुपर्छ । म उहाँको विचारको विपरीत भएर भन्न चाहान्छु साहित्य कुनै पनि बादबाट मुक्त भएर श्रोता र पाठकको मन जित्नुपर्छ । अस्कर वाइल्डले भनेझैँ साहित्य निर्जन जङ् गलको बिचमा फुलेको पूmल हो उसलाई स्वतन्त्र फुल्न दिनुपर्छ । साहित्यले कुनै पनि पार्टीको पगडी गुथ्नु हुँदैन । धरान १३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्ले ज्यूको शब्दप्रति पूर्ण सहमत छु । साहित्यले सबैलाई जोड्छ भने राजनीतिले तोड्छ । नेत्र सरको माधुर्यता मिश्रित संक्षिप्त्त मन्तव्यले भावुक बनायो । उहाँको कार्यकाल सकिन डेढ बर्षभन्दा बढी छैन तर पनि सकेसम्म अर्को बर्ष साहित्यकारलाई साहित्यिक कार्यक्रममा जोड्ने वाचा प्रकट गर्नु भयो । उहाँको स्वागतार्थ सबैले ताली बजाए । कार्यक्रम संयोजक गोपाल देवानज्यूको छोटो मन्तव्यद्वारा तेस्रो धरान साहित्य महोत्सवको भव्यरुपले समापन भयो । सुर्खेत हुँदा देखिको कुरा हो नेत्र सरको एउटै कुरा थियो । धिरेन सर कार्यक्रम सकिए पनि नआत्तिनु होला तपार्इँको टिमलाई छोड्ने १६ गते हो । म त्यहीँ मानसिकता बोकेर घरान प्रस्थान गरेको थिएँ । हतारिनु थिएन मलाई । कार्यक्रम सकिएपनि १५ गते घुमफिर गरेर १६ अथवा १७ गते सुर्खेत फर्किने योजना बनेको थियोे मेरो । म त्यहीँ अनुरुप तयार थिएँ । धरान पुग्न बित्तिकै नेत्र सरले भन्नु भएको थियोे सर हतार नगर्नु होला । सरको कुरामा मौन स्वीकृति जनाउँदै टाउको मात्रै हल्लाएँ । कार्यक्रम सकिएपछि नेत्र सरले भनेभँैm मित्र रोमु अधिकारी, अस्मिता भट्टराई, खेम आचार्य, किशोर कोइराला दाइ, एम.पी पाण्डे, मिलन श्रेष्ठ, रोमन ढुङ्गेल, महेन्द्र मल्ल गुरु लगायत हामी कृषि बजार तिर लाग्यौँ । आजको हाम्रो बसाइँको बन्दोबस्त यतै गरिएको रहेछ । खेम आचार्य र अस्मिता बहिनीको दौडधुप कृषि बजार पुगेपछि थाह भयो । कार्यक्रम विशेष बनेको रहेछ । अरुलाई व्लक नम्बर एक र हामीलाई व्लक नम्बर दुईको रुममा झोला थन्काउन पठाउनु भयो । रुमको बाहिर भागमा भिआइपी लेखिएको थियो । ताला खोलेर रुम भित्र प्रवेश गरेपछि थाहा भयो कोठा भिआइपी नै रहेछ । बाहिरबाट एउटै कोठा लाग्ने तर भित्र पुगेपछि दुइवटा छुट्टाछुट्टै एसी कोठा रहेछन् । आ–आफ्नो कोठाको ढोका खोलेर झोलाहरू थन्कायौँ । बेडरुम आकर्षक र खुल्ला थियोे । मानौँ कुनै महारानीको खोपीझै सुन्दर ।
आज साँझको सरसल्लाह अनुसार भोलि बिहानै सात बजे भेडेटार जाने योजना बनेको थियो । दिन भरिको थकान र बेग्लाबेग्लै रुम भएर पनि होला आज निस्फिक्री सुत्न पाएर सबेरै उठ्न सकिएन । खेम आचार्य बिहानै मोरङ जानको लागि बिदा माग्न आउनु भएको रहेछ । म मस्त निद्राबाट व्युँझन नसकेपछि उहाँ फिर्ता जानु भएको रहेछ । बाहिरबाट ढोका खोल्दै भित्र पसेको महेन्द्र मल्ल गुरुको आवाजले ब्युझिएँ । उहाँ त तयार भइसक्नु भएको रहेछ । गाडी तल गेटमा खडा थियोे । म पनि हतारहतारमा कोलगेट, ब्रस र स्नान गरी तयार भएँ । जङ्गलमा छरिएका सालका पातझैँ कोठामा छरिएका लुगालत्ताहरूलाई झोलामा प्याक गरी तल झरेँ । ठिक विपरीत कृषि बजारमै भएको क्यान्टिनमा चिया पिउन रोकियौँ । सिमसिम पानी परिरहेको थियोे । प्रतिमा क्षेत्री र विमला प्रधान दिदी दार्जिलिङ फर्किने तयारीमा हुनुहुन्थ्यो । चाडपर्वमा माइती भेट्न आएका चेलिबेटीलाई झैँ बाटो खर्च दिएर बिदाई गर्ने सुरसार गर्दै हुन्थ्यो नेत्र सर । गुट्मुटिएका रुपैयाँलाई नेत्र सरले विमला दिदीको हातमा थमाउनु भयो । विमला दिदीले लिन मान्नु भएन । आत्मियता भरिएको मुटु भित्र नेत्र सरको अघि विमला दिदीको केही जोर चलेन । दिदीलाई हामी सबै मिलेर बिदाइ गर्यौँ । गाडि उहाँहरूलाई छोड्न धरान बसपार्क तिर लाग्यो । नेत्र सरकै योजना अनुसार कृषि बजारमा गाडी आएपछि महेन्द्र मल्ल गुरु, मित्र रोमु अधिकारी, एमपि पाण्डे, अस्मिता भट्टराई, हेमबाबु लेखक र पंक्तिकार भेडेटार उक्लियौँ । धरान सहरको शिर चढेर गाडी नागबेली लय पच्छाउदै पूर्व हुँदै बायाँ उत्तर मोडियो । एक्कासि शिवधारा मोड देखाप¥यो । केही महिना अघिदेखि झोलुङ्गोमा बन्दी जीवन बिताइ रहेको बायाँ हातको झोलुङ्गो सिमल्दै अघिल्लो सिटबाट दायाँ हातले जमिन देखाउँदै भन्नु भयो यहीँ मोडमा हो सर स्कुटर दुर्घटना भएको । धन्न नालामा पल्टिएँ । रोड तिर पल्टिएको भए ट्रिपरले अचार बनाउने रहेछ । ग्रहदशा दाहिना भएर बाँचे । ज्यान जोगिने भएपछि नाला नै सही । सन् २००१ को कुरा हो म पनि गुजरातको सुरत सहरमा हुँदा रेल्वे लाइन क्रस गरेर कतार गाउँ जाँदै थिएँ खुट्टा पटरीमा राखेर क्रस गर्ने सुर मात्रै के गरेको थिएँ रेलगाडी हुत्तिएर आएको थाह भएन । म बालबाल जोगिएको थिएँ ।
त्यहीँ घटना सम्झेपछि मेरो पनि ज्युमा काँडा उम्रिए । अहो ! संसारमा परमात्माभन्दा ठूलो कोही रहेनछ सोचेँ । स्वास्थ्यलाभ गर्नु बाहेक उपाय थिएन उहाँको लागि । धरान १३ नम्बर वडाको सिमाना निसाने खोलासम्म पर्ने रहेछ । पुल तरेपछि हामी अर्को वडामा प्रवेश ग¥यौ । कुहिरोले भेडेटार देखिदैन थियोे । नौ किलो मोडमा पुगेपछि पानीका बुँद खस्न थाले । मेरो मन भने अठार किलोको भयो । महेन्द्र मल्ल गुरुले अगाडिको सिटबाट बोल्नु भयो । आज भेडेटार नखुल्ने भयो । नेत्र सरले आज यतै बस्ने धिरेन सर भनेपछि मेरो मन खुसी भयो । मल्ल गुरुलाई नेत्र सरका कुराले अक्कनबक्क बनायो । भेडेटारको चिसो मौसमसँग मिसिएर फुटेको नेत्र सरको वाक्यले मल्ल गुरुको मनमा झन चिसो पस्यो । गुुरु हतारहतार भेडेटार भ्रमण गरेर फर्किने मोडमै देखिनु भयो । धरानबाट सुर्खेत फर्किने यातायातका स्टाफसँग बिहानै सुटुक्क फोनमा कुरा गरिसक्नु भएको रहेछ कृषि बजारदेखि । कुहिरोको पछ्यौरी ओढेर बसेको भेडेटारको चिसो मौसमले हामीलाई स्वागत गर्यो । धनकुटा जाने बाटोलाई दायाँ पार्दै हामी सवार जीप बिरालोले लखटेको मुसाभैmँ पाथिभरा माताको दर्शन गर्न बायाँ मोडियो । भेडेटारको कुहिरोले आफ्नो आँचलमा धनकुटा, तेह्रथुम, भोजपुर, धरान, पाख्रिबास लगायत आसपासका ठाउँलाई लुकाएको थियोे । जसरी चल्ला कोरल्न बसेको पोथी माउँले अण्डालाई लुकाएको हुन्छ । हामी कुहिरो भित्रको कागझैँ भेडेटारको कुइरोमा हरायौँ । सय मिटरभन्दा टाढाको इलाका देख्न नै सकिएन । पाथिभरा माताको दर्शन पश्चात् हामी पुनः भेडेटार बजार फर्कियौँ । भेडेटारको बीच बजारमा इमान सिंह चेम्जोङको पूर्णकदको सालिक अवस्थित रहेछ । उहाँ नेपालका प्रसिद्ध इतिहासकार, भाषाविद्, लेखक तथा प्रकाण्ड विद्वान त हुन नै । तथापि लिम्बु जातिको इतिहास, संस्कृति र भाषा (लिम्बु भाषा÷सिरिजंगा लिपि) को अध्ययन र संरक्षणका लागि उहाँले पु¥याउनु भएको योगदान अहिलेको जीवित इतिहास हो । उहाँको प्रतिमालाई श्रद्धापूर्वक नमन गरेँ । भेडेटार र सूर्योदय गुम्बाका तस्बिरहरू मोबाइल क्यामेराले कैद गर्दै न्यु जुलिट फर्कियौँ । बिहानै खानाको बन्दोबस्त गर्न नेत्र सरले होटल साहुलाई सुझाउनु भएको थियोे । हामी फर्किदा खाना तयारी अवस्थामा थियोे । तुम्बा पूर्वको पहिचान हो । किराँती परम्परामा गरिने तुम्बाको प्रयोगले किराँत सभ्यतालाई बिशेष बनाएको छ । मित्र रोमु अधिकारीले मलाई तुम्बाको स्वाद चाख्न सघाउनु भयो । तुम्वालाई प्रयोग गर्नभन्दा पहिले चियर्स गर्ने पद्धति पनि सिकाउनु भयो । बिर्को खोलेर तुम्बाको केही बुँद जमिनलाई चढायौँ । नलिहाड जस्तो देखिने स्टिलको ढुङग्रोमा अर्को ढुङग्रोले ठोकेपछि चियर्स हुनेरहेछ त्यसपछि नरिवलको पानी सोसे जसरी तुम्बा लिनुपर्ने रहेछ ।
सुर्खेत फर्किने चटारोमा भेडेटारदेखि धरान फर्कियौँ । झोला कृषि बजारमै थिए । सुर्खेत फर्किने दिन भएर होला कसैको पनि चेहरामा बिहान भेडेटार उक्लने बेलाको जस्तो रौनक थिएन । बादलले आकाशलाई छोपेर राखेको निस्साइलो वातावरणजस्तै अनुहार थिए सबैका । कसैको अनुहारमा खुसीको उज्यालो थिएन । सुर्खेत जाने बस धरानबाट हिडेर हामीलाई इटहरी कुरी बसेको थियोे । न त चेहरामा उल्लास थियोे न त उल्लासमा सजिएको चेहरा । गहिरो आत्मियताको सम्बन्ध भावुक चेहरासँग जोडिएको हुने रहेछ । निस्वार्थ प्रेममा जोडिएको सम्बन्धको आयतन नत नाप्न सकिने रहेछ न त तराजुमा जोख्न नै । अघात प्रेम प्रकट गर्ने माध्यम बरु नुनिलो आँसु रहेछ । ह्स्टपुष्ट मोटो शरीर भए रमात्रै हुने रहेनछ । मन पग्लियो भने बडेमानको ज्यान पनि प्रेमको सागरमा डुबेर पग्लिने रहेछ । नमस्कार सहित छुटिने इजाजत के मागेको थिएँ । मन बाउँडियो । धेरै बोल्नै सकिन । दुई छातिको स्पर्शमा ममताको समुद्र छल्कियो । केही नबोली ट्याक्सीको सिटमा आएर बसेँ । नेत्र सर केही नबोली हामीलाई हेरी टोलाई मात्रै रहनु भयो । यता मेरो मन भक्कानियो उता नेत्र सरका आँखाहरू ममताको आँचल ओढेर रसाए । रसाएका आँसुले बाघे जुङ्गालाई भिजाए । आँसुले मन भिज्यो । पूर्व र पश्चिमको सम्बन्ध झन झाँगियो । गाडीभित्र मौनताले सन्नाटा छायो । मित्र रोमु अधिकारी र एमपि पाण्डे पनि घुँँ घु गर्दै रुन थाल्नु भयो । शीला झैँ स्थिर रहेका कन्चनपुरका हेमबाबु लेखकका पनि आँखा रसाए । अघिल्लो सिटमा रहनु भएका डा. महेन्द्रकुमार मल्ल गुरूको पनि बोली फुटेन । सायद घटना क्रमलाई बुझेर हुनुपर्छ । गाडी चालकले चलाखी देखाए । सन्नाटा चिर्न गाडी स्टाट गरी हर्न बजाउँदै धरान छोडे । गाडी अलि अगाडि पुगेपछि मित्र रोम अधिकारी र म मोटरसाइकलमा इटहरी फर्कियौँ । चिया पसलमा चिया पिउदै थियौँ भित्र बसेर । बाहिर गाडी हामीलाई कुरी बसेको पन्ध्र मिनेट जति भइसकेको रहेछ । मित्र रोमुजीले हामीलाई बिदाई गर्नु भयो । गाडी आफ्नो स्वभाविक लय पच्छाउँदै हिड्न थाल्यो । कोशी ब्यारेज नजिकैको भारतले अतिक्रमण गरेको नेपाली जमिन र केही बर्ष पहिले कोशीको बाडीले डुबानमा पारेको जमिन नियाल्दै हामी पूर्वको सम्बन्ध र धराने मायालाई मुटुमा बोकी पश्चिम फर्कियौँ ।









प्रतिक्रिया दिनुहोस्