हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको पूर्णिमा साहित्य रत्न पुरस्कार यस वर्ष कथाकार महेश विक्रम शाहलाई प्रदान गर्ने निणर्य गरेको छ ।
साहित्य सेवामा लामो समयदेखि योगदान गर्दै महत्वपूर्ण कृतिहरु प्रकाशन गरेबापत कथाकार महेश विक्रम शाहलाई यो सम्मान प्रदान गर्न लागेको आयोजकले बताएको छ ।
वि.सं. २०६९ सालमा स्थापना गरिएको रु. ११००० राशीको यो पुरस्कार हरेक वर्ष प्रदान गरिदै आएको छ । यस पुरस्कारबाट हालसम्म कवि, गीतकार तथा गायक प्रेम प्रकाश मल्ल ‘मधुकर’, कथाकार सनत रेग्मी र कवि तथा गीतकार दिनेश अधिकारी सम्मानित भएका छन् ।
आगामी पुष १ गते एक भब्य कार्यक्रमका बिच यो पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सचिव पुष्कर रिजाल ‘पुष्प’ले इआवाजलाई बताए । उनले पश्चिमको साहित्यलाई केन्द्रको साहित्यसँग जोड्न प्रष्तिठान लागि परेको पनि बताए । कथाकार शाहको सिपाहीकी स्वास्नी, छापामारको छोरो, अफ्रिकन अमिगो, ज्याक्सन हाइट लगायतका कृतिहरु प्रकाशित भएका छन् ।
पुरस्कार वितरणसँगै कवि मोमिला जोशीको एकल कविता वाचन कार्यक्रम रहेको आयोजकले बताएको छ । समकालिन कवितामा अब्बल मानिएकी कवि जोशीको एकल कविता वाचनले पश्चिमका कवितामा कलम चलाउनेहरुलाई अझै सजिलो हुने प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले बताए ।
कवि मोमिला जोशीका पैयुँ फुल्न थालेपछि, नीलो नीलो आकाश र दुई थोपा आँसु, जूनकीरीहरू ओर्लिरहेछन्, दुर्गम उचाइमा फूलको आँधी (कविता संग्रह), ईश्वरको अदालतमा आउटसाइडरको बयान (ललित निबन्ध संग्रह) लगायत थुप्रै कृतिहरु प्रकाशित भएका छन् ।
प्रतिष्ठानका अध्यक्ष ढकालले विशेष गरि यस्ता कार्यक्रमहरुले स्थानीय स्रष्टाहरुको लेखनमा परिपक्वता तथा निखारता आउने बताए ।









कोहलपुर, 23 मंसिर,
प्रतिक्रिया दिनुहोस्