बाँके ।
नरैनापुर गाउँपालिकामा सम्बन्धित वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । बैंकमार्फत सामाजिक सुरक्षा भत्ता दिँदा सेवाग्राहीहरूले दुःख पाउन थालेपछि गाउँपालिकाले बैंकसँग सहकार्य गरेर सम्बन्धित वडाबाटै पाउने व्यवस्था मिलाएको हो ।
वडा नम्बर १ बाट सामाजिक सुरक्षा भत्ता वितरण थालिएको गाउँपालिकाका निमित्त प्रंमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए ।
‘बैंकमा जानुपर्दा अशक्त, अपांगता भएका नागरिक, जेष्ठ नागरिकलाई सास्ती भएको देखेपछि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाएको हौं,’ उनले मिसन टुडेसँग भने, ‘वडाका जनप्रतिनिधि, कर्मचारी, बैंकका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा वडाबाटै भत्ता वितरण थालिसकेका छौं ।’
आगामी दिनमा वडाका टोल र घरघरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गाउँपालिकाले तयारीसमेत थालेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।
यसअघि गाउँपालिकाका सबै सामाजिक सुरक्षा भत्ताका लागि नरैनापुरमा रहेको लक्ष्मी सनराइज बैंकमा जानुपर्ने बाध्यता रहेको थियो । वडा नम्बर १ की कोइला चमारिनले वडाबाटै भत्ता दिन थालेपछि आफूहरूलाई सहज भएको बताइन् ।
‘घरदेखि बैंकसम्म पुग्ने सडक भए पनि नियमित गाडी नचल्दा र समयमै अटो नभेटिँदा सास्ती थियो’ उनले भनिन्, ‘बैंकमा लाइन बस्नुपर्ने कष्ट त छुट्टै थियो । वडा कार्यालयबाटै भत्ता पाइएपछि सास्तीबाट मुक्ति पाएका छौं ।’
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि स्थानीयलाई सहज भएको छ । गाउँपालिकाभित्र सामाजिक सुरक्षा भत्ता लिनेहरू ३ हजार ४ सय ७० जना रहेको लेखापाल प्रकाश अधिकारीले जानकारी दिए ।
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा गाउँपालिकाका सामाजिक शाखा प्रमुख जिवन लाल यादव, सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाका एमआइएम अपरेटर गोबिन्द प्रसाद गोडिया, फिल्ड सहायक सुरज कुमार श्रीवास्तव लगायतको उपस्थिती रहेको थियो । नरैनापुरमा ६ वटा वडाहरू रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्