शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
आठौँ उपमेयर कप अन्तरमावि छात्रा क्रिकेट प्रतियोगिता २०८२ को उपाधि बाल शिक्षा माध्यमिक विद्यालयले जितेको छ । सोमबार कोहलपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभुवन माध्यमिक विद्यालयलाई हराउँदै उपाधि जितेको हो । फाइनल खेलमा त्रिभुवन माध्यमिक विद्यालयविरुद्ध सानदानर जित निकाल्दै बाल शिक्षाले उपाधि रक्षा गरेको हो ।
बाल शिक्षा माध्यमिक विद्यालय सातौँ उपमेयर कप अन्तरमावि छात्रा क्रिकेट प्रतियोगिताको विजेता समेत हो । त्यतिबेला बाल शिक्षाले लक्ष्मी माविलाई हराएको थियो । यसपटक भने त्रिभुवन मावि बाल शिक्षासँग फाइनलमा निरीह सावित भयो । फाइनलमा टस जितेको त्रिभुवन माविले फिल्डिङ रोज्दै बाल शिक्षालाई बलिङको निम्तो दिएको थियो । पहिला ब्याटिङ गरेको बाल शिक्षाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रन बनायो ।
बाल शिक्षाका लागि ब्याटिङतर्फ सुजाता खाँण ठकुरीले ४ चौकासहित ३२ बलमा २२ रन, आइसा पुन मगरले २३ बलमा ९ रन, लक्ष्मीसिंह ठकुरीले १८ बलमा ८ रन, सम्झना पुन मगरले १ चौकासहित ८ बलमा ७ रन, मुना बुढाले १ चौकासहित १० बलमा ६ रन बनाइन् । बलिङतर्फ त्रिभुवन माविकी अनिता थापाले ४ ओभरमा २३ रन खर्चिएर किर्तिमानी ४ विकेट लिइन् ।
स्वस्तिका हमालले ४ ओभरमा २४ रन खर्चिएर २ विकेट, सृष्टि थारूले ३ ओभरमा २० रन खर्चिँदै २ विकेट र सोना चन्दले ४ ओभरमा १५ रन खर्चिएर १ विकेट लिएकी थिइन् । १२० रनको विशाल लक्ष्य पछ्याएको त्रिभुवन मावि भने १२ ओभरमै अलआउट भयो । ११.२ ओभरमा अलआउट हुँदै त्रिभुवन माविले ३७ रन मात्र बनाउन सक्यो । बाल शिक्षा ८२ रनले विजयी हुँदै उपाधि जितेको हो ।
त्रिभुवनका लागि स्नेहा सुनारले सर्वाधिक २३ बलमा ८ रन बनाउनुबाहेक अन्य ब्याटर बाल शिक्षाको कसिलो बलिङसामु निरीह सावित भए । बलिङतर्फ बाल शिक्षाकी मुना बुढाले ३ ओभरमा १२ रन खर्चिँदै ४ विकेट लिइन् । आइसा पुन मगरले २ ओभरमा ९ रन खर्चिँदै २ र सुजाता खाँण ठकुरीले ३ ओभरमा ९ रन खर्चिँदै २ विकेट लिइन् । प्लेअर अफ द फाइनल बाल शिक्षा मावि सुजाता खाण ठकुरी भइन् ।
उपाधि जितेको बाल शिक्षा माविले नगद ३५ हजार रूपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र र क्रिकेट किट प्राप्त ग¥यो । यस्तै उपविजेता बनेको त्रिभुवन माविले नगद २५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रिकेट किट प्राप्त गरेको हो । विजेतालाई कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले पुरस्कार वितरण गरेकी थिइन् । प्रतियोगितामा सहभागी १३ टिममध्ये पञ्चमुखी इंग्लिस मेडियम स्कुल फेयर प्ले टिम बन्यो ।
प्रतियोगिताको उदीयमान खेलाडीको उपाधि सगरमाथा ज्ञान पुञ्ज माध्यमिक विद्यालयकी करिस्मा शाहीले जितिन् । उनलाई ट्रफिसहित एकजोर जुत्ता प्रदान गरिएको थियो । उत्कृष्ट बलरको रूपमा लक्ष्मी माध्यमिक विद्यालयकी कुशुमकुमारी योगी नगद पाँच हजारसहित सम्मानित भइन् । उनले प्रतियोगितामा सबैभन्दा धेरै ८ विकेट लिएकी थिइन् ।
प्रतियोगितामा सबैभन्दा धेरै ४१ रन बनाएकी त्रिभुवन माध्यमिक विद्यालयकी पास्ना योन्जन उत्कृष्ट ब्याटरका रूपमा सम्मानित भइन् । प्रतियोगिताकी सर्वाेउत्कृष्ट खेलाडी÷ प्लेअर अफ द सिरिज उपाधि २२ रन र ५ विकेट लिएकी त्रिभुवन माविकी स्वस्तिका हमाललाई प्रदान गरियो । उनलाई ट्रफी र पाँच हजारसहित सम्मान गरिएको थियो ।
‘खेलाडी छनौट गरिने, बन्द प्रशिक्षण हुने’
आठौँ उपमेयर कप अन्तरमावि छात्रा क्रिकेट प्रतियोगिता २०८२ को समापनमा बोल्दै कोहलपुर नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमला क्षेत्रीले प्रतियोगिता खेलेका खेलाडीहरूमध्येबाट कोहलपुरको टिम निर्माण गर्ने घोषणा गरे । उनका अनुसार उक्त टिमलाई केहीमा बन्द प्रशिक्षणका लागि बोलाइनेछ ।
उक्त टिमले जिल्ला तथा प्रदेशस्तरमा कोहलपुरको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगिता खेल्ने पनि उनले बताए । यस्तै कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि प्रदेश छनौटमा समेत कोहलपुरको टिमले सहभागिता जनाउने उनको भनाइ थियो । सो अवसरमा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले विजेता र उपविजेता टिमलाई बधाई ज्ञापन गरिन् ।
उनका अनुसार क्रिकेट खेलको विकास र पूर्वाधार निर्माणका लागि नगरपालिकाले नीति तथा कार्यक्रममै उल्लेख गरेर बजेटसमेत विनियोजन गरेको छ । उनले क्रिकेट खेलको विकासका लागि प्रशिक्षकसमेत नियुक्त गरिएको बताइन् । कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्मा कोहलपुर खेलकुद क्षेत्रमा जिल्लामै अग्रपंक्तिमा रहेको बताए । नेपालमै महिला क्रिकेटको उदगम् थलोको रूपमा रहेको कोहलपुरमा महिला क्रिकेटले फेरि सम्भावना देखाएको उनले बताएका थिए ।
कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगीले कोहलपुर नेपाली क्रिकेटको उर्वरभूमि भएको भन्दै फेरि महिला क्रिकेटर जन्माउन नगरपालिकाले प्रयास गरिएको बताए । समापन सत्रमा बोल्दै राप्रपा कोहलपुरका अध्यक्ष अर्जुनजंग शाहले कोहलपुर नगरपालिकाले खेलकुद विकासका लागि गरिरहेको प्रयास सकारात्मक रहेको बताएका थिए । समापन सत्रमा प्रतियोगिता सफल बनाउन भूमिका खेल्ने सरोकारवालाहरूलाई सम्मान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्