शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
नाम त ‘शान्तिनगर’ हो । तर, यहाँको शान्ति सामान्य होइन, यहाँ कोही पनि शान्त छैन् । छ त केवल अभाव, शून्यता र छटपटी । यो त अभाव र उपेक्षाले जन्माएको भयानक सन्नाटा हो । कसैसँग आशा छैन । बालबालिकाको हाँसो हराएको छ । वृद्धवृद्धाको आश्रय छैन । न पिउने पानीको सुलभ सुविधा । न घर, न त ओत लाग्ने छानो । ढुंगा, माटो र इँटाको भग्नावशेष । यो त एउटा खुला आकाश हो ।
कोहलपुर–११ स्थित शान्तिनगरको भग्नावशेषमा कसैलाई हतारो छैन । न बालबालिकाको रोदन कसैले सुन्छ, न त युवाहरुको पीडा । यहाँ कुनै चहलपहल छैन । छन् त केवल रंगीबिरंगी त्रिपाल । त्रिपालमुनि छन्, टुटेका अनेक सपना । त्यही सपना टुटेको दिन हो,–२०८३ वैशाख २६ । जहाँ स्थानीय सरकार (कोहलपुर नगरपालिका)ले ७५१ वटा सपना (घर)मा डोजर लगायो । एक निमेषमै भत्काइदिएको थियो यहाँका हजारौँ सपनाहरु ।
डोजर, प्रहरी र प्रशासनको शक्तिसँग पराजित भएकी थिइन् चन्द्रकला रावल । राज्यले जबरजस्ती लखेट्दा रावल सपरिवार कोठा भाडामा बस्थिन् बैजनाथमा । चर्को भाडा, समाजको बहिष्करण र अनिश्चितता बीच रावतको परिवार फेरि शान्तिनगरमै फर्कियो । स्थानीय सरकार र संघीय सरकारले आफूहरुको उठिबास लगाएर उचित व्यवस्थापन नगरेको भन्दै सयौँ परिवार २०८३ भदौ ६ गते शान्तिनगरमा फर्किएका थिए । अहिले त्यहाँ करिब ३ सयभन्दा बढी त्रिपाल टाँगेर शान्तिनगरका विस्थापित बसेका छन् । सोमबार शान्तिनगरमा पुग्दा रावल खुद्रा पसल सञ्चालन गरेर बसिरहेकी थिइन् । उनी परिवारसहित त्रिपालमुनि त्यहीँ बस्छिन् । त्यतिकैमा सिमसिमे पानी पर्न थाल्यो । अवस्थाबारे बताउँदै चन्द्रकला सुनाउन थालिन् आफ्नो चन्द्रग्रहणको कथा ।
उनले आफ्नो दिग्दारी पोख्दै भनिन्, ‘हामीलाई विष हालेर मार्दिए हुन्थ्यो सरकारले । कि हामीलाई बस्ने र खाने व्यवस्था गरिदिए हुन्थ्यो ।’ यो अभिव्यक्ति उनको केवल आक्रोश थिएन । राज्यविहीनताको प्रमाण थियो । मिसन टुडे दैनिकसँगको कुराकानीका क्रममा उनले अभाव, शून्यता र सन्नाटा सुनाइन् । रुदैँ भन्छिन्, ‘हामीलाई कुनै पनि सरकारले हेरेन । तनावले मर्ने या बाँच्ने अवस्थामा आइपुगेका छौँ ।’ कोहलपुर नगरपालिकाले आफूहरुका माग पूरा नगरेसम्म त्रिपालमै बस्ने उनले अडान सुनाइन् ।शान्तिनगरमै फर्किएकी मनिसा दर्माली मगरको पनि पीडा कम्ती छैन । उनी दुई नाबालक बच्चासहित त्रिपालमुनि बस्छिन् । उनका श्रीमान् मजदुरी गर्छन् । आफूहरुलाई बजारमा कामसमेत नपाइने समस्या रहेको उनले सुनाइन् ।
उनका अनुसार वैशाखमा कोहलपुर नगरपालिकाले घर भत्काइदिएपछि अभाव र दुःखमै जिन्दगी बितेको छ । ‘व्यवस्थापन गर्छौँ भनेर आश्वासन दिएर उठाइयो । हामीलाई घरबारविहीन बनाएर अलपत्र पारियो । हामी त भाग्य यस्तै रहेछ भनेर सहुँला । तर नाबालक छोराछोरीको हरिविजोग नै भएको छ,’ उनले आफ्नो अवस्थाबारे सुनाइन् ।शान्तिनगरमै बसिरहेकी नानकला विकले कोहलपुर नगरपालिकाले आफूहरुलाई ठूलो अपराध गरेको बताइन् । उनका अनुसार संविधानमै सुनिश्चित गरिएको बस्न पाउने अधिकारमात्रै हनन् भएको छैन्, संघीय सरकारले पनि आफूहरुको मागको उचित सम्बोधनमा ध्यान नदिएर अन्याय गरेको नानकलाले सुनाइन् । उनले भनिन्, ‘नगरपालिकाले डोजर लगाएर घर भत्काएपछि खाली ठाउँमा व्यक्तिगत जग्गामा बसेका थियौँ । सुरुमा भाडा १ हजार भन्थे । पछि महिनाको १६ सय लिए । खान, बस्न र भाडा तिर्न नसक्ने अवस्था आएपछि बाध्य भएर यहीँ फर्कियौँ ।’ चन्द्रकला, मनिसा र नानकला त प्रतिनिधि पात्र मात्र हुन् । शान्तिनगरका हरेक नागरिकको एउटै प्रश्न छ, ‘सरकार हामी कहिले न्याय पाउँछौँ ?’
सिताको सिउँदो पुछियो, नाबालिका छोरीको बिचल्ली
शान्तिनगरको एक कुनामा छ सिता गिरी शाहीको त्रिपाल । कालो रंगको त्रिपालमुनि उनी नाबालिका छोरीसँग आफ्नो दुःख भुलाइरहेकी छन् । थकित अनुहार र रसाएका आँखा । त्रिपालमुनिको बास र श्रीमान् गुमाउँदाको पीडा उनको बोलीमा प्रष्ट झल्किन्थ्यो ।उनले मलिन स्वरमा भनिन्, ‘म पीडामा छु । मलाई दुःख छ । अभावमा बाँचेकी छु । यस्तो अवस्था आउला भनेर कहिल्यै सोँचेको थिइनँ । बाध्यताले त्रिपालमा बस्नु परेको छ ।’ शान्तिनगरमा उनको परिवार २२ वर्षदेखि बस्दै आएको थियो । जाजरकोट पुख्यौली घर भएकी शाहीको परिवार कोहलपुर नगरपालिकाले घर भत्काइदिएपछि कोठा भाडामा बस्दै आएका थियो । नाबालिका छोरीको भविष्य, बिरामी श्रीमतीको उपचार र जीविकोपार्जनका लागि उनका श्रीमान् रामबहादुर शाही रोजगारीको खोजीमा भारत गएका थिए । उनी घर भत्काइएको दुई दिनपछि नै भारतको अहमदावाद गएका थिए । सिता भने छोरीसँगै भाडामा बस्न थालेकी थिइन् ।
सिता भन्छिन्, ‘नगरपालिकाले घर भत्काइदियो । हामी बिचल्लीमा प¥यौँ । बाध्य भएर श्रीमान् धन कमाउन जानुभयो ।’ उनका श्रीमान् त्यहाँ जानेबित्तिकै काम पाए । पहिलो महिनाको तलबसमेत सितालाई पठाएका थिए । तर अर्को महिनादेखि बिरामीले थला परे । घर भत्किँदा रामबहादुर निकै टेनसनमा थिए । पारिवारिक अवस्था नाजुक भएपछि भारत गएका उनी डिप्रेसनको अवस्थामै पुगेको सिता बताउँछिन् । स्वास्थ्य अवस्था कमजोर भएपछि आफन्तको सहयोगमा सिताले कोहलपुर र नेपालगन्जमा उपचार गराइन् । तर मदनलाई कुनै पनि गम्भीर रोग देखिएको थिएन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइसियूमा राखेर उपचार गर्दासमेत निको भएन । फेरि थप उपचारको लागि नेपालगन्ज लिएर गएको उनले बताइन् । जहाँ जादाँ पनि सन्चो नभएपछि उनले श्रीमान्को उपचारका लागि धामी र चर्चमा समेत धाएकी थिइन् । अन्ततः राबहादुरले साउन ६ गते अन्तिम स्वास फेरे ।
श्रीमान् बितेको एक महिना बित्यो । अहिले उनलाई साँझबिहान के खाने भन्ने कुराको समस्या छ । नाबालिका छोरीलाई खुवाउने खाना र लगाइदिने कपडासमेत केही पनि नभएको उनी बताउँछिन् । ‘श्रीमान् बित्नुभयो । त्रिपालमा बसेकी छु । खानेकुरा केही पनि छैन । छिमेकीहरुले दिएको दिन खान्छु । नत्र भोकै सुत्छु,’ उनले दुःख सुनाइन् । त्यसो त सिता आफैँ पनि बिरामी छिन् । उनी मुटु रोगी हुन् । यसअघि दुईपटक पत्थरीको अप्रेसन गर्नुपर्ने थियो । फेरि पत्थरीको अप्रेसन गर्नुपर्ने डाक्टरले सल्लाह दिएका छन् ।कोहलपुर नगरपालिकाले आफूहरुलाई ठूलो अन्याय गरेको उनी बताउँछिन् । आफूजस्तै सयौँ जना नागरिक अलपत्र परेको उनको भनाइ छ । ‘सरकारले मान्छे नै सम्झेन । रातभरी निन्द्रा छैन । पानी पर्दा शरीर भिज्छ । भोकै कति दिनसम्म बस्ने ? कहिलेकाहीँ त मट्टीतेल छर्केर मरौँ जस्तो लाग्छ ।’ सिताले भनिन् ।







प्रतिक्रिया दिनुहोस्