नन्दराम जैशी । सुुर्खेत ।
मंगलबार दिउँसो ३ बज्न केही मिनेट बाँकी थियो । कालीकोटको गगने खोलामा खसेको पहिरो हटेपछि लामो समयदेखि रोकिएका सवारीसाधनले बिस्तारै गति लिन थाले । सडक खुलेको खबरले चालक, यात्रु र व्यापारीको अनुहारमा खुसी देखिएको थियो । किनकी शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग चार दिनपछि खुलेको थियो । तर त्यो खुसी लामो समय टिकेन । राजमार्ग खुलेको छ घण्टा नबित्दै फेरि पहिरो खस्यो । यसपटक दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लु खोलामा सुक्खा पहिरो खस्दा सडक फेरि बन्द भयो ।यो एक उदाहरण भए पनि कर्णाली राजमार्गको नियति पहिल्यैदेखि यस्तै बनेको छ । हिउँदमा धुुलाम्य, बर्खामा हिलाम्य अनी सुुख्खा र हिलो पहिरो राजमार्गमा नियमितजस्तै बनेको हो । सडक खुल्छ, केही घण्टा चल्छ र फेरी बन्द हुन्छ । सडक खुल्दा यात्रुहरू गन्तव्यतर्फ हतारिन्छन् । पहिरो खस्दा त्यही बाटोमा गाडीको लाम लाग्छ । कहिले घण्टौँ, कहिले दिनौँसम्म यात्रुहरू सडकछेउमै रोकिएर बस्नुपर्ने बाध्यता हुन्छ ।
कालीकोटका नमराज तिमल्सिनाले भने, ‘पहाडको काखमा बनेको यो राजमार्ग कर्णालीका लागि जीवनरेखा हो, तर वर्षायाम र पहिरोका बेला यही जीवनरेखा आफैँ अवरुद्ध हुँदा कर्णालीको जनजीवन अस्तव्यस्त हुने गरेको छ ।’कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिरोका कारण भदौ २० गतेदेखि सडक बन्द थियो । पहिरो पन्छाएपछि मंगलबार दिउँसो २ः४५ बजेदेखि राजमार्ग सञ्चालनमा आयो । तर पहिरो खस्ने र सडक अवरुद्ध हुनेक्रम नरोकिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए ।यता जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार दिउँसो ३ बजेबाट साना तथा मझौला सवारीसाधनलाई दोहोरो आवतजावत गर्न दिइएको थियो । चार दिनदेखि रोकिएका सवारीसाधन अघि बढ्न थालेपछि माथिल्लो कर्णालीसँगको यातायात सम्पर्क पुनः स्थापित भएको अनुभूति भएको थियो । तर राति करिब ९ः१० बजे दैलेखको भम्लु खोलामा माथिबाट आएको सुक्खा पहिरोले सडक पुनः पुरिदियो । दैलेख प्रहरीका अनुसार सडक अवरुद्ध भएपछि करिब चार दर्जनभन्दा बढी सवारी साधन अलपत्र परेका थिए ।
सडक डिभिजन कार्यालय सुर्खेतसँग समन्वय गरेर पहिरो पन्छाएपछि ती सवारीसाधन सुुर्खेत हुँुदै गन्तव्य स्थानमा पुुगेका छन् । तर एउटा पहिरो हटाउँदा अर्को ठाउँमा पहिरो खस्ने अवस्था रहेकाले राजमार्गको यात्रा अझै भरपर्दो बन्न सकेको छैन ।कर्णाली राजमार्ग अवरुद्ध हुँदा सबैभन्दा पहिले प्रभावित हुने यात्रु हुन् । दैलेख, कालीकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा र अछामलगायत जिल्लालाई सुर्खेत तथा नेपालगन्ज हुँदै देशका अन्य भागसँग जोड्ने प्रमुख सडक भएकाले यसको अवरोधको असर टाढासम्म पुग्ने गरेको छ ।‘गाडी रोकिएपछि यात्रुहरू सडकमा अलपत्र पर्छन् । बिरामी बोकेका सवारीसाधनदेखि दैनिक उपभोग्य सामग्री बोकेका ट्रकसम्म सडकको अवस्थाको भरमा चल्नुपर्ने हुन्छ,’ सवारी चालक चन्द्र साउदले भने, ‘गन्तव्यमा पुग्ने निश्चित समय हुँदैन । कहिले पहिरो हटेपछि यात्रा सुरु हुन्छ, कहिले फेरि पहिरोले रोकिदिन्छ ।’
यही अनिश्चितताले यात्रालाई कठिन मात्र बनाएको छैन, यात्रुको समय, पैसा र मानसिक तनाव पनि बढाएको छ । विशेषगरी माथिल्लो कर्णालीबाट सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौँलगायतका गन्तव्यतर्फ जाने यात्रुका लागि राजमार्गको अवस्था ठूलो चिन्ताको विषय बन्ने गरेको हो ।सडकमा कुहिँदै कर्णालीको ‘सम्पत्ति’ कर्णाली राजमार्ग अवरुद्ध हुनुको अर्को ठूलो असर स्याउ व्यापारमा परेको छ । अहिले जुम्लालगायत कर्णालीका जिल्लाबाट ठूलो मात्रामा स्याउ बाहिरिने समय हो । बगैँचाबाट टिपिएको स्याउ बजारसम्म पुग्न सके किसान र व्यापारी दुवैका लागि आम्दानीको आधार बन्छ । तर राजमार्गमै गाडी रोकिएपछि यही स्याउ बिग्रिन थाल्छ ।कर्णाली राजमार्गको अवरोध कुनै एउटा सडकको समस्या मात्र नभई यसले किसानको बारीदेखि बजारसम्मको सम्पूर्ण आपूर्ति शृंखला प्रभावित गरेको छ । जुम्लाको बगैँचामा पाकेको स्याउ बजारमा पुगेर किसानको हातमा पैसा बन्नुपर्ने हो । तर राजमार्गले साथ नदिँदा त्यही उत्पादन सडकमा रोकिएर नोक्सानीमा परिणत हुने जोखिम बढेको व्यापारी अर्जुुन भण्डारीले बताए ।
‘स्याउ अन्य फलफूलजस्तो लामो समय सहजै भण्डारण गर्न सकिने वस्तु होइन,’ उनले भने, ‘बजारतर्फ पठाइसकेपछि सडकमा गाडी रोकिँदा तापक्रम, भण्डारणको अवस्था र समयसँगै स्याउको गुणस्तर घट्दै जान्छ । केही दिनको ढिलाइले किसान र व्यापारीलाई प्रत्यक्ष आर्थिक नोक्सानी हुन्छ ।’कर्णाली राजमार्ग कर्णालीका दुर्गम जिल्लाका लागि बाहिरी जिल्लाहरूसँग जोडिने प्रमुख माध्यम हो । खाद्यान्न, औषधि, निर्माण सामग्रीदेखि कृषि उपजसम्म यही सडकबाट ओहोरदोहोर हुन्छ । तर राजमार्गको भौगोलिक जोखिम नयाँ होइन । पहाडी भूगोल, कमजोर भिरालो जमिन, वर्षायाममा हुने कटान र पहिरोका कारण सडकका विभिन्न खण्ड बारम्बार अवरुद्ध हुने गरेका छन् ।समस्या एउटा पहिरो हटाएर तत्काल सडक खुलाउने काममा मात्र सीमित देखिन्छ । तर पहिरो खस्ने सम्भावित क्षेत्रमा दीर्घकालीन रोकथामका काम, सडकको संरचनागत सुधार र जोखिमयुक्त खण्डको वैज्ञानिक व्यवस्थापन पनि उत्तिकै आवश्यक रहेको विज्ञहरू बताउँछन् ।
अहिलेको अवस्थामा पहिरो खस्छ, डोजर पुग्छ, सडक खुल्छ । फेरि अर्को पहिरो खस्छ र यात्रा रोकिन्छ । यसले कर्णाली राजमार्गलाई स्थायी समाधानभन्दा तत्कालीन व्यवस्थापनमा टिकेको सडकको रूपमा देखाइरहेको छ ।‘कहिले खुल्छ ?’ भन्ने प्रश्नमै यात्रुसडक बन्द भएपछि यात्रुको पहिलो प्रश्न ‘बाटो कहिले खुल्छ ?’ भन्ने नै हुुन्छ । तर कर्णाली राजमार्गमा यसको निश्चित उत्तर दिन कठिन छ । पहिरोको अवस्था, मौसम, उपकरणको उपलब्धता र सडक डिभिजनको क्षमताले सडक खुल्ने समय निर्धारण गर्छ । मंगलबार दिउँसो खुलेको सडक राति फेरि बन्द हुनु त्यसको पछिल्लो उदाहरण हो । चार दिनसम्म बन्द रहेको सडक केही घण्टाका लागि खुलेको सूचना पाउँदा गन्तव्यतर्फ हिँडेका यात्रुहरू फेरि बीच बाटोमै रोकिएका थिए ।स्याउ बोकेका गाडीका चालक र व्यापारीका लागि यस्तो अवरोध समयसँगै प्रत्यक्ष आर्थिक घाटामा बदलिने गरेको छ । कर्णालीका लागि जीवनरेखा भनिएको सडकलाई वर्षायाममा किन सुरक्षित र भरपर्दो बनाउन सकिएको छैन ? भन्दै नागरिकले सरकारलाई प्रश्न गरिरहेका छन् ।
पहिरो खसिसकेपछि सडक पन्छाउनु तत्कालका लागि आवश्यक काम हो । त्यसमा प्रहरी, सडक डिभिजन र स्थानीय तहका कर्मचारी तथा प्राविधिकको सक्रियता महत्वपूर्ण हुन्छ । तर हरेक पटक पहिरो खसेपछि डोजर लगाएर सडक खोल्ने क्रमले मात्र समस्या समाधान नहुने युुवा नेता रमेश गौतम बताउँछन् ।‘कर्णालीका नागरिकलाई सडक खुलेको खबर सुन्नेभन्दा सडक अब बन्द हुँदैन भन्ने विश्वास चाहिएको छ,’ उनले भने, ‘राजमार्ग खुल्दा राहत त मिल्छ, तर त्यो राहतसँग नागरिकलाई फेरि कहिले बन्द हुन्छ ? भन्ने अर्को चिन्ता पनि जोडिएको हुन्छ ।’उनका अनुसार राजमार्ग छिनमै खुल्ने र छिनमै बन्द हुने क्रम नरोकिए यो सडक ‘जीवनरेखा’ भन्दा बढी अनिश्चित यात्राको अर्को नाम बन्ने खतरा छ । कर्णालीले हरेक पहिरोपछि सडक खुल्ने प्रतीक्षा मात्रै नभई वर्षायाममा पनि निरन्तर चल्ने सुरक्षित र भरपर्दो राजमार्ग खोजिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्