काठमाडौँ ।
सुरक्षाकर्मी र प्राविधिक टोलीले कठिन भूगोलसँग जुध्दै उद्धार अभियानलाई निर्णायक चरणमा पु¥याएका छन् । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवाको चिलिमे जलविद्युत् आयोजनाको भूमिगत संरचनामा फसेका आठ जनाको उद्धारका लागि टोली अन्तिम चरणमा पुुगेको छ ।बाढीले आयोजनाको बाहिरी संरचना तहसनहस पार्नुका साथै भूमिगत विद्युत्गृहसम्म पुग्ने पहुँचमार्ग र सुरुङको मुख क्षेत्रमा ठूलो क्षति पु¥याएपछि उद्धार कार्य सुरुदेखि नै जटिल बनेको थियो । तर लगातारको प्रयासपछि उद्धार टोली मुख्य पहुँच सुरुङ हुँदै भूमिगत विद्युत्गृहको निकै नजिक पुगेको हो ।
पूर्वऊर्जामन्त्री कुलमान घिसिङका अनुसार उद्धार टोली अब विद्युत्गृहसम्म पुग्न करिब एक सय मिटरको दूरीमा छ । उद्धार अभियानबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटरभित्र आवाज पठाउँदा त्यसको प्रतिध्वनि सुनिएको बताएका छन् । यसले सुरुङभित्र रहेका व्यक्तिहरूसँग सम्पर्क कायम हुनसक्ने र उनीहरू सुरक्षित अवस्थामा रहेको सम्भावनालाई बलियो बनाएको उद्धारमा संलग्न टोलीको अपेक्षा छ ।उद्धार अभियानको सबैभन्दा संवेदनशील पक्ष अहिले सुरुङभित्र फसेका व्यक्तिहरूको अवस्था पत्ता लगाउनु हो । सुरुङभित्रको ठूलो भाग हिलो, लेदो र बालुवाले पुरिएपछि उद्धारकर्मीलाई अगाडि
बढ्न निकै कठिन भइरहेको घिसिङले जानकारी दिए । तर सुरुङ साँघुरिएको स्थानभन्दा भित्रतर्फ आवाज पठाउँदा इको सुनिनुले उद्धार टोलीमा नयाँ आशा थपेको उनको भनाइ छ ।
सुरुङभित्र रहेका मानिसहरूले कुनै प्रतिक्रिया दिन सकेका छन् वा छैनन् भन्ने विषयमा अझै यकिन जानकारी सार्वजनिक भएको छैन । तर सुरुङभित्र हावाको आवतजावत र संरचनाको अवस्थासम्बन्धी संकेतले उनीहरू सुरक्षित स्थानमा पुगेका हुनसक्ने सम्भावनालाई उद्धार टोलीले अस्वीकार गरेको छैन ।‘टनेलको इनलेट पोर्टलभन्दा करिब १० मिटर माथि ‘इमर्जेन्सी एसेम्बली’ क्षेत्र रहेकाले बाढीको प्रत्यक्ष प्रभावबाट बचेर केही व्यक्ति त्यहाँ पुगेका हुनसक्ने अनुमान छ,’ घिसिङले भने, ‘यसकारण उद्धार टोलीका लागि अहिलेको प्राथमिकता सुरुङभित्र जतिसक्दो छिटो पुग्नु र सम्भावित जीवित व्यक्तिसम्म प्रत्यक्ष सम्पर्क स्थापित गर्नु हो ।’
उनका अनुसार उद्धार टोलीले सुरुङभित्र काम गरिरहे पनि ठूलो मेसिन प्रयोग गर्न नसक्दा अभियानको गति अपेक्षाकृत अघि बढ्न सकेको छैन भने बाढीले सडक र पहुँच संरचना बगाएपछि सुरुङको मुखसम्म स्काभेटर, लोडरलगायतका हेभी इक्विपमेन्ट पु¥याउनु आफैँमा अर्को चुनौती बनेको छ ।स्याफ्रुबेँसी हुँदै चिलिमेको मुख्य टनेलसम्म हेभी इक्विपमेन्ट पु¥याउन नयाँ सडक निर्माण भइरहेको छ । सैनिक अधिकारीहरूका अनुसार उक्त सडक टनेलबाट करिब ३० मिटर नजिक पुगिसकेको छ । सडकमार्ग तयार भएर स्काभेटर र लोडर टनेलसम्म पुगेपछि सुरुङभित्र थुप्रिएको लेदो र बालुवा हटाउने कामले तीव्रता पाउने अपेक्षा गरिएको छ ।हाल नेपाली सेना, सशस्त्र प्रहरी र भारतीय विशेषज्ञसहितको उद्धार टोली सीमित उपकरणकै भरमा सुरुङभित्र प्रवेश गरेर काम गरिरहेको छ । उद्धार अभियानमा नेपाली सेनाको समन्वयमा भारतीय
सेनाका करिब ४० जना जनशक्तिसमेत परिचालित छन् । हेलिकप्टरदेखि पैदल उद्धारसम्मभोटेकोशीको बाढीले चिलिमे आयोजनाको आसपासको भूभागमा व्यापक कटान गरेपछि उद्धारका लागि हवाई माध्यम प्रयोग गर्नसमेत कठिन भएको थियो । सुरुङको मुखसम्मको भूभाग नै बाढीले कटान गरेकाले ठूलो हेलिकप्टर अवतरण गर्न सक्ने अवस्था थिएन ।कतिपय अवस्थामा भित्ताको आड लिएर हुकको सहायताले मानिस तथा उपकरण तान्नुपर्ने अवस्था आएको थियो । यसले चिलिमेमा उद्धार सुरुङभित्रको अवरोध हटाउने काम मात्रै नभई बाहिरी पहुँचमार्ग पुनःस्थापना गर्ने, उपकरण पु¥याउने र त्यसपछि मात्र भूमिगत संरचनामा प्रवेश गर्ने बहुस्तरीय अभियान बनेको देखाउँछ ।
नेपाली सेनाले भदौ १० गतेदेखि चिलिमेमा उद्धार अभियान सुरु गरेको थियो । त्यसपछि भदौ १३ गते भारतबाट आएको विशेषज्ञ खोज तथा उद्धार टोलीसमेत अभियानमा जोडियो । भदौ १४ गतेदेखि नेपाली र भारतीय टोलीले संयुक्त रूपमा खोजीलाई अघि बढाएका थिए ।सुरुवातमा सुरुङभित्र ठूलो मात्रामा हिलो र लेदो भरिएका कारण उद्धारकर्मीका लागि अगाडि बढ्नै कठिन थियो । सुरुङको मुखसम्म पुग्ने पहुँच संरचनामा समेत बाढीले क्षति पु¥याएका कारण अभियान थप जटिल बन्यो । तर निरन्तरको सफाइ र खोजीपछि उद्धार टोली मुख्य टनेलभित्र करिब सय मिटरभन्दा बढी अगाडि बढ्न सक्ने अवस्थामा पुगेको छ ।अब उद्धार अभियानको सफलता मुख्यतः सुरुङभित्र बाँकी रहेको अवरोध कति छ ? भूमिगत संरचना कस्तो अवस्थामा छ ? र उद्धारकर्मीले हेभी इक्विपमेन्ट कति छिटो परिचालन गर्न सक्छन् भन्नेमा निर्भर देखिएको छ ।
बाढी आएको समयमा आयोजनामा सुरक्षा गार्ड, कर्मचारी तथा इन्जिनियर र ओभरसियर गरी आठ जना बढि कार्यरत रहेको उल्लेख छ । हालसम्म दुई जनाको शव फेला परिसकेको छ । तर भूमिगत संरचनामा रहेका अन्य व्यक्तिको अवस्था अझै स्पष्ट हुन सकेको छैन । उद्धार टोलीले उनीहरू सुरुङभित्रै रहेको आशंकामा खोजीलाई निरन्तरता दिएको छ ।अन्य आयोजनामा पनि खोजी तीव्रबाढीबाट चिलिमे मात्रै प्रभावित भएको छैन । रसुवा र आसपासका जलविद्युत् आयोजनाहरूमा समेत ठूलो क्षति पुगेको छ । विभिन्न आयोजनाका सुरुङ, पावरहाउस, कार्यालय, आवास तथा अन्य संरचना बाढी र पहिरोको चपेटामा परेका छन् ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार टोलीले एक चरणको खोजी पूरा गरिसकेको छ । थप खोजी गर्दा पनि अन्य व्यक्ति जीवित वा मृत अवस्थामा फेला नपरेको बताइएको छ ।
त्रिशूली–३ ‘बी’ आयोजनामा भने मुख्य सुरुङबाहेक अधिकांश संरचना बाढीले गम्भीर रूपमा क्षतिग्रस्त बनाएको छ । पावरहाउस, कार्यालय तथा ६ वटा आवासीय भवन पुरिएका छन् । त्यहाँ पनि खोजी कार्य जारी छ ।यस्तै नेपाल–चीन सीमाबाट करिब ४.५ किलोमिटर दूरीमा रहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि बाढीबाट प्रभावित प्रमुख आयोजनामध्ये एक हो । यहाँ खोजी तथा उद्धार कार्य चलिरहेको छ भने २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा समेत खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ ।त्यसैगरी २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा हराइरहेका मानिस सुरुङभित्र हुनसक्ने आशंकामा नेपाली सेनाको नेतृत्वमा कोरियन तथा चिनियाँ विशेषज्ञ सम्मिलित टोलीले खोजी जारी राखेको छ ।









प्रतिक्रिया दिनुहोस्