राउटेलाई नागरिकता दिने तयारी



दैलेख ।

लोपोन्मुख राउटे समुदायलाई नागरिकता दिने तयारी गरिएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाका जंगल क्षेत्रमा घुमन्ते जीवन बिताउँदै आएका राउटेलाई नागरिकता नै दिने तयारी गरिएको हो । राउटेलाई स्थायी बासिन्दाका रूपमा समेट्दै परिचयपत्र वितरण गरिएको छ । तर नागरिकता भने हालसम्म प्रदान गरिएको छैन ।

दैलेखको गुराँस गाउँपालिकाले अब नागरिकता वितरणको गृहकार्य अघि बढाएको हो । गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीका अनुसार केही समयअघि नै राउटेलाई नागरिकता वितरण गर्ने विषयमा दैलेख जिल्ला प्रशासन कार्यालयले प्रक्रिया अगाडि बढाएको छ । यसका लागि मन्त्रीपरिषद्को निर्णय आवश्यक पर्ने भएकाले थप काम अघि नबढ्दा नागरिकता वितरण नभएको उनले बताए ।

राउटेलाई नागरिकता वितरण भए उनीहरूको पञ्जीकरण गर्न सहज हुने र सरकारी सेवा तथा सुविधामा पहुँच बढ्ने अध्यक्ष विसीको भनाइ छ ।
‘यसका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयबाट आवश्यक पहल गर्न अनुरोध गरिएको छ,’ उनले भने, ‘राउटे समुदायको जनसङ्ख्या पनि दिनप्रतिदिन घट्दै गइरहेकाले उनीहरूको संरक्षण, उत्थान र सामाजिक सुरक्षाका लागि नागरिकता अनिवार्य छ ।’

हाल गाउँपालिकाले राउटे समुदायको पहिचान र सङ्ख्या यकिन गर्न परिचयपत्र वितरण गरेको छ । त्यसैको आधारमा राउटेको सङ्ख्या अभिलेख गरिँदै आएको छ । राउटे समुदाय भने आफूहरू जंगलमै बस्ने, स्थायी घर नबनाउने र औपचारिक शिक्षा नलिने परम्परामा अडिग रहँदै आएका छन् । तर पछिल्लो समय उनीहरुको जीवनशैली भने फेरिदै गएको छ ।

कर्णाली प्रदेश सरकारले राउटे समुदायको अध्ययन, संरक्षण, उत्थान र विकासका लागि तयार पारेको ‘राउटे नीति’ अन्तिम चरणमा पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । तयार पारेको उक्त नीति हाल मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेको मन्त्री घनश्याम भण्डारीले बताए । उनका अनुसार करिब एक दशकदेखि राउटे समुदायको बसोबास, जीवनशैली र सामाजिक अवस्थाको अध्ययन गर्दै उनीहरूलाई परम्परा जोगाउँदै समाजसँग समायोजन गर्ने उद्देश्यले राउटे नीति तयार गरिएको हो ।

कार्यदलमार्फत तयार पारिएको नीति आवश्यक प्रक्रिया पूरा गरी चाँडै कार्यान्वयनमा ल्याइने उनी बताउँछन् । ‘राउटे नीतिमा ‘राउटे कोरिडोर’लाई विशेष प्राथमिकता दिइएको छ,’ उनले भने, ‘विगत १० वर्षमा राउटे समुदायले बसोबास गरेका स्थानलाई आधार मानेर सुर्खेत, दैलेख, अछाम र जाजरकोट जिल्लालाई समेटी कोरिडोरको अवधारणा अघि सारिएको हो ।’

यसअघि उनीहरू डोटी र दाङसम्म पुगेको तथ्य पनि अध्ययनबाट पत्ता लागेको मन्त्री भण्डारीले जानकारी दिए । नीतिमा राउटे समुदायको भाषा, भेशभूषा, सीप, सुरक्षा र सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि समेटिएको छ । राउटेले बनाउने काठका सामग्रीलाई बजारीकरण गर्ने व्यवस्था गरिएको छ, भने उनीहरूको परम्परागत पहिरन सङ्ग्रहालयमा राखिने उल्लेख गरिएको छ ।

हाल राउटे समुदाय सुर्खेतको लेकबेँसी नगरपालिका–५ लमना क्षेत्रमा बसोबास गर्दै आएका छन् । हाल उनीहरूको कूल सङ्ख्या १३३ रहेको छ । पछिल्लो समय राउटेहरुको अस्वस्थ खानपिन जीवनशैलीका कारण उनीहरुमा बढ्दो रोग संक्रमणका कारण जनसङ्ख्या घट्दो क्रममा छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार