सेफ्टीट्यांकी फोडेर आठ कैदीबन्दी फरार



सुर्खेत ।

हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी फरार भएका छन् । यो घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि समेत गम्भीर प्रश्न उठेको छ । सुरक्षाकर्मी ड्युटीमै रहेका बेला कैदीबन्दीले शौचालयको पुरानो सेफ्टीट्यांकी फोडेर बाहिर निस्कने बाटो बनाएको खुलेको छ । तर सेफ्टीट्यांकी फोडेर सुरुङ खन्ने क्रममा कुनै गतिविधि तथा आवाज नसुनिएको सुरक्षाकर्मीको भनाइ छ ।

कारागार प्रशासनका अनुसार कैदीबन्दी बसेको कोठासँगै जोडिएको शौचालयको सेफ्टीट्यांकी प्रयोग गरेर उनीहरू बाहिर निस्किएका हुन् । उक्त सेफ्टीट्यांकी केही महिनादेखि प्रयोगविहीन अवस्थामा थियो । प्रयोगमा नरहेको त्यही संरचनालाई कैदीबन्दीले फरार हुने माध्यम बनाएको प्रारम्भिक विवरणले देखाएको छ । डोल्पा कारागार कार्यालयका नायब सुब्बा तथा जेलर दीर्घराज आरसीका अनुसार कैदीबन्दीले झ्यालको रड तानेर त्यसैको सहायताले सेफ्टीट्यांकी फोडेको अनुमान गरिएको छ ।

सेफ्टीट्यांकी कैदीबन्दी बस्ने कोठा र बाहिरी पर्खालसँग जोडिएको थियो । सोही संरचनाको फाइदा उठाउँदै उनीहरूले बाहिर निस्कने बाटो बनाएको उनको भनाइ छ । उनका अनुसार कैदीबन्दी बसेको कोठाबाट पुरानो सेफ्टीट्यांकी हुँदै बाहिर खेलमैदानतर्फ करिब चार मिटर ६३ सेन्टिमिटर लामो सुरुङ बनाइएको थियो । सेफ्टीट्यांकी करिब चार मिटर लामो रहेको जेलर आरसीले बताएका छन् । तर, सेफ्टीट्यांकी फोड्ने क्रममा कारागारमा खटिएका सुरक्षाकर्मीले कुनै आवाज नसुनेको बताएका छन् ।

रातिको समयमा सुरक्षाकर्मी ड्युटीमा रहे पनि कैदीबन्दीले गरेको गतिविधिबारे जानकारी नपाउनु र एकैपटक आठ जना बाहिरिन सफल हुनुले कारागारको आन्तरिक निगरानी प्रणालीमाथि खडा आलोचना भइरहेको छ । कारागारमा त्यस रात सुरक्षाकर्मी ड्युटीमा रहेको जनाइएको छ । तर, कैदीबन्दीले सेफ्टीट्यांकी फोडेर बाहिर निस्कने बाटो बनाउँदासमेत सुरक्षाकर्मीले सुइँको पाएनन् । सेफ्टीट्यांकी फोड्ने क्रममा कुनै आवाज नसुनिएको सुरक्षाकर्मीको भनाइ छ ।

विशेषगरी, सुरक्षाकर्मी ड्युटीमा रहँदा पनि कैदीबन्दीले कसरी यति लामो बाटो बनाएर बाहिरिन सके भन्ने विषयमा घटनाको अनुसन्धान जारी छ । कारागारको भौतिक संरचनामा रहेको कमजोरी, सुरक्षा निगरानीको अवस्था र ड्युटीमा खटिएका सुरक्षाकर्मीको जिम्मेवारीबारे छलफल भइरहेको कारागार कार्यालयले जनाएको छ । जिल्ला कारागारमा कूल १७ जना कैदीबन्दी तथा थुनुवा रहेका थिए । शुक्रबार मध्यराति आठ जना फरार भए पनि घटनाबारे शनिबार बिहान मात्रै जानकारी भएको थियो ।

शनिबार बिहान ६ बजे नियमित रूपमा कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना अनुपस्थित भेटिएपछि उनीहरू फरार भएको खुलेको हो । घटनाबारे जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल र प्रहरी नायब उपरीक्षक अनिलराज गिरीसहितको टोली कारागार पुगेको थियो । टोलीले घटनास्थलको निरीक्षण गरी फरार हुने बाटो र कारागारको अवस्थाबारे जानकारी लिएको थियो । आठ जना कैदीबन्दी फरार भएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको डिएसपी गिरीले बताए ।

‘जिल्लाका विभिन्न नाकामा सुरक्षा निगरानी कडा पार्नुका साथै फरार व्यक्तिहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने, ‘तर, खोजी कार्य जारी रहे पनि हालसम्म फरार कैदीबन्दी फेला परेका छैनन् । उनीहरू कुन दिशातर्फ गए र जिल्लाबाहिर पुग्न सफल भए वा भएनन् भन्ने विषयमा अनुुसन्धान भइरहेको छ ।’ एकैपटक आठ जना फरार भएपछि प्रहरीले सम्भावित आवागमनका मार्ग तथा विभिन्न नाकामा निगरानी बढाएको छ ।

जबरजस्ती करणी र चोरी मुद्दाका कैदीबन्दी 

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शुक्रबार मध्यराति फरार हुने आठ जनामध्ये पाँच जना जबरजस्ती करणी मुद्दाका र तीन जना चोरी मुद्दाका कैदीबन्दी रहेका छन् । प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार फरार भएकामध्ये ६ जना कैद सजाय भुक्तान गरिरहेका थिए भने दुई जना पुर्पक्षका लागि थुनामा रहेका थिए । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन् ।

त्यस्तै, चोरी मुद्दामा कैद भुक्तान गरिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भन्ने कपिल परियार फरार भएका छन् । चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी पनि फरार भएको प्रहरीले जनाएको छ । यो घटनाले दुर्गम जिल्लाका कारागारको सुरक्षा पूर्वाधार र निगरानी प्रणालीको अवस्थाबारे गम्भीर बहस सिर्जना गरेको छ ।

कारागारभित्रै कैदीबन्दीले झ्यालको रड निकालेर सेफ्टीट्यांकी फोड्ने, चार मिटरभन्दा लामो बाटो बनाउने र एकैपटक आठ जना फरार हुने अवस्था आउनुले सुरक्षा व्यवस्थामा सम्भावित कमजोरी रहेको स्पष्ट हुुन्छ । कारागार भनेको कैदीबन्दीलाई थुनामा राख्ने संरचना मात्रै नभई राज्यको प्रत्यक्ष निगरानी र नियन्त्रणमा रहने संवेदनशील सुरक्षा निकाय पनि हो । त्यस्तो निकायबाट एकैपटक आठ जना फरार हुनु सामान्य घटना होइन । हाल फरार कैदीबन्दीको खोजी जारी छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १६ गते आइतबार