धम्बोझी–नन्दनी मिल सडक विस्तारको लागि सम्झौता



नेपालगन्ज ।

२०७९ सालमा हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडकखण्डलाई फोरलेनको स्तरमा स्तरोन्नति गर्दा छुटाइएको नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनी मिलसम्मको सडकखण्ड विस्तार गरिने भएको छ । हुलाकी सडक विस्तार गर्दा छुटाइएको उक्त सडकखण्ड विस्तारका लागि हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जले अहिले नयाँ ठेक्का सम्झौता गरेर निर्माण गराउँदैछ ।

सम्झौताअनुसार करसहित ३९ करोड ८४ लाख एक हजार दुई सय १९ रूपैयाँँ लागतमा उक्त सडकखण्ड निर्माण हुनेछ । एमएस हिम सगरमाथा कन्सट्रक्सन प्रालि बालाजु १६ काठमाडौँले प्राप्त गरेको उक्त सडक निर्माणको ठेक्का सम्झौता एक वर्षका लागि गरिएको योजना कार्यालय नेपालगन्जका सूचना अधिकारी इन्जिनियर टोपेन्द्र खड्काले जानकारी दिए । अब उक्त सडकलाई विस्तार गर्दा फुटपाथ छोडेर तीन तीन लेनको सडक रहने गरी विस्तार गर्ने योजना रहेको कार्यालयका प्रमुख लिलाबहादुर भण्डारीको भनाइ छ ।

भण्डारीका अनुसार बजार क्षेत्रमा पर्ने सडकखण्ड भएको कारण सडक चौडा बनाइने र मध्यभागको डिभाइडरको चौडाइ पनि दुई मिटर मात्रै राखिने छ । ‘बजार क्षेत्रमा फुटपाथ सबैभन्दा बढी जरुरी हुने रहेछ । त्यसलाई ध्यानमा राखेर सडक निर्माण गर्ने हाम्रो योजना छ,’ भण्डारीले भने । हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडकखण्ड विस्तार गर्दा धम्बोझीदेखि नन्दनी मिलसम्म सडकक्षेत्रमै घरलगायत स्थायी संरचना रहेको र तिनलाई हटाउन सहज नहुने देखेपछि उक्त खण्डलाई छोडिएको थियो ।

सवारीसाधन तथा नागरिकको बढी आवागमन हुने खण्डमै सडक साँघुरै रहँदा उक्त क्षेत्रमा आवागमन असहज हुनुका साथै जोखिमपूर्ण पनि बनेको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयले सडकको मध्यविन्दुबाट १५–१५ मिटर दायाँ बायाँ क्षेत्रमा पर्ने सबै संरचनाहरू हटाउन आह्वान गरेपछि स्थानीवासीहरूले आफैँले संरचना हटाइसकेका छन् । तर, नेपाल राष्ट्र बैंकको सडक क्षेत्र मिचेर बनाइएको पर्खाल भने अझै भत्काइएको छैन ।

राष्ट्र बैंकको पर्खाल भत्काउनका लागि पटक पटक पत्राचार भएको र पर्खाल सार्ने काम पनि सुरु भइसकेको जानकारी पाएको भण्डारीले बताए । उनले सडक विस्तारमा अब कुनै अवरोध नभएकोले धमाधम काम सुरु हुने बताएका छन् । अवरोध भएको अवस्थामा पनि त्यसलाई सजिलै सुल्झाउन सकिने अवस्था रहको उनको भनाइ छ ।

हुलाकी सडक स्तरोन्नतिपछि खजुरासम्म ४ लेन सडक बनिसक्दा पनि सवारीसाधनको बढी चाप हुने उक्त खण्ड अहिले अस्तव्यस्त छ । उक्त खण्डबाट ठूला सवारीसाधनहरू चल्दा सडक जाम हुन थाले पनि प्रहरी खटाएर डाइभर्ट गरी बाइपास सडकबाट कारकाँदो चोकतिर पठाउनुपरिरहेको छ । नेपालगन्ज गुलरिया खण्डमा चल्ने सवारीसाधनहरूले साँधुरो सडकमै यात्रु चढाउने र झार्ने गर्दा दुर्घटनाको जोखिम पनि बढेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १६ गते आइतबार