कर्णाली करिडोरको सास्तीले यात्रु र व्यवसायी आजित



सुर्खेत ।

हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण मार्ग हो कर्णाली करिडोर । तर, यो करिडोर यात्रुका लागि सहज आवागमनको माध्यम बन्नुको सट्टा जोखिमपूर्ण यात्राको पर्याय बन्दै गएको छ ।सडकको जीर्ण अवस्था, साँघुरो मार्ग र निरन्तर खसिरहने सुक्खा पहिरोका कारण यात्रु तथा यातायात व्यवसायी आजित बनेका छन् । दैनिक उपभोग्य वस्तुको ढुवानीदेखि स्वास्थ्य उपचार र आपतकालीन आवागमनसम्म प्रभावित हुँदा स्थानीयवासीले वर्षौँदेखि भोग्दै आएको सडक सास्तीप्रति सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१ स्थित खच्च क्षेत्रमा सुक्खा पहिरो खस्ने क्रम नरोकिएपछि यातायात व्यवसायीले सडक सुधारको माग गर्दै प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईसमक्ष ज्ञापनपत्र बुझाएका हुुन् । हिल्सा यातायात प्रालिका अध्यक्ष विशाल रोकायाका अनुसार बुधबार बुझाइएको ज्ञापनपत्रमा जोखिमपूर्ण सडकको तत्काल सुधारसँगै समस्याको दीर्घकालीन समाधान खोज्न माग गरिएको छ ।

व्यवसायीका अनुसार खच्च क्षेत्रमा दिनहुँजसो सुक्खा पहिरो खस्ने जोखिम छ । पहिरोको त्रासका कारण चालकले यात्रुलाई गाडीबाट ओरालेर खाली सवारीसाधन जोखिमपूर्ण खण्ड पार गराउनुपर्ने अवस्था छ । यसले यात्रुको समय र सुरक्षामा मात्र असर पारेको छैन, यातायात सञ्चालनलाई समेत कठिन बनाएको रोकायाले बताए । ‘पहिरोको जोखिम न्यूनीकरण र सडकको दिगो सुधारका लागि प्रभावकारी उपाय अपनाउन आग्रह छ,’ उनले भने, ‘कुनै पनि बेला ठूलो दुर्घटना निम्तिन सक्छ । करिडोरमा हुम्लाबाट सुर्खेतसम्मको यात्रा गर्न व्यवसायीसँगै यात्रुले कठिनाइ भोग्नुपरेको छ ।’

उनका अनुसार वर्षा होस् वा घाम, जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम र सडकको जीर्ण अवस्थाले यात्रा अनिश्चित बनाएको छ । सर्केगाड गाउँपालिका–१ जैरका नवराज रावतले हुम्लाबाट सुर्खेतसम्मको यात्रा तीन दिनमा पूरा गरेपछि सडकको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । वर्षौँदेखि सडक निर्माण तथा स्तरोन्नतिका नाममा बजेट खर्च हुँदै आए पनि यात्रुले सुरक्षित र सहज यात्रा गर्न नपाएको उनको गुनासो छ ।

‘सडक निर्माणको प्रगति कागजमा देखिन्छ, तर नागरिकले व्यवहारमा सुरक्षित यातायात सुविधा पाउन सकेका छैनन्,’ उनले भने, ‘सडक विस्तार तथा स्तरोन्नतिमा लगानी भए पनि जोखिम मोलेर यात्रा गर्नुपर्ने र गन्तव्यमा पुग्ने समयको निश्चितता नहुने अवस्था कायमै छ ।’ नेपालगन्जको जमुनाहादेखि चीनको सीमावर्ती हिल्सासम्म जोड्ने कर्णाली करिडोर हुम्लाको यातायात, व्यापार र दैनिक जनजीवनका लागि महत्वपूर्ण मार्ग हो । दुर्गम जिल्लालाई बाहिरी बजारसँग जोड्ने यस सडकको अवस्थाले स्थानीयको आवागमनमा मात्र नभइ खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको आपूर्तिमा समेत प्रत्यक्ष प्रभाव पारेको छ ।

व्यापार र जनजीवन प्रभावित 

खच्च क्षेत्रमा होटल व्यवसाय गर्दै आएका डिलबहादुर कार्कीका अनुसार सडक स्तरोन्नति नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । सडकको जोखिमपूर्ण अवस्थाले यात्रुको आवागमनलाई असहज बनाउनुका साथै सडक आसपासका व्यवसायको गतिविधिमा समेत असर पारेको छ । स्थानीय नवराज महताराले कबाडी–सलिसल्ला सडकखण्डको जोखिमपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गरे । उनका अनुसार सडकको खराब अवस्थाले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या छ भने बिरामीलाई उपचारका लागि लैजाने काम र आकस्मिक आवागमनमा कठिनाइ सिर्जना गरिरहेको छ ।

यो हुम्लाका नागरिकको दैनिक जीवन, आर्थिक गतिविधि र आधारभूत सेवामा पहुँचसँग जोडिएको विषय पनि हो । स्थानीयवासीले सडकका जोखिमपूर्ण स्थानमा निर्माण गरिएका काठे तटबन्धलगायत संरचनाको गुणस्तर र तिनमा खर्च गरिएको बजेटको प्रभावकारितामाथि आलोचना गरिरहरेका छन् । सडकमा लगानी भइरहे पनि पहिरोको जोखिम घट्न नसक्नु र संरचनाले अपेक्षित सुरक्षा दिन नसक्नुले निर्माणको गुणस्तर तथा मर्मतसम्भारको प्रभावकारिताबारे चासो बढाएको छ ।

यता ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरागाईले आफू मंगलबार मात्रै उक्त सडक भएर आएको उल्लेख गरे । सुक्खा पहिरोका कारण समस्या भइरहेको स्वीकार गर्दै सडक हेर्ने सम्बन्धित निकायसँग समन्वय गरेर समस्या समाधानको उपाय खोज्ने उनले बताए । ‘खच्च क्षेत्रको भौगोलिक बनावटलाई ध्यानमा राख्दा जैविक विधिबाट सडक सुधार गर्न आवश्यक छ,’ उनले भने, ‘यसले उक्त क्षेत्रमा परम्परागत सडक मर्मतभन्दा भूगोल र पहिरोको प्रकृतिअनुसार उपयुक्त प्राविधिक उपाय अपनाउनुपर्ने आवश्यकताछ ।’

ज्ञापनपत्रको बोधार्थ संघीय मन्त्रालय, प्रदेश मन्त्रालय तथा कवाडी–सलिसल्ला सडकखण्ड हेर्ने सडक कार्यालयलाई पनि दिइएको छ । यसबाट सडक सुधारको जिम्मेवारी सम्बन्धित निकायसम्म पु¥याउने प्रयास गरिएको छ । कर्णाली करिडोरको खच्च खण्डमा देखिएको समस्याले दुर्गम क्षेत्रमा सडक निर्माणसँगै त्यसको सुरक्षा र दीर्घकालीन व्यवस्थापनलाई पनि प्राथमिकता दिनुपर्ने देखाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १४ गते शुक्रबार