नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व



बाँके ।

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु पाँच अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को साउन, भदौ र असोज गरी तीन महिनामा रु पाँच अर्ब २४ करोड ८९ लाख ८५ हजार राजस्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पबित्रकुमार खड्काले बताए । नेपालगन्ज भन्सार कार्यालयले गत आव २०८२/८३ मा रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार राजस्व सङ्कलनका लागि लक्ष्य रहेकामा करिब ८१।८७ प्रतिशत अर्थात् रु २० अर्ब ११ करोड ५५ लाख एक हजारमात्रै असुली गर्न सकेको थियो ।

गत आवमा रु २० अर्ब ११ करोड राजस्व असुली गरेको नेपालगन्ज भन्सारलाई चालु आव २०८३/८४ मा रु २६ अर्ब २० करोड ५२ लाख ६५ हजार लक्ष्य निर्धारण गरिएको छ । जुन गत आवको वास्तविक असुलीभन्दा रु छ अर्बभन्दा बढी र गत आवको लक्ष्यभन्दा रु एक अर्ब ६५ करोड बढी हो । नेपालगन्ज भन्सार कार्यालयबाट इन्धन, ट्याक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलामलगायतका वस्तुको आयात बढी हुने गरेको छ भने जडीबुटीलगायतका वस्तु तथा सामान निकासी हुने गरेको छ । राजस्व सङ्कलनको वार्षिक लक्ष्य पूरा गर्नका लागि आवश्यक कार्ययोजना बनाइएको सूचना अधिकारी खड्काले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १६ गते आइतबार