चरा अवलोकनको गन्तव्य बन्दै घोडाघोडी ताल



कैलाली ।

बिहानीको शान्त वातावरण, तालमाथि फैलिएको कुहिरो, पानीमा पौडिरहेका जलपन्छी र रूखका हाँगामा बसेर चिरबिर गरिरहेका चराहरू भेटिन्छन् । प्रकृतिको यो दृश्यले जोकोहीको मन लोभ्याउँछ । अझ तालको किनारमा बसेर चराहरूको चहलपहल नियाल्न आउने पर्यटकको मन आनन्द हुन्छ । यस्तै, प्राकृतिक सौन्दर्य र चराचुरुङ्गीको विविधता नियाल्न चाहनेका लागि कैलालीको घोडाघोडी सिमसार क्षेत्र उपयुक्त गन्तव्य हो ।

नेपालको पहिलो चरा अभय आरण्य क्षेत्रको रूपमा परिचित घोडाघोडीमा चराको संसार कति विविध छ भन्ने बुझ्न अब अनुमान र अरूका वर्णनमा मात्रै भर पर्नु पर्दैन । त्यहाँ पुगेपछि प्रत्यक्ष अनुभव गर्न सकिन्छ । घोडाघोडी सिमसार क्षेत्रमा पाइने चराहरूको लामो समयदेखि अध्ययन, अनुसन्धान र संरक्षणमा दर्जन बढी संघ संस्थाले काम गरिसकेका छन् । त्यतिमात्र होइन, लामो समय संरक्षणमा सक्रिय तीन जना संरक्षणकर्मीले संयुक्त रूपमा प्रकाशन गरेको ‘घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने चराहरू’ नामक पुस्तकले घोडाघोडीलाई चरा अवलोकनको गन्तव्यको रूपमा बुझ्न थप सहज बनाएको छ ।

चरा संरक्षण नेटवर्कको अध्यक्ष दयाराम चौधरी, पन्छी संरक्षण नेपालका फिल्ड मेनेजर हिरूलाल डंगौरा र संरक्षणकर्मी राजीव चौधरीले तयार पारेको पुस्तकमा घोडाघोडी क्षेत्रमा अभिलेख गरिएका ३९० प्रजातिका चराको जानकारी समेटिएको छ । घोडाघोडी सिमसार क्षेत्रमा हालसम्म ३८१ प्रजातिका चरा पाइने अभिलेखमा उल्लेख छ । सन् २००३ मा विश्व रामसार सूचिमा सूचिकृत घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक सम्पदाका दृष्टिले महत्वपूर्ण छ । ताल, पोखरी, सिमसार, वनस्पति र वन क्षेत्रको संयोजनले यहाँ विभिन्न प्रजातिका चरालाई वासस्थान र आहारा उपलब्ध गराएको छ ।

घोडाघोडी क्षेत्र तराईको मैदानी भूभाग र चुरे क्षेत्रबिचको पारिस्थितिक सम्बन्धका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । घोडाघोडी मुख्य ताल र अन्य साना ठूला गरेर २४ वटा शाखा तालहरू घोडाघोडी सिमसार क्षेत्रमा छन् । यहाँ वर्षभरि रैथाने चरासँगै विभिन्न मौसममा आउने आगन्तुक चरासमेत देख्न पाइन्छ । विशेषगरी जाडोयाममा चिसोबाट बच्न र आहारा खोज्न टाढा टाढाबाट आउने चराले सिमसारको रौनक थप्छन् । पानीमा आश्रित चरादेखि वन क्षेत्रमा विचरण गर्ने चरासम्मको उपस्थितिले घोडाघोडीलाई चराको विविधता अध्ययन गर्ने महत्वपूर्ण स्थल बनाएको चराविद् हिरूलाल डंगौराले बताए ।

घोडाघोडीको महत्व यहाँ चराको सङ्ख्या धेरै हुनुमा मात्रै सीमित छैन । विश्वमै दुर्लभ तथा सङ्कटापन्न अवस्थामा पुगेका केही चराका प्रजाति पनि यहाँ पाइन्छन् । त्यसैले यस क्षेत्रको संरक्षण स्थानीय वातावरण जोगाउने काम मात्रै नभइ विश्वव्यापी जैविक विविधता संरक्षणसँग पनि जोडिएको लामो समय यस क्षेत्रमा काम गर्ने संरक्षणकर्मीको भनाइ छ । तालमा देखिएको चरा कुन प्रजातिको हो, त्यसको स्थानीय वा नेपाली नाम के हो र त्यसको विशेषता के छ भन्ने जिज्ञासा मेटाउन चराविद्हरू स्थानीय युवा, संरक्षणकर्मीलाई साथमा लिएर चरा गणना कार्यक्रम हरेक वर्ष गरिन्छ । यसले स्थानीयमा समेत चरा संरक्षण र पर्यटन प्रवर्धनमा सहयोग पुगेको छ ।

चराको महत्वपूर्ण वासस्थान भएकै कारण सुदूरपश्चिम प्रदेश सरकारले २०७८ फागुन २७ गते घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र अर्थात् बर्ड सेन्चुरी घोषणा गरेको थियो । घोषणाले यस क्षेत्रको पहिचानलाई थप फराकिलो बनाउनुका साथै चरा र तिनको वासस्थान संरक्षणको आवश्यकतालाई उजागर गरेको छ । चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी सरकारले नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरे पनि संरक्षणको पाटोमा खासै काम गर्न नसकेको गुनासो गरे । उनी भन्छन्, ‘घोषणा गरेर मात्र औपचारिकता पूरा हुँदैन, शान्त प्राकृतिमा रमाउने चराहरूलाई असर पर्नेगरी मानवीय गतिविधि हुन नदिने वातावरण बनाउनु सरकारको जिम्मेवारी हो । पहिला देखिने धेरै चराहरू अहिले देखिन छोडेका छन् । यसरी नै चराहरू लोप हुँदै जान थाले यसले प्रकृति र मानव जिवनमा नराम्रो असर पर्न सक्छ ।’

घोडाघोडी क्षेत्रमा जंगली धान, हरिहाँस र मगर गोहीलाई सूचक प्रजातिका रूपमा लिइन्छ । यी प्रजातिको अवस्था र बासस्थानको सिमसारको पारिस्थितिक अवस्थाबारे बुझ्न सहयोग गर्छ । यहाँ प्रत्येक वर्ष हिउँद र गर्मीयाममा चरा गणना हुँदैआएको छ । गणनाले चराका प्रजाति, सङ्ख्या र तिनको अवस्थाबारे जानकारी जुटाउन मद्दत गर्छ । चरा अभय आरण्य क्षेत्र घोषणा हुँदैमा सबै चुनौती समाप्त भएका छैनन् । पछिल्ला वर्षमा वासस्थान असुरक्षित बन्दै जानु, आहारा घट्नु र मानवीय गतिविधिका कारण चराको संरक्षणमा चुनौती थपिएको संरक्षणकर्मीहरूले बताउँदै आएका छन् । डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनकराज पाध्यायले मिचाहा प्रजातिको वनस्पति हटाउन प्रदेश सरकारले छुट्याउने बजेट न्यून रहेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १६ गते आइतबार