
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
sv:16.2.13.2.W20;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 40;
शिवु खनाल । दाङ ।
वर्षौँदेखि अरूको जग्गामा बसोबास गर्दै आएका परिवारका लागि आफ्नै नाममा जग्गा हुनु केवल एउटा कागज प्राप्त गर्नु मात्र होइन, त्यो सुरक्षित भविष्यको आधार हो । पुस्तौँदेखि भूमिहीनताको पीडा भोग्दै आएका परिवारका लागि जग्गाधनी दर्ता प्रमाणपुर्जा अर्थात् लालपुर्जा प्राप्त गर्नु जीवनकै महत्वपूर्ण उपलब्धि बनेको छ । कहिले अर्काको जमिनमा आश्रय लिएर बस्नुपर्ने बाध्यता, कहिले घरबास गुम्ने चिन्ता त कहिले आफ्नै नाममा एक टुक्रा जमिन नहुँदाको पीडा ।
यस्तै अभाव र संघर्षका बीच जीवन बिताउँदै आएका देउखुरीका सात परिवारले शनिबार पहिलोपटक आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका छन् । लमही नगरपालिका र गढवा गाउँपालिकाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी गरी सात परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो । युएन ह्याबिटाट र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सीएसआरसी)को सहकार्य तथा लमही नगरपालिकाको आयोजनामा पुर्जा वितरण गरिएको हो । लमही नगरपालिका वडा नम्बर ३ जखेरा टोलकी शारदा दमाई र मुसन्डी टोलकी कृष्णा सिंङ्जाली डाँगीका परिवारका लागि यो दिन विशेष बन्यो ।
तीन सदस्यीय परिवारकी शारदा र चार सदस्यीय परिवारकी कृष्णाले वर्षौँदेखि देखेको आफ्नै जग्गाको सपना अब कागजमा मात्र सीमित रहेन । उनीहरूले आफ्नै नाममा जग्गाको स्वामित्व प्राप्त गरेका छन् । शारदा दमाईले १९९ वर्गमिटर र कृष्णा सिंङ्जाली डाँगीले ८४ दशमलव ५० वर्गमिटर क्षेत्रफलको जग्गाधनी दर्ता प्रमाणपुर्जा प्राप्त गरेका छन् । तीन सदस्यीय परिवारको जिम्मेवारी बोकेकी शारदाका लागि आफ्नै नाममा जग्गा हुनु परिवारको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण आधार बनेको छ ।
त्यसैगरी चार सदस्यीय परिवारकी कृष्णाका लागि पनि लालपुर्जा प्राप्त हुनु वर्षौँदेखिको असुरक्षा र अन्योलबाट बाहिर निस्कने आशाको ढोका खुलेसरह भएको छ । भूमिहीन हुनुको पीडा केवल जग्गा नहुनुमा मात्र सीमित हुँदैन । त्यसले परिवारको बसोबास, सामाजिक पहिचान, आर्थिक सुरक्षा र बालबालिकाको भविष्यसँग समेत जोडिएको हुन्छ । आफ्नै नाममा जग्गा नहुँदा भोग्नुपर्ने अनिश्चितताका बीच लालपुर्जा प्राप्त भएपछि यी परिवारमा अब आफ्नो घरबास सुरक्षित हुने विश्वास पलाएको छ ।
लामो समयदेखि भूमिहीनताको समस्या समाधानको प्रतीक्षामा रहेका परिवारका लागि लालपुर्जा वितरणले नयाँ आशा जगाएको छ । जग्गाको स्वामित्व प्राप्तिसँगै अब उनीहरूले आफ्नो परिवारको सुरक्षित बसोबास र भविष्य निर्माणका लागि थप आत्मविश्वास पाउने अपेक्षा गरिएको छ । लालपुर्जा वितरण कार्यक्रममा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरी, भूमि समस्या समाधान समितिका संयोजक एवम् दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे, समितिका सदस्य एवम् नापी कार्यालय घोराहीका प्रमुख पुरन चौधरीलगायतले संयुक्त रूपमा पुर्जा वितरण गरेका हुन् ।
नापी कार्यालय घोराहीका प्रमुख पुरन चौधरीले भूमिहीन परिवारलाई जग्गाको स्वामित्व प्रदान गर्ने प्रक्रिया अघि बढिरहेको बताए । उनले लामो समयदेखि जग्गाको स्वामित्व पाउन नसकेका नागरिकलाई कानुनी रूपमा जग्गाधनी बनाउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले भूमिहीन तथा सुकुम्वासी परिवारको समस्या समाधान गर्नु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताए । उनले वास्तविक भूमिहीन परिवारलाई जग्गाको स्वामित्व दिलाउन नगरपालिका निरन्तर लागिरहेको उल्लेख गरे ।
भूमि समस्या समाधान समितिका संयोजक एवम् दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले दाङ जिल्लामा अब लालपुर्जा वितरणको अभियान सुरु भएको बताए । उनले शनिबारदेखि थप पुर्जा वितरणको अभियानलाई अघि बढाइएको जानकारी दिँदै देउखुरी क्षेत्रका विभिन्न स्थानमा रहेका भूमिहीन परिवारलाई क्रमशः लालपुर्जा वितरण गर्ने कार्यक्रम रहेको बताए ।
कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, उपाध्यक्ष शारदाकुमारी चौधरी, लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मनोजकुमार चौधरी, गढवा गाउँपालिकाका वडा अध्यक्ष तुलसीराम अधिकारीलगायतले भूमिहीन समस्या समाधानका लागि स्थानीय तह र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताएका थिए । कार्यक्रमको सहजीकरण लमही नगरपालिका भूमि शाखा प्रमुख प्रकाश भण्डारीले गरेका थिए । गत वर्ष लमही नगरपालिकाबाट २३ जनालाई लालपुर्जा वितरण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्