27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

कोहलपुरका अंग्रेजी भाषा शिक्षकहरुका लागि पेशागत क्षमता विकास तालिम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर १४, २०७७  

कोहलपुर/  बाँकेका अंग्रेजी भाषा शिक्षकहरुको पेशागत क्षमता विकासका लागि दुई दिने अभिमुखीकरण तालिम दिइएको छ । कोहलपुर क्षेत्रका सामुदायिक विद्यालयमा अंग्रेजी भाषा शिक्षण गराउँदै आइरहेको शिक्षकहरुको क्षमता विकास गर्न दुई दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको हो । तालिम नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) बाँकेको सहजीकरण तथा कोहलपुर नगर शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा कार्यक्रम मंसिर १२ र १३ गते कोहलपुरमा सञ्चालन गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा शिक्षकहरुको पेशागत क्षमता अभिवृद्धि गर्नका लागि शिक्षण विधि, पद्धति र त्यसमा प्रविधिको प्रयोग लगायतका बारेमा अभिमुखीकरण गरिएको थियो । समापन कार्यक्रममा बोल्दै नगर शिक्षा प्रमुख अनन्त कुमार पौड्यालले शिक्षकहरुको पेशागत क्षेमता विकासका लागि यस्ता कार्यक्रमहरुलाई निरन्तरदा दिनुपर्ने बताए । समय सापेक्ष नयाँ नयाँ शिक्षण विधि र प्रविधिको प्रयोग गर्दै शिक्षण कार्यलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने उनको धारण थियो ।

यस्तै शिक्षक महासंघ संघका अध्यक्ष रामप्रसाद चापागाइँले गुणस्तरीय र प्रविधियुक्त शिक्षा अहिलेको आवश्यकता रहेको बताउँदै सोही अनुसार शिक्षण गर्न शिक्षकहरुलाई आग्रह गरे ।  यसअघि शुक्रबार कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगर शिक्षा प्रमुख पौड्यालले सिकाई केन्द्र वास्तमा शिक्षकहरुको ज्ञानको स्रोत बन्दै गएकोप्रति खुसी व्यक्त गर्दै शिक्षकहरुलाई उत्साह प्रदान गरेका थिए । साथै त्रिमावि कोहलपुरमा रहेको श्रोत भवनलाई शिक्षक सिकाई केन्द्र बनाउने योजना रहेको बताए ।

कार्यक्रममा पुर्व सिँचाइ राज्यमन्त्री एवम् प्रभात मावि जी गाउँका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दल बहादुर सुनारले सिकाई गुणस्तरी बनाउन शिक्षक जागरुक हुनु पर्ने बताउँदै यस्ता खाले अभिमुखीकरण आगामी दिनहरुमा बैजनाथ गाउँपालिकामा पनि सञ्चालन गर्न नेल्टा बाँकेलाई आग्रह गरे । यस्तै नेल्टा बाँकेका अध्यक्ष होमराज खड्काले बर्तमान अवस्थामा अनलाइन सिकाइलाई जोड दिँदै शिक्षणमा लागू गर्न जरुरी रहेको बताए ।

नेल्टा बाँकेका उपाध्यक्ष एवम् राम मावि कोहलपुरका अंग्रेजी भाषा शिक्षक टर्क बहादुर खत्रीले कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षकहरुको पेशागत क्षेमता विकासमा जोड दिन आग्रह गरे । सिकाइ केन्द्रका प्रशिक्षक विशाखर जैसीले सञ्चालन गरेको अभिमुखीकरण तालिममा ५० भन्दा बढी शिक्षकहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रम कोहलपुरमा शुक्रबार र शनिबार दुई दिनसम्म चलेको थियो ।

 

प्रकाशित मितिः आइतवार, मंसिर १४, २०७७     4:28:46 PM  |