नेपालगन्जको यातायात व्यवस्थापन भद्रगोलः अनधिकृत बसपार्ककै पक्षमा नेपालगन्ज उपमहानगर



ई–रिक्सादेखि टेम्पोहरूसम्म सडकमै पार्किङ गरिँदा यात्रुहरूले बाटो पाउनै मुस्किल पर्ने गरेको छ । जसले गर्दा दुर्घटनाको जोखिम उच्च छ । त्यसैमाथि सवारीसाधनमा यात्रुहरू तान्न कर्मचारीहरू मुख्य सडकमै आएर ई–रिक्सामा झुण्डिने गरेका छन् ।यतिमात्रै होइन नेपालगन्जको पुष्पलाल चोकस्थित पर्यटकीयस्थल सुशील कोइराला वाटरपार्कको गेटमै सञ्चालन भइरहेको अनधिकृत बसपार्क पनि उपमहानगरले हटाउन सकेको छैन ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्जबाट बर्दियाको राजापुर जान लागेका बर्दियाका सुमित्रा थारू, उनकी हजुरआमालगायत आफन्तहरूसँग नेपालगन्जको धम्बोझी चोक नजिकै खजुरा रोडमा गाडीका कर्मचारीहरूबीच तानातान भयो । एउटा बसका कर्मचारीले धम्बोझी चोकबाट ई–रिक्सामा झुण्डिँदै ल्याइपु¥याएका उनीहरूलाई आफ्ना सेवाग्राही भएको बताउने कर्मचारीले अर्काे बसका कर्मचारीले झुक्याएर आफ्नोमा लगेको भन्दै आपत्ति जनाइरहेका थिए ।

यसरी गाडीहरूमा मान्छे तानातान गर्दै भरिने धम्बोझी नजिकैको सडक क्षेत्र कुनै बसपार्क भने होइन । यो त नेपालगन्ज–गुलरिया–राजापुर हुँदै कैलाली जोड्ने सडकमा गुड्ने गाडीका सञ्चालकहरूले कब्जा गरेर सडकलाई नै बसपार्कको रूपमा प्रयोग गरिरहेको अवस्था हो । उक्त क्षेत्रमा विभिन्न एक दर्जन बस व्यवसायी प्रालिहरूले आ–आफ्ना गाडीहरू पार्क गर्न जग्गा भाडामा लिएर बनाएका अनधिकृत बसपार्कहरू सञ्चालन गरिरहेका छन् ।

ती अनधिकृत बसपार्क सञ्चालन गर्ने यातायात व्यवसायीहरूले सडकमै यात्रु चढाउने र झार्नेसम्मको काम गरिरहेका हुन्छन् । यस्ता बसपार्कहरूले सडक यात्रुहरूलाई यात्रामा अव्यवस्था सिर्जना गरेका त छन् नै यात्रुहरूको सुरक्षामा समेत गम्भीर खतरा निम्त्याइरहेका छन् । सवारीसाधनका कर्मचारीहरूले यात्रुहरूलाई तानातान गर्दा झोला एकातिर र सामान अर्काेतिर हुने समस्या निम्तिरहेको हुन्छ । यात्रुहरूलाई झुक्याएर गाडीमा बसाउने र बाटोमा लगेर अलपत्र बनाइदिने गरेको भन्दै सवारीसाधनका कर्मचारीहरूले एकले अर्कालाई आरोप लगाइरहेका हुन्छन् ।

सवारीसाधनका कर्मचारीहरू सडकमै लडाइँ झगडामा उत्रिरहेका दृश्यहरू देखिनु सामान्य हो । केही दिनअघि यात्रुहरूकै विषयमा उत्पन्न विवादपछि कर्मचारीहरूबीच भएको लडाइँकै क्रममा एक कर्मचारीले अर्काे प्रालिको कर्मचारीलाई खुट्टामा हानेर घाइते बनाइदिएपछि उक्त मुद्दामा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । उक्त सडकमा ई–रिक्सादेखि टेम्पोहरूसम्म सडकमै पार्किङ गरिँदा यात्रुहरूले बाटो पाउनै मुस्किल पर्ने गरेको छ । जसले गर्दा दुर्घटनाको जोखिम उच्च छ ।

त्यसैमाथि सवारीसाधनमा यात्रुहरू तान्न कर्मचारीहरू मुख्य सडकमै आएर ई–रिक्सामा झुण्डिने गरेका छन् । जसलाई प्रहरीले देखे पनि नदेखेझैँ गरिरहेको हुन्छ । यतिमात्रै होइन नेपालगन्जको पुष्पलाल चोकस्थित पर्यटकीयस्थल सुशील कोइराला वाटरपार्कको गेटमै सञ्चालन भइरहेको अनधिकृत बसपार्क पनि उपमहानगरले हटाउन सकेको छैन । सडकमा हुने अव्यवस्था हटाउने खटिने ट्राफिक प्रहरी पनि आफूहरूले गाडी लखेटेर र चिट काटेर मात्रै समस्याको समाधान नहुने बताउँछ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक कनकबहादुर शाही सबैभन्दा पहिले उपमहानगरले बर्दियातर्फ जाने गाडीहरू बसपार्कबाट मात्रै छुट्नेगरी व्यवस्था गर्न अग्रसरता लिनुपर्ने र सबै सुरक्षा संयन्त्रले त्यसलाई सघाउनुपर्ने बताउँछन् । उनले आफूले अनधिकृत बसपार्क र पार्किङको व्यवस्थापनमा काम गर्ने नै अठोट लिएको बताउँदै कोहलपुरमा धेरै सुधार ल्याइएको दाबी गरे । तर, नेपालगन्जको समस्या समाधानका लागि उपमहानगरकै अग्रसरता आवश्यक रहेको उनले बताए ।

‘आफूलाई पायक पर्ने ठाउँमा बसपार्क हुनुपर्छ भन्ने कहीँ पनि हुँदैन । सवारीसाधनहरू मुख्य बसपार्कबाट छुट्नुपर्छ । नेपालगन्ज बसपार्कबाट छुटेर बर्दिया जाने गाडीहरू बाइपास, कारकाँदो हुँदै नन्दनी मिल निस्कने व्यवस्था गर्नुपर्छ । यसमा उपमहानगरपालिकाले अग्रसरता लिने र अरु सुरक्षा निकायले सघाउनुपर्छ,’ शाहीले मिसन टुडेसँग भने । तर ट्राफिक प्रहरीले पनि नेपालगन्जमा पार्किङका लागि तोकिएका स्थानको पालना गराउने सम्बन्धमा कडाइ गर्न सकेको छैन ।

सडक किनारमै अव्यवस्थित रूपमा सवारीसाधन पार्किङ हुनु नेपालगन्जमा दीर्घकालदेखिको समस्याको रूपमा रहेको छ । नेपालगन्जका चोकहरूमा खटिएको प्रहरीहरू पनि उक्त खण्डको अव्यवस्था हटाउन सक्रिय भएर खटेको देखिन्न । खटिएका प्रहरीहरू जति लखेटेपनि उक्त क्षेत्रको जाम र अव्यवस्था हटाउन नसकिने गरेको भन्दै लाचारी प्रकट गर्छन् । ‘के गर्नु सर यताबाट लखेट्यो उता गएर बस्छन् ।

उताबाट हटाउन गयो फेरि यही ठाउँमा आएर थुप्रो लागिसकेको हुन्छ,’ हातमा सानो चिर्पट समातेर ई–रिक्सा चालकहरूलाई रिक्सा नरोक्न भनेर हप्काइरहेका एक प्रहरी जवानले भने । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी पनि प्रहरीले धपाएर मात्रै उक्त सडकखण्डको अव्यवस्था हटाउन नसकिने बताउँछन् । उनले केही महिनाअघि उक्त सडकको अव्यवस्था हटाउने सम्बन्धमा भएको एक बैठकमा आफूले स्पष्टसँग उक्त बसपार्क हटाउन प्रहरी सहयोग गर्न तयार रहेको कुरा राखेको बताए ।

‘मैले बैठकमा भनेको थिएँ । यो यदि कानुन र उपमहानगरको नीतिविपरीत सञ्चालन भइरहेका बसपार्क हुन् भने बैठक गरेर नबसौँ, एक्सनमा जाऔँ । तपाईँहरू (उपमहानगरका जनप्रतिनिधि) अघि लाग्नुस् भनेर भनेको थिएँ । तर, उहाँहरू तयार हुनुभएन । उपमहानगरले भन्छ भने हामी अहिलेपनि ती बसपार्कहरू हटाउन सहयोग गर्न रेडी छौँ,’ एसपी जिसीले भने । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ पनि अनधिकृत बसपार्कबारे आफूकहाँ पनि सुरक्षा संयन्त्रबाट कुरा आएको र उपमहानगरले यातायात व्यवस्थापनमा लिने पहलमा सहयोग गर्न तयार रहेको बताउँछन् ।

यतिमात्रै होइन अनधिकृत रूपमा बसपार्क सञ्चालन गरिरहेका यातायात व्यवसायीहरू पनि आफूहरू उपयुक्त विकल्प दिएमा आफूहरू सुधारका लागि साथ दिन तयार रहेको बताउँछन् । अनधिकृत बसपार्क सञ्चालन गरिरहेको कोटही यातायात प्रालिका एक कर्मचारीले भने, ‘यस्तो अव्यवस्थित हुँदा हामीलाई पनि घाटा छ । हामीले पनि महिनाको लाख रूपैयाँसम्म भाडा तिर्नुपरेको छ । सबैभन्दा राम्रो यही सडक छेउछाउमा अर्काे सानो बसपार्क बनाउने नभए सबैले ठूलो बसपार्कबाट छुट्ने व्यवस्था बनाउने । तर यहाँ त एउटाले मान्ने अर्काे नमान्ने अनि प्रशासन पनि टुलुटुलु हेर्ने हुन्छ । त्यस्तो भयो भने काम हुँदैन ।’

यसरी समस्याको समाधानका लागि सबैले जिम्मेवार देखेको नेपालगन्ज उपमहानगरपालिका भने यो समस्यामा आँखा चिम्लेर बसिरहेको छ । उपमहानगरले नेपालगन्ज वडा नम्बर ४ मा बनेको मुख्य बसपार्कबाट मात्रै सवारीसाधन छुट्नुपर्ने भन्ने तर अनधिकृत बसपार्कहरू हटाउने सम्बन्धमा कुनै पहलकदमी नलिने गरेर दोहोरो भूमिका खेलिरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले अबको ६ महिना अनधिकृत बसपार्कसहित नगरको व्यवस्थापनको धेरै कामहरू स्पष्ट रूपमा महसुस हुनेगरी गरिन लागेको दाबी गरे । उनले भने, ‘मेयर साबको तदारुकता र लगाव बढिरहेको सबैले महसुस गरेका छन् । चाँडै त भन्दैनौँ अबको ६ महिनाभित्र यस्ता बसपार्क र नगरको व्यवस्थापनमा देखिएका समस्याहरू समाधान गर्ने भनेर हामीहरू लागिरहेका छौँ ।’

नगर प्रहरीलाई बनाइयो पंगु 

‘नगर प्रहरी त आउँछ । तर हेर्छ जान्छ । यहीँ ठेलाहरू राखेका हुन्छन्, ई–रिक्सा जहाँतहीँ रोकिराखेका हुन्छन् । यहीँ नजिकै कोहलपुरमा यस्तो छैन । त्यहाँ सडकमा ई–रिक्सा रोक्यो कि नगर प्रहरीले लखेटिहाल्छ,’ नेपालगन्जको धम्बोझी चोकका एक व्यापारीले भने । नेपालगन्जको सडकमा आधा सडक ढाकेर गाडी पार्किङ गरिनु, मध्यसडकमा ठेला राखेर व्यपार गरिनु, फुटपाथ अतिक्रमण गरी पसलका सामग्रीहरू राखिनु सामान्यजस्तै छ ।

दुर्घटनाको जोखिम हुनेगरी सडक अव्यवस्थित हुँदा पनि नगर प्रहरी टुलुटुलु हेरिरहने गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा १९ जनाकोे नगर प्रहरी टोली छ । तर उक्त नगर प्रहरी टोली नगरको व्यवस्थापनमा प्रयोग हुन नसकेको नगरवासीहरू बताउँछन् । उनीहरू दुःख दिने काममा प्रयोग हुने तर व्यवस्थापनमा प्रयोग नहुने नगर प्रहरीको औचित्यमाथि पनि प्रश्न उठाउन थालेका छन् । हुनपनि नेपालगन्जमा आक्कलझुक्कलबाहेक नगर प्रहरीको सक्रियता देखिने गरेको छैन ।

नगर प्रहरी इन्चार्ज सूर्य बोगटी आफूहरूलाई जहाँ र जसरी परिचालन गरिन्छ त्यही अनुसारको भूमिका निभाउने गरेको भन्दै पन्छिन्छन् ।उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले जेनजी आन्दोलनलाई नगर प्रहरी परिचालन प्रभावकारी नहुनुको कारणको रूपमा देखाए । तर नगर प्रहरीको सुस्तता लामो समयदेखिको हो । शर्माले भने, ‘नगर प्रहरी परिचालन नै गर्न सकिएन भन्ने कुरा चाहीँ म मान्दिनँ । तर प्रभावकारी हुन नसकेको होला । जेनजी आन्दोलनपछि सबै साधनहरू जलेको अवस्था थियो । अहिले एउटा पुरानो गाडी र पोशाकको व्यवस्था मिलाएका छौँ । अब अझै व्यवस्थित तरिकाले परिचालन होला ।’

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ७ गते सोमबार