कोहलपुर, १५ मंसिर/ बैजनाथ गाउँपालिका–६ सम्झनामा रहेको एभरेष्ट सहकारी संस्था लिमिटेडको १०औं साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
सभाको राष्ट्रिय सहकारी विकास वोर्डका सह–अध्यक्ष दक्ष पौडेलले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले नेपालको सहकारी आन्दोलन व्यावसायिक आन्दोलन हुँदै गएको बताउँदै सहकारीमा आवद्ध शेयर सदस्यहरुले आफूले कल्पना गरेको सुखी वीवन निर्वाहको लागि इमान्दारीपूर्वक सहकारी अभियानमा लाग्नु पर्ने सुझाव दिए ।
त्यस्तै सभाका विशिष्ठ अतिथि बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले बैजनाथ गाउँपालिकामा कृषि प्राविधिक शिक्षालय निमार्ण गर्ने प्रतिवद्धता व्यक्त गरे । बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले आफूले सिकेका सीपहरु प्रयोग गर्दै एभरेष्ट सहकारीलाई अन्यत्रबाट अवलोकन गर्न आउने सहकारीको रुपमा स्थापित गर्नुपर्ने बताइन् ।
पूर्व सिँचाइ राज्यमन्त्री दलबहादुर सुनारले सहकारीलाई जिल्लाकै नमूना सहकारी बनाउन पहल गर्ने बताए । पूर्व सभासद आशा विकले महिलाहरुसँग धेरै जिम्मेवारीहरु भएको हुँदा सहकारीबाट दिएको ऋण सही सदुपयोग गर्नुपर्ने बताइन् । सहकारीको भवन निर्माणमा विशेष सहयोग गरेको भन्दै सहकारीले पूर्व सिँचाइ राज्यमन्त्री दलबहादुर सुनार तथा पूर्व सभासद आशा विकलाई सम्मानपत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।
त्यस्तै सो कार्यक्रममा संस्थाको उत्कृष्ट ऋणी जुद्धबहादुर मगर, मनबहादुर खत्री, मनसरा बस्नेत, उत्कृष्ट बचततर्फ अनिता चौधरी, काली बुढा, जेष्ठ नागरिक बेलमति थापा, तुलसी खत्री र संस्थाका व्यवस्थापक माधव प्रसाद रिजाललाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो ।
संस्थाले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कुनै पनि शेयर सदस्यको मृत्यू भएमा मृत्यू संस्कार खर्च रु १० हजार, जेष्ठ नागरिक सम्मान वार्षिक प्रतिव्यक्ति रु २ हजार, असाहय अपाङ्ग सहायता वार्षिक प्रतिव्यक्ति रु १ हजार ५ सय, सुत्केरी पोषण खर्च रु १ हजार ५ सय र गरिब तथा जेहेन्दार उत्कृष्ट छात्रछात्रालाई प्राविधिक शिक्षाका लागि रु १० हजार सहयोग उपलब्ध गराउने जानकारी गराइएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका प्रमुख सागर अधिकारी, जिल्ला कृषि सहकारी संघ बाँकेकी अध्यक्ष एकता शाह, बैजनाथ सहकारी सञ्जालका अध्यक्ष जगत विसी, सहकारी विकास बैंक कोहलपुरका प्रमुख सुजन ददेल, इन्रुडेकका अध्यक्ष धर्म रोकाय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सञ्चालक समितिका सदस्य भद्र बहादुर बस्नेतले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संस्थाका अध्यक्ष देब बहादुर खत्रीको सभापतित्वमा समापन भएको थियो ।









प्रतिक्रिया दिनुहोस्