शेरबहादुर ऐर । कैलाली ।
कैलाली जिल्लाको प्रशासनिक केन्द्रका रूपमा परिचित धनगढीमा अवस्थित नापी तथा मालपोत कार्यालय प्रदेशकै अत्यन्त व्यस्त कार्यालयको सूचीमा पर्दछ । दैनिकरूपमा हजारौँ सेवाग्राही पुग्ने यो क्षेत्र हाल पार्किङ व्यवस्थापन अभावका कारण तीव्र अव्यवस्थित र असहज बन्दै गएको छ । कार्यालयभित्र पर्याप्त स्थान नहुँदा र रहेको स्थानमा पनि व्यवस्थित योजना नअपनाइँदा सवारीसाधन सडकमै थुप्रिने अवस्था सिर्जना भएको छ । यसका कारण स्थानीय बासिन्दादेखि कार्यालय धाउने सेवाग्राहीसम्म सबैलाई दिनहुँजसो यातायात अवरोध, भिडभाड र दुर्घटनाको जोखिम झेल्नुपरेको छ ।
धनगढीको सहर योजना र प्रशासनिक संरचना पछिल्लो दशकमा उल्लेखनीयरूपमा विस्तार भए पनि पार्किङ र सवारी व्यवस्थापन तोकिएको गतिमा अघि बढ्न सकेको छैन । विशेषतः नापी तथा मालपोत कार्यालय क्षेत्रमा यसले गम्भीर रुप लिन थालेको छ, जसले स्थानीय जीवनशैली र सेवा प्रवाह दुवै प्रभावित पारेको छ । नापी र मालपोत कार्यालय परिसर ठूलो देखिन्छ तर सेवाग्राहीको दैनिक आगमनसँग तुलना गर्दा पार्किङको क्षमता अत्यन्त न्यून रहेको स्थानीयहरू बताउँछन् ।
कार्यालयभित्र केही मोटरसाइकल र केही चारपाङ्ग्रे सवारी अटाए पनि बिहान १० बजेसम्म पुग्दा नै सबै स्थान भरिन्छ । त्यसपछि आउने सेवाग्राहीहरूलाई सवारी राख्ने कुनै औपचारिक ठाउँ हुँदैन, जसले सडकको दायाँ–बायाँ पार्किङ गर्न बाध्य बनाउँछ । एकैपटक सयौँ मोटरसाइकल सडक छेउ थुप्रिँदा पैदलयात्री, साइकल चालक, यात्रु र सार्वजनिक सवारी सबै प्रभावित हुने गरेका छन् । धनगढी उपमहानगरपालिका–६ का बासिन्दा प्रेमपति फुलारा भन्छन्, ‘जथाभावी सवारी राख्दा बाटो साँघुरो हुन्छ ।
हिँड्न पनि नसक्ने अवस्था हुन्छ । कार्यालय त एउटै हो, तर सेवाग्राहीको भिड दिनदिनै बढ्दै गएको छ । व्यवस्थापन नभएपछि स्थानीयलाई नै सास्ती परेको छ ।’ कार्यालयभित्रको संरचनामा सुधार गर्न सकिने सम्भावना स्थानीयहरू बताउँछन् । खाली रहेको पछाडिको भाग उपयोग, एकतले पुराना कक्षहरूलाई बहुउद्देश्यीय स्थानमा रूपान्तरण, वा अस्थायी पार्किङ ढाँचा निर्माण गर्नुपर्ने उनीहरूको भनाइ भनाइ छ, तर अहिलेसम्म यस्ता पहल औपचारिकरूपमा अगाडि बढिसकेको देखिँदैन् ।
कार्यालय क्षेत्रको सडकले धनगढीको मुख्य बजार तथा पूर्व–पश्चिम आवतजावतलाई जोड्ने भएकाले यसमा सवारीको चाप कहिल्यै कम हुँदैन । त्यसमा पनि नापी र मालपोत कार्यालय जाने सेवाग्राहीको आवागमन जोडिँदा सडक प्रायः दिनभर भरिभराउ बन्ने गरेको छ । स्थानीय प्रेम सिंह महरा भन्छन्, ‘सवारी राख्ने ठाउँ छ भन्ने सुनेका छौँ, तर व्यवस्थापन नै छैन । ठाउँले प्रयोग नपाएको जस्तो देखिन्छ । बिहानदेखि बेलुकीसम्म सडकभर मोटरसाइकलै मोटरसाइकल हुन्छ । पैदलयात्री किनारै खोजेर हिँड्नुपर्छ । कहिले दुर्घटना हुन्छ कि भन्ने डर छ ।’
पार्किङ समस्या केवल सेवाग्राहीकै कारण नभई क्षेत्रीय व्यापार र आवतजावतका कारण पनि बढेको हो । आसपासका पसल, लेखापढी व्यवसायी, नक्सा नवीकरणसम्बन्धी कार्यालय, नापीसम्बन्धी दलाल समूह, तथा त्यहाँका नियमित आवागमनकर्ताहरू सबैले सडक प्रयोग गर्ने हुँदा अव्यवस्था दह्रो बनेको छ । स्थानीय तथा लेखापढी व्यवसाय संघका कार्यवाहक अध्यक्ष प्रेम चन्दका अनुसार पछिल्ला महिनाहरूमा कित्ताकाट खुल्नासाथ सेवाग्राहीको संख्या दोब्बर भएको छ । ‘कित्ताकाट खुल्यो भने त गाउँ–गाउँबाट मान्छे आउँछन् ।
नापी, मालपोत, बैंक, लेखापढी सबैमा लाइन लाग्छ । सेवाग्राहीहरूको यस्तो भिड हुँदा पार्किङ व्यवस्थापनमा समस्या आउनु स्वाभाविक नै हो,’ उनले भने । उनको सुझावअनुसार कार्यालय वरपर रहेका खाली जग्गाहरूको पहिचान गरी अस्थायी पार्किङका रूपमा उपयोग गर्न सकिन्छ । कार्यालयको दक्षिणतिर रहेको खाली क्षेत्र, उपमहानगरपालिकाको सामुदायिक भवन पछाडिको भाग, तथा निजी जमिन भाडामा लिएर पार्किङ सञ्चालन गर्न सकिने सम्भावनाहरू पनि छन् ।
तर यसका लागि दुईवटै कार्यालयअन्तर्गतका अधिकारी, उपमहानगरपालिका, ट्राफिक प्रहरी तथा स्थानीय संघ–संस्थाको सहकार्य आवश्यक हुन्छ । अहिलेसम्म यस्तो बहुपक्षीय सहकार्य औपचारिकरूपमा सुरु नभएकाले समस्या जस्तातस्तै छ । मालपोत अधिकृत तथा सूचना अधिकारी दिलाराज भाटले समस्या वास्तविक रहेको स्वीकार गर्छन् । उनी भन्छन्, ‘सेवाग्राहीको चाप हरेक वर्ष बढ्दै गएको छ । पार्किङको समस्या हामीलाई थाहा छ । धनगढी उपमहानगरपालिकासँग समन्वय गरेर व्यवस्थापनतर्फ अघि बढ्दैछौँ, तर बजेट अभावले ढिलाइ भएको छ।’
सरकारी कार्यालयहरूमा बजेट विनियोजन वार्षिक योजनाका आधारमा हुने भएकाले आकस्मिक भिडका समस्यालाई तत्काल समाधान गर्न कठिनाइ हुने भाटले बताए । उनले भने, उपमहानगरपालिकाले सम्भावित वैकल्पिक स्थानहरू पहिचान गर्न सहयोग गर्नेछ ।’ धनगढी उपमहानगरपालिकाले शहरका विभिन्न स्थानमा पार्किङ नीति विस्तार गर्ने घोषणा गरे पनि नापी–मालपोत कार्यालय क्षेत्र त्यसको प्राथमिकतामा परेको देखिँदैन् । ट्राफिक प्रहरीका अनुसार सडकमा जथाभावी पार्किङ गरिएको अवस्थामा कारबाही गर्न सकिने भए पनि सेवाग्राहीको भिड, पुरानो सडक संरचना र विकल्पको अभावका कारण कडाइ गर्न गाह्रो हुने गरेको छ ।
‘पार्किङ नभएको ठाउँमा कारबाही गर्ने हो भने सेवाग्राही नै एजेन्ट अनि स्थानीय दुवै आक्रोशित हुन्छन् । विकल्प दिन सकिएन भने मात्र कारबाही गर्न पनि सम्भव हुँदैन’ कैलाली जिल्ला ट्राफिक प्र्रमुख चक्र देउवाले भने, ‘यसले व्यवस्थापनको जिम्मेवारी संस्थागतरूपमा अस्पष्ट रहेको देखाउँछ । कार्यालयले सुरक्षा पूर्वाधार बनाउन सकेको छैन, नगरपालिकाले पार्किङ संरचना निर्माण अघि बढाउन सकेको छैन र ट्राफिक प्रहरीले विकल्प नदिई कडाइ गर्न सक्दैन ।’
दैनिक जीवनमा प्रभावः पैदलयात्री सबैभन्दा पीडित
कार्यालय क्षेत्रमा सर्वाधिक समस्या पैदलयात्री र विद्यार्थीहरूले भोगिरहेका छन् । सडक साँघुरो हुँदा मोटरसाइकल पार्किङले करिब ३०–४० प्रतिशत बाटो नै घेर्छ । बाँकी भागमा चारपाङ्ग्रे सवारी तथा विद्युतीय रिक्साहरू चल्दा पैदलयात्रीलाई सर्ने ठाउँ नै हुँदैन । स्थानीय व्यापारी राम चौधरी भन्छन्, ‘बेलुकीपख कार्यालय बन्द हुँदा मात्रै बाटो खुल्छ । बिहान १० देखि साँझ ५ बजेसम्म त यो सडक पैदल हिँड्नेका लागि जोखिमपूर्ण हुन्छ ।’ वृद्ध–वृद्धा, अपांगता भएका व्यक्तिहरू तथा साना बालबालिकासहित हिँड्ने अभिभावकका लागि यो झनै कष्टकर छ ।









प्रतिक्रिया दिनुहोस्