टोल चिटिक्क पार्दै आमा र युवा



सुदीप अधिकारी । बर्दिया ।

टोलको सडक चिटिक्क छ । सडकमा कहीँ कतै प्लाष्टिक, कागजका टुक्रालगाएतका फोहर बस्तु देखिदैन । सडकको दायाँबाँया बासलाई रंगाएर छेकवार लगाइएको छ । सय सय मिटरको दुरीमा फोहर संकलन गर्ने रिङ राखिएको छ । यो सडक भएर हिड्नेहरु सडकको सफाई देखेर प्रशंसा नगर्ने कोही हुँदैन । यो चिटिक्क पारिएको सडक बासगढी नगरपालिका– ७ को बसन्तपुर टोलको हो । सडक र टोललाई चिटिक्क पार्ने अभियानमा त्यहाँका महिला विकास आमा समूह र युवाहरु जुटेका हुन् ।

आमा समूह र युवाहरुको सक्रियतामा अहिले गाउँको रुप नै फेरिएको छ । विगतमा सडकमा छरपस्ट देखिने फोहर अहिले खोज्दा पनि भेटिदैन । हरेक दिन विहान र साझ त्यहाका आमा र युवाहरुले सडक र टोल सफा गर्छन् । सडकमा भेटिएको फोहर सडक छेवैँमा राखिएको रिङमा संकलन गर्छन् । जैविक र अजैविक फोहर छुट्याएर त्यसको व्यवस्थापन गर्छन् । टोलका आमा र युवाहरुको सफाई अभियानमा बासगढी नगरपालिकाले पनि साथ दिएको छ ।

नगरपालिकाले फोहर संकलन गर्ने रिङ उपलब्ध गराएको छ । त्यो बाटो भएर हिड्ने कसैले बाटोमा फोहर फाल्यो कि भनेर त्यहाका युवाहरुले निगरानी गर्छन् । सुरुसुरुमा यो बाटो भएर हिड्नेलाई फोहर नफाल्नु होला भनेर अनुरोध गर्नु परे पनि अहिले भने कसैलाई भन्नु नपरेको स्थानिय युवाहरु बताउँछन् । सडकको सुन्दरता देखेर होला अचेल कसैले पनि यो सडकमा फोहर नफाल्ने गरेको स्थानिय युवा अनुप काफ्लले बताए । फोहरमैलाले गाउँबस्तीलाई कुरुप बनाउँछ, दुर्गन्ध फैलाउँछ र रोग निम्त्याउँछ भन्ने कुरा यहाँका टोलबासीले राम्ररी बुझेको हुँदा सफाई अभियान सफल भएको स्थानिय युवा बताउँछन् ।

‘सरसफाईको महत्व टोलबासी सबैले बुझेका छन् । त्यसैले घर, आँगन र सडक सफाई अभियानमा जुटेका हौँ,’ स्थानिय युवा राजन न्यौपानेले बताए । सफाई अभियानले टोल पनि सफा र सुन्दर देखिएको छ । भने अन्य टोलबासीलाई पनि सिकाई भएको स्थानिय युवा बताउँछन् । सबै टोलबासी मिले गाउँको मुहार फेर्न सकिन्छ भन्ने उदाहरण यहाँका आमा र युवाहरुले दिएको स्थानियबासी बताउँछन् । यो सरसफाई अभियानलाई निरन्तरता दिन युवाहरु पछाडि नहट्ने स्थानिय युवा राजन न्यौपानेले प्रतिवद्धता सुनाए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ३० गते शुक्रबार