बाँके ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले बदलिँदो समय र प्रविधिको विकाससँगै पार्टीका गतिविधिलाई डिजिटल प्रविधिसँग जोड्न नसके संगठन कमजोर हुने बताएका छन् । नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिले शुक्रबार कोहलपुरमा आयोजना गरेको डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श कार्यक्रममा बोल्दै उनले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउनु अहिलेको आवश्यकता भएको बताए ।
पार्टीका गतिविधि, संगठनात्मक संरचना तथा चुनावी अभियानलाई डिजिटल माध्यमसँग जोड्न सके मात्रै बदलिँदो राजनीतिक परिवेशमा प्रभावकारी रूपमा अघि बढ्न सकिने उनको भनाइ थियो । केन्द्रीय समितिले काँग्रेसलाई प्रविधिमैत्री संगठनका रूपमा विकास गर्ने निर्णय गरेअनुसार आफू परामर्शका लागि बाँके आएको उनले जानकारी दिए । पार्टीका तल्लो तहसम्म डिजिटल प्रविधिको प्रयोग र त्यसको प्रभावबारे जानकारी पु¥याउन आवश्यक रहेको उल्लेख गर्दै उनले प्रविधिको सही सदुपयोग गर्न कार्यकर्ताहरूलाई आग्रह गरे ।
उनले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा समेत डिजिटल प्रविधिको प्रयोगले चुनावी परिणाममा प्रभाव पारेको दाबी गरे । सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र अल्गोरिदमको प्रयोगमार्फत मतदाताको धारणा प्रभावित पार्ने काम भएको उनको भनाइ थियो । प्रविधिको प्रयोगलाई केवल प्रचारप्रसारमा मात्र सीमित नराखी यसको प्रभाव, सम्भावना र चुनौतीबारे पनि कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पार्टीलाई डिजिटल प्रविधिसँग जोड्नु अपरिहार्य भइसकेको बताए । प्रविधिको दुरुपयोग गरेर काँग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति सचेत रहन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । पार्टीका हरेक गतिविधि सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न र सकारात्मक सन्देश प्रवाह गर्न पनि उनले सुझाव दिए ।
आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीका गतिविधिलाई कसरी प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने विषयमा छलफल र परामर्श गर्न कार्यक्रम आयोजना गरिएको गौडेलले बताए । निर्वाचनका बेला मात्रै नभई नियमित रूपमा पनि डिजिटल माध्यमको प्रभावकारी उपयोग गर्नुपर्नेमा उनले जोड दिए । काँग्रेस बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति पूर्णप्रसाद आचार्यले डिजिटल प्रविधिको प्रयोगले पार्टीका गतिविधिलाई थप चलायमान र प्रभावकारी बनाउन सकिने बताए ।
प्रविधिको सही प्रयोग गर्न सबै तहका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने उल्लेख गर्दै उनले युवालाई पार्टीसँग जोड्ने अभियानका रूपमा पनि डिजिटल प्रविधिको प्रयोगलाई अघि बढाउनुपर्ने धारणा राखे । नगर सभापति वीरेन्द्रकुमार शाहको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, काँग्रेस बाँकेका सचिव सञ्जु कुमारी थारू, क्षेत्र नं. १ का निवर्तमान क्षेत्रीय सभापति पोषण केसीलगायतले सूचना तथा प्रविधिको युगमा पार्टीका गतिविधि डिजिटल माध्यमसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका थिए ।









प्रतिक्रिया दिनुहोस्