सन्दर्भ लक्ष्मी जयन्तीः चर्चा कार्यक्रमभित्रका कुराहरू



नरेन्द्रजंग पिटर

नेपालगन्जमा पनि महेन्द्र पुस्तकालयले लक्ष्मीपूजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झियो । मिथकअनुसार लक्ष्मी र सरस्वती सौता हुन् अरे । हुन पनि ज्ञान र शक्तिबीचको आँकडा उल्टो हुन्छ । म महाकवि र कार्यक्रमबारे नै केन्द्रित हुन्छु । कार्यक्रममा देवकोटालाई आ–आफ्ना मूल्य, मान्यता, विश्वास र आदर्शअनुसार व्याख्या गरिए । मरेको मान्छेले पनि वर्तमानमा बकपत्र दिनुपर्ने रहेछ । भाष्यकारहरू व्याख्याताभन्दा आफ्ना आस्थाअनुसार इतिहास वा व्यक्तित्व पनि भइदिऊन् भन्ने चाहन्छन् । उनका नामबाट आफ्ना विश्वास प्रमाणित गर्न चाहान्छन । त्यो दिन पनि त्यस्तै देखियो । १) के कविले चन्द्रशमशेर र सत्ताका प्रशस्ति गाएर जीविका धानेकै हुँन ? कवि र सत्ताको सम्बन्ध के हुन्छ ? २) के उनको धार्मिक विश्वास फेरेको प्रमाण आर्यघाटमा लेखिएको “आखिरमा रहेछ श्रीकृष्ण एक, न भक्ति भो न भो विवेक” भन्ने अन्तिम कवितालाई आधार मान्न सकिन्छ ? क्यान्सरको पीडा असह्य हुन्छ । विवेकभन्दा आवेग हाबी हुन्छ । पीडालाई शान्त पार्न मर्फिन, प्याथेडिनले नसकेपछि ऊ जीवनलाई भन्दा मृत्यु रोज्छ । मेरा मित्र एकराज सिलवाल, सूर्य श्रेष्ठ र गोपाल शर्माको मृत्यु मैले देखे–भोगेको छु । बम्बई टाटा क्यान्सर अस्पतालमा उपचारक्रम सम्झना आउँछ । असहिय पीडामा छटपटाएपछि अन्तिम क्षणमा विष खोजेर इहलीला समाप्त पार्न चाहन्छन् । त्यसैले यस्तो समय स्वेक्षिक मृत्यु आवस्यक भएको हो । संसारमा केही देशमा स्वीकार पनि गरिएको छ । कविजीले पनि अन्तिम पत्रमा मित्र हरि श्रेष्ठलाई पोटासियम साइनाइड खोजेको प्रसङ्ग बिर्सन मिल्दैन । अनि त्यसै बेला अर्थात् २०१६ सालको भदौ ४ गते देवकोटाले हरि श्रेष्ठलाई एउटा चिठी पनि लेखेका थिए—

हरि श्रेष्ठज्यू,
मेरो अगाडि मृत्युको भयङ्कर रूप खडा भइसकेको छ । अहिले कृत्रिम शरीर धारण गर्दै छु । आकाशका तारामण्डल छुन खोज्छु, सक्तिनँ । मैले आफूलाई शान्ति दिन सकिनँ । म उठ्न सके आफैँ पनि आत्महत्या गर्ने थिएँ । म यस दुनियाँलाई बोझ र चिन्ता दिन चाहन्नँ । अरूले मलाई बुद्धिजीवी भने तापनि म आफ्नो निमित्त मूर्ख भएँ, अन्धो भएँ । म त्यो ज्योतितिर ढल्कन खोज्छु, तर अन्धकारले मलाई बोलाइरहन्छ । म यो असह्य वेदना खप्न सक्तिनँ । पोटासियम साइनाइड कसैले दिए म उसलाई आफ्नो जीवनको सच्चा साथी सम्झने थिएँ । म अपराधी हुँ, त्यसैले म अपराध मेट्न चाहन्छु । म बिलीन हुन चाहन्छु, मरुभूमिमा एक जलकण झैँ । अब कसैले मलाई नचिनून् ।

एक साथी लक्ष्मीप्रसाद देवकोटा त्यसै छटपटाहटमा उक्त कविता लेखियो । त्यस्तो अवस्थाको कवितालाई आधार मानेर कविको मूल्याङ्कन गर्नु गलत मात्रै नभई अपराध पनि ठहरिन्छ । कवि आस्तिक वा नास्तिक नभई मानवतावादी हुन् । मानवतावादी दृष्टिकोण भनेको प्रगतिशील हुन्छ । रूढिवाद र अन्धविश्वास विरोधी हुन्छ । उनी क्रूर राणा शासनकालमा जन्मे, हुर्के, साहित्य साधना गरे । त्यसैकारण नै उनलाई सत्ताभक्त भन्नु नवबौद्धिक चाकरकर्मबाहेक अरू केही हुँदैन । कुन विषयलाई सौन्दर्यीकरण वा वीभत्सीकरण गर्ने भनेको भाष्यकारको पक्षधरताले निर्धारण गर्छ । यसै वहानामा अब हामी मान्छे र नयाँ मान्छेबारे चर्चा गरौँ । मानिसको जीवनमा अध्ययन, अनुसन्धान, ज्ञान र सूचनाले पार्ने गहिरो प्रभावलाई बेवास्ता गर्नै सकिँदैन । मानिस जडतामा होइन, नित्य नयाँ भइरहने प्राणी हो । विश्वास पनि जन्मन्छन्, परिमार्जित हुन्छन्, भत्किएर फेरिन पनि सक्छन् । जसरी नदी अर्को पटक तर्न सकिँदैन— छिचोलेको जँघारको पानी बगिसकेको हुन्छ । त्यस्तै हिजोको मान्छे भोलि अर्कै भइसकेको पनि हुन्छ । एउटौ मात्र घटना र प्रसङ्गले उसको समग्र मूल्याङ्कन गर्न सकिँदैन ।

जीवन त सूत्रमा चल्दैन । त्यसलाई प्रभाव पार्ने परिवेश, सङ्गत, भूमिका, परिवार, जेनेटिक प्रभाव, राज्य व्यवस्थाका असरले व्यक्तित्वमा प्रभाव पारेर चिन्तनमा असर पारिरहेको हुन्छ । अंशमा टेकेर समग्र मूल्याङ्कन हुन सक्दैन । यदि त्यसो गरिन्छ भने त्यो बौद्धिक अपराध ठहरिन्छ । नयाँ कुरा सिक्दै जाँदा संसारलाई हेर्ने दृष्टिकोण पनि फेरिन्छन् । पहिले गलत ठानेको कुरा सही लाग्दा पहिले सही मानेको कुरा गलत प्रमाणित हुन पुग्छ । अध्ययन र अनुसन्धानले पुराना मान्यता, अन्धविश्वास र सीमित सोचको घेरा ध्वस्त हुन्छन् । ज्ञान केवल सूचना सङ्कलन मात्रै नभई सोच र चेतनाको विकास गर्ने प्रक्रिया पनि हो । आजको संसार तीव्र गतिमा परिवर्तन भइरहेको छ । विज्ञान, प्रविधि, राजनीति, अर्थतन्त्र, शिक्षा र समाजका हरेक क्षेत्रमा नयाँ खोज तथा आविष्कार भइरहेका छन् । नयाँ जानकारी मानिससम्म पुरÞ्याउने मात्रै नभएर ती सूचनाको अध्ययन, विश्लेषण र प्रयोगबाट मानिसले आफ्नो ज्ञान तथा व्यवहारलाई समयअनुकूल बनाउँछ । विचार, धारणा, विश्वास र सामाजिक चेतना निर्माण गर्ने माध्यम पनि मिडिया नै हो । कसले के सुन्छ, के पढ्छ र के देख्छ भन्ने कुराले सोचाइ र निर्णय क्षमतामा यसले प्रभाव पार्छ । यस अर्थमा मिडियाले नयाँ विचार र नयाँ सम्भावना चिनाउँछ । मानिसको पहिचान स्थिर हुँदैन । उसले प्राप्त गर्ने नयाँ अनुभव, ज्ञान र सूचनाका आधारमा आफूलाई निरन्तर परिमार्जन गरिरहेको हुन्छ । हिजोको र आजको मानिसको सोचाइमा फरक हुने हुँदा आज सिकेको कुराले भोलिको व्यवहार निर्धारण गर्छ । व्यक्तित्व निर्माण एउटा निरन्तर चलिरहने प्रक्रिया हो । यसबारे सुन्दर प्राज्ञिक व्याख्या क्यानेडियन मिडिया दार्शनिक म्याकलुहनले गरेका छन् ।

लक्ष्मी जयन्तीकै व्याख्याताका चर्चा गर्दाः पक्षधरताका आधारमा गरिएका व्याख्या र विवेचन पनि अंशमा गरिने खेल रहे । सबै प्राप्त सन्दर्भ र सूचना सत्य र उपयोगी हुन्छन् भन्ने हुँदैन । गलत सूचना, भ्रम, प्रचार र पूर्वाग्रहले सोचलाई नकारात्मक दिशा दिन्छ । त्यसैले सन्दर्भ जस्ताको तस्तै स्वीकार गर्नुको सट्टा त्यसको सत्यता जाँच्ने, विश्लेषण गर्ने र विवेकपूर्ण ढङ्गले प्रयोग गर्ने प्राज्ञिक क्षमतामा निर्भर हुनेहुँदा यही क्षमताले मात्र भाष्यकारहरूलाई सचेत, जिम्मेवार र विवेकशील बनाउँछ ।
अर्को पक्ष रह्योः कार्यक्रमको ब्यानरमा ’बहुभाषिक कवि गोष्ठी’ भनिएको थियो । सम्भवतः बहुभाषिक कवि गोष्ठीको प्रथम श्रेय प्रयास समूहलाई जान्छ । ५० को दशकमा नारायणी स्कुलको प्राङ्गणमा भएको पहिलो बहुभाषिक गोष्ठी माइलस्टोन थियो । “इतिहास न मुर्दाको कथा हो, न चिहानघारीको यात्रा” दोहोरÞ्याइरहनै पर्दैन । जहाँ जुन भाषाका समाज हुन्छ्, त्यहाँ उनीहरूका संस्कृति, संस्कार र साहित्य हुन्छन् । बहुसङ्ख्यकवादले तिनीहरूलाई फस्टाउने मौका दिएको हुँदैन । यो साहित्यिक फेसन नभएर त्यसलाई वाणी दिनु साहित्यिक अनिवार्य कर्म हुन पुग्छ । नेपालगन्ज पनि डेढ दर्जनभन्दा धेरै भाषा र संस्कृतिको ’मेल्टिङ पट’ समाज हो । आधा दर्जनभन्दा धेरै लिपि पनि छन् । बहुभाषिक कवि गोष्ठीको ब्यानर र एउटा मात्रै भाषाको अभ्यासमा तालमेल भने रहेन । त्यसको पनि आयोजकले निर्मम समीक्षा गर्न आवश्यक हुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २९ गते शनिबार