लघु समीक्षाः विश्वासको साथीले जगाएको विश्वास



प्रा.डा. कपिल लामिछाने
आख्यानको विस्तृत रूप उपन्यास हो भने बालोपयोगी त्यस्तो उपन्यास बालउपन्यास हो । नेपालीमा बालकथाका तुलनामा बालउपन्यास कम लेखिएका तथा कम प्रकाशित भएका छन् । यस्तो अवस्थामा तुलसी पण्डितको विश्वासको साथी बालउपन्यास देखापरेको छ । यो बालउपन्यास २०८२ मा अक्षरधाम प्रकाशन, काठमाडौँबाट प्रकाशित भएको हो ।  पुख्र्यौली थलो तनहुँको रतनपुर भए पनि तुलसी पण्डितको कर्म थलो चितवनको भरतपुर–१३, चम्पानगर हो । यसअघि उनका तिजको सौगात (२०६८), लोकगीत मञ्जरी (२०६८), तुलसी रस (२०६८) र तुलसी पत्र (२०७१), तरङ्ग (२०७९) जस्ता गीत–कवितासङ्ग्रह, पसिनाको फूल (२०७३) उपन्यास, एलियनलाई प्रश्न (२०८०) तथा बालकथासङ्ग्रह तथा वेदनाहर (२०८१) लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन् । प्रकाशनका दृष्टिले विश्वासको साथी (२०८२) पण्डितको नवौँ प्रकाशित कृति हो भने बालसाहित्यिक दृष्टिले विश्वासको साथी दोस्रो पुस्तकाकार कृति हुन पुगेको छ । यहाँसम्म आइपुग्दा उनको सिर्जनामा परिष्कार र परिपक्वता आइसकेको देखिन्छ ।
पर्यावरण आजको मुख्य वैश्विक चिन्ता र चासोको विषय हो । मानिस र पशुपन्छी दुवै प्रकृतिका अभिन्न अङ्ग हुन् । एकले अर्काको अस्तित्व र महŒव स्वीकार गरी सुखदुखमा साथ दिएर मिलीजुली गरे सबैको कल्याण हुन्छ । यही सहअस्तित्वको सन्देश दिने उद्देश्यले प्रस्तुत उपन्यासको रचना गरिएको देखिन्छ । यसले पर्यावरणीय सन्तुलनको आवश्यकता र औचित्य पनि औँल्याएको छ । यहाँ यस कथ्यवस्तुलाई आख्यानीकरण गरिएको छ । जनज्योति आधारभूत विद्यालयका शिक्षक अनिलले आफ्ना छात्रछात्रालाई कथा सुनाएको प्रसङ्ग जोडेर यहाँ कथानकको आरम्भ गरिएको छ । एउटा गरिब किसानको छोरो विश्वास जतिखेर पनि  रोइरहनु, केही गरे पनि रुन नछाडेकाले हैरान भएर बाबुआमाले उसलाई विद्यालय पठाउनु, विद्यालयमा पनि रुन नछाड्नु, विद्यालयले रुनेलाई विद्यालयमा राख्न नसकिने हुँदा रुन छाडेपछि मात्र ल्याउन भन्नु, उसलाई गोठालो पठाउनु र त्यहाँ बाँदरको छाउरो भेट्नु, त्यसलाई घरमै साथमा ल्याउनु, बाँदरको छाउराको सङ्गतले रुन छोड्नु र पुनः विद्यालयमा भर्ना हुनु, शिक्षकले बाँदरको छाउरालाई पनि कक्षामा बस्न दिनु, बाँदरको छाउराले मान्छेबाट र मान्छेले बाँदरको छाउराबाट सरसहयोग पाउनु र धेरै कुरा सिक्नु, बाँदरको छाउराको नाम पुन्टे राख्नु, शिक्षक र विद्यार्थी रमाउनु र नाचगान गर्नु जस्ता ससाना घटना–परिघटनाबाट यस उपन्यासको कथानक निर्माण भएको छ ।
बालबालिकाका लागि लेखिएको हुँदा यहाँ धेरै घटनाको तानाबाना भने बुनिएको छैन । कथानक सलल्ल बगेको देखिन्छ । कथानक समाप्त भएपछि पनि शिक्षा र सन्देशका बारेमा बताउँदै उपन्यासलाई अनावश्यक केही लम्ब्याइएको छ ।केन्द्रीय पात्रका रूपमा विश्वास, बाँदरको छाउरो अर्थात् पुन्टे, बाआमा, शिक्षक र स्कुले साथीहरू छन् भने परिधीय पात्रका रूपमा स्कुलका शिक्षक र विद्यार्थी छन् । उपन्यासको मूल पात्र विश्वास एक बाल पात्र हो । सुरुमा ऊ आत्मविश्वास नभएको रुन्चे स्वभावको देखिन्छ । ऊ घरमा र विद्यालयमा पनि रोइरहन्छ । बाँदरको छाउरो अर्को पात्र  हो । बाँदरको छाउरो पुन्टे भेटेपछि उसको जीवनमा मोड आएको छ । बाँदर उसको साथी बनेको छ र उसमा आत्मविश्वास जागेको छ । उसमा परिवर्तन आएको छ । उसको जीवन बनेको छ । उपन्यासको पृष्ठाधार गाउँ हो । पात्रहरू ग्रामीण परिवेशमा छन् । ठाउँ ठाउँमा संवाद र अन्ततिर एक ठाउँमा गीत पनि प्रस्तुत गरिएको छ ।
यस उपन्यासको कथानकलाई ६ परिच्छेदमा विस्तार गरिएको छ । यसको भाषा र शैली सरल र बालोपयोगी रहेको छ । विषयवस्तु, सन्देश र भाषशैली हेर्दा यो उपन्यास नौ वर्षदेखि माथिका बालबालिकाका लागि लेखिएको देखिन आउँछ । सहायक पात्र बाँदरको छाउरो केन्द्रीय पात्र विश्वासको विश्वासिलो साथी बनेको देखाइएकाले विश्वासको साथी शीर्षकको यो उपन्यास रोचक बन्न पुगेको छ ।  विश्वासको साथी तुलसी पण्डितको प्रथम बालउपन्यास हो । यसलाई शेखरकुमार श्रेष्ठबाट सम्पादन गरिएको छ । यसले गर्दा यहाँ सिकारुपना भन्दा पनि सिर्जनात्मक परिपक्वता देखिन्छ । यसमा बालोपयोगी सरल कथावस्तु, थोरै र सकारात्मक पात्र, आवश्यकताअनुसारको संवाद, सरल तर स्तरीय भाषा, सङ्क्षेप शैली भएकाले यो एक बालउपन्यास बन्न पुगेको छ । कथानकको अनावश्यक विस्तार जस्ता खड्किने केही कुरा भए पनि प्रस्तुत उपन्यास सरल, शिक्षाप्रद र पठनीय देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २६ गते बुधबार