त्यो दिन सम्झँदा त मेरो मन नै भक्कानिन्छ । किनभने वडा कार्यालय स्थापनाकालदेखि म सहभागी हुँदै आएकी छु । त्यतिखेर म ११ नम्बर वडासदस्य र नगरपालिका कार्यपालिका सदस्यको रूपमा थिएँ । त्यतिखेरदेखि वडा कार्यालय व्यवस्थापन र यहाँबाट सेवा प्रदान गर्न सुविधासम्पन्न कार्यालय थियो । जेनजी आन्दोलनपश्चात् म पहिलो दिन वडा कार्यालय पुग्दा खरानी बनेको देखेँ । अहिले पनि त्यो कुराहरू गर्दा सारै पीडा हुने गर्छ । त्यतिखेर वडा कार्यालय मात्र होइन् मेरो घरमा समेत तोडफोड भएको थियो ।
कल्पना शर्मा, वडाध्यक्ष कोहलपुर नगरपालिका– ११
१. भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आगजनी हुँदा वडा कार्यालयमा कति क्षति भएको छ ?
कोहलपुर नगरपालिकाभित्र रहेका १५ वटा वडा कार्यालयहरूमध्ये सबैभन्दा धेरै क्षति भएको ११ नम्बर वडा कार्यालय हो । पहिलो दिन भएको जेनजी आन्दोलन शान्तिपूर्णरूपमा सम्पन्न भएको थियो । त्यसको दोस्रो दिन २४ गते जुन दिन हामी वडा कार्यालयमा काम गरिहेका थियौँ ।एकाएक सुरक्षाकर्मीहरूले सुरक्षा दिन नसक्ने खबर गरेपछि हामी यहाँबाट सुरक्षित स्थान गयौँ ।
त्यसबीचमा अनेक घटनाहरू घटे । त्यसको केही दिनपछि आन्दोलन शान्तिपूर्ण भएपश्चात् म वडा कार्यालय आएँ । यहाँ आउँदा मेरो मन भक्कानिएको थियो । आन्दोलनको क्रममा आगजनी हुँदा वडा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त अवस्थामा थियो । कार्यालयको भौतिक संरचना र कार्यालयमा रहेका सबै कागजात जलेर नष्ट भएका थिए । केवल खरानी मात्रै बाँकी थियो । त्यसको केही दिनमा हामीले मुचुल्का उठायौँ । अहिले नै यति क्षति भयो भनेर भन्न सकिने अवस्था छैन् । यसको यकिन विवरण आउन बाँकी छ ।
२. आन्दोलन पश्चात्को पहिलो दिन वडा कार्यालय पुग्दा कस्तो अवस्था थियो ?
त्यो दिन सम्झँदा त मेरो मन नै भक्कानिन्छ । किनभने वडा कार्यालय स्थापनाकालदेखि म सहभागी हुँदै आएकी छु । त्यतिखेर म ११ नम्बर वडासदस्य र नगरपालिका कार्यपालिका सदस्यको रूपमा थिएँ । त्यतिखेरदेखि वडा कार्यालय व्यवस्थापन र यहाँबाट सेवा प्रदान गर्न सुविधासम्पन्न कार्यालय थियो । जेनजी आन्दोलनपश्चात् म पहिलो दिन वडा कार्यालय पुग्दा खरानी बनेको देखेँ । अहिले पनि त्यो कुराहरू गर्दा सारै पीडा हुने गर्छ । त्यतिखेर वडा कार्यालय मात्र होइन् मेरो घरमा समेत तोडफोड भएको थियो ।
३. अहिले वडा कार्यालय सञ्चालनको लागि कसरी व्यवस्थापन गर्नु भएको छ ?
मेरो घरमा पनि तोडफोड भएको थियो । तर, मैले मेरो घरभन्दा पहिलो प्राथमिकता वडा कार्यालयलाई दिएँ । म २५ गतेदेखि निरन्तर वडा कार्यालय आइरहेकी छु । त्यसको केही दिनमा मुचुल्का उठाएर सरसफाइ गर्न सुरु गरेका थियौँ । त्यसको करिब ४ दिनपश्चात् एउटा कोठा भएपनि बस्नलायक बनाएर नागरिकलाई सेवा प्रदान गर्न थाल्यौँ । हामीले एउटा कोठा सफा गरेर भुइँमा बसेर भएपनि सेवा दिएका हौँ । वडा कार्यालय सञ्चालनको लागि कोहलपुरका व्यवसायीदेखि समाजसेवी व्यक्तिहरूको महत्वपूर्ण सहयोग रह्यो । वडा कार्यालय सञ्चालनको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिन पनि चाहान्छु ।
४. अन्य वडाको तुलनामा ११ नम्बर वडा धेरै क्षति भएको छ । यसलाई कसरी पुनःनिर्माण गरिरहनु भएको छ ?
पक्कै पनि वडा कार्यालय पुनः निर्माणका लागि कोहलपुरका व्यवसायीदेखि विभिन्न संघ सस्थाहरूले स्वतफूर्तरूपमा सहयोग गरिरहनु भएको छ । जोसँग जे छ त्यही सहयोग प्राप्त भइरहेको छ । अहिले पनि हामी पुनः निर्माणको अन्तिम चरणमा पुगेका छौँ । यहाँका व्यवसायीहरूले फर्निचरदेखि पेन्टसम्मको सहयोग गरेकाले कार्यालय पूर्वअवस्थामा फर्काउन थालेका छौँ ।
अहिले कार्यालयका कोठाहरूमा कलरदेखि फर्निचरका कामहरू धमाधम भइरहेका छन् । जसका कारण नागरिकहरूले वडाबाट पाउने सेवा रोकिएका छैनन् । आगजनीले जलेर नष्ट भएको कार्यालय पुनः निर्माण भएपनि धेरै कागजात जलेका छन् । त्यसले गर्दा कहीँकतै सेवा प्रदान गर्न असहज हुने मनमा चिन्ता थपिएको छ । अहिले वडाले प्रदान गर्ने अधिकांश सेवा प्रदान गरिरहेका छौँ ।
५. जेनजी आन्दोलनपश्चात् कसरी सेवा प्रवाह गरिरहनु भएको छ ?
अहिले हामीले हामीलाई सहयोग भएका स्रोतसाधान र बचेका संरचनाबाट सेवा प्रवाह गरिरहेका छौँ । दसैँ अघिदेखि नै क्षतिग्रस्त वडा कार्यालयको सरसफाइ गरेर एउटा कोठाको भुइँमा बसेर नागरिकलाई सेवा प्रवाह सुरु गरेका हौँ । अहिले पुनः निर्माणका काममा नागरिकदेखि व्यवसायीहरूको सहयोगबाट भइरहेको छ । सबैले आफूले सक्ने फर्निचरदेखि अन्य सामान उपलब्ध गराएकाले सेवा प्रदान गर्न केही सहज भइरहेको छ । अहिले पनि कार्यालयको भवनका कोठा, झ्याल र फर्निचरहरू निर्माण भइरहेका छन् । तर नागरिकका कामकाज रोकिएका छैनन् ।
६. जेनजी आन्दोलनलाई कसरी लिनु भएको छ ?
जेनजी आन्दोलनप्रति मेरो पनि समर्थन छ । तर त्यसमा भएको लुटपाट, आगजनी, तोडफोड र मानिसमाथिको आक्रमण गर्नु राम्रो होइन् । यदि व्यक्तिले गलत गरेको भए पनि कानुनीरूपमा कारबाही गर्ने हो । कसैलाई पिटेर समस्याको समाधान हुँदैन । जेनजी आन्दोलनका नाममा यतिसम्म होला भन्ने मैले सोचेकी थिइन् । त्यस्ता गलत काम गर्नेलाई कारबाही गर्न जरुरी छ ।
७. अन्तमा के भन्न चाहन्नु हुन्छ ?
अन्तमा म के भन्न चाहन्छु भने वडा कार्यालय जसोतसो सञ्चालन भएको छ । सुख दुःख भनेकै जिन्दगी हो । केही समय कार्यालय व्यवस्थापन गर्नु पर्ने भएकाले सेवा प्रवाहमा कठिइ भएको छ । साथै कार्यालय सञ्चालनको लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद । हामीले प्राप्त गरेका सहयोगको डाटा संकलन गरेका छौँ । वडा कार्यालयको पुनः निर्माण सम्पन्न हुनासाथ सार्वजनिक सुनुवाइ गर्छाैँ ।









प्रतिक्रिया दिनुहोस्