नेपालगन्ज ।
चाडबाडमा यात्रा सुरक्षाका लागि प्रहरीले विशेष सतर्कता अपनाएको जानकारी दिएको छ । प्रहरीको प्रदेशस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका अनुसार विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्नेदेखि लिएर अन्तरनिकाय समन्वयको काम भइरहेको छ ।
कर्णाली प्रदेश हेर्ने नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका एसपी भावेश रिमालका अनुसार प्रदेशका ४१ वटा स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
यस्ता यात्रु सहायता कक्षले यात्रुहरूलाई परेका समस्यामा तत्काल कारबाही अघि बढाउनेगरी व्यवस्था गरिएको रिमालले बताए । चाडबाडको समयमा विशेषगरी सवारीसाधनमा बढी यात्रु बोक्ने समस्या र बढी भाडा असुल गर्ने समस्याका गुनासाहरू आउने अनुमान गरिएको र त्यसलाई व्यवस्थापन गर्नेगरी निर्देशन दिइएको उनले बताए । अर्काेतिर पश्चिम नेपालको सबैभन्दा चुनौतिपूर्ण र जोखिमयुक्त राजमार्ग भनेर चिनिने कर्णाली राजमार्गमा मौसम खराबी हुँदा आउनसक्ने पहिरो लगायतको जोखिम व्यवस्थापनका लागि पनि तयारी गरिएको प्रहरीले जनाएको छ ।
रिमालका अनुसार सडक अवरुद्ध भएका तत्काल सुचारु गर्न सकिने गरि सडक डिभिजन लगायतका निकायसँग समन्वय गरिएको छ ।
विशेषगरी राजमार्गको गगने खोलामा बेलाबेलामा समस्या उत्पन्न हुने गरेका कारण त्यस क्षेत्रलाई विशेष निगरानीमा राखिएको पनि रिमालले जानकारी दिए । प्रहरीले डोल्पा जाने सडक पनि केहीदिन अवरुद्ध रहेकोमा अहिले अवरोध पन्छाएर सुचारु गरिसकेको जानकारी दिए ।
उता सुदूरपश्चिम प्रदेशमा पनि ३९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार प्रदेशमा रहेका भारतसँग जोडिएका सीमा नाकाहरूलाई विशेष निगरानीमा राखिएको छ । यसैगरी ती नाकाबाट स्वदेश फर्किरहेकाहरूलाई परेका समस्याहरूको व्यवस्थापनका लागि प्रहरीलाई निर्देशन दिइएको छ ।
यसैगरी सडक सुरक्षासँग सम्बन्धित विभिन्न निकायहरूसँग समन्वय गरेर उत्पन्न अवरोधहरू ह्टाउने व्यवस्था मिलाइएको शाहीले जानकारी दिए । यस वर्षको वर्षातमा सुदुरपश्चिमको भिमदत्त राजमार्गअन्तर्गत बैतडीको खोड्पे क्षेत्र र कैलालीको बुढीतोलामा सामान्य समस्या आएकोले ती क्षेत्रलगायत अन्य सम्भावित जोखिमपूर्ण स्थानहरूलाई ध्यानमा राखिएको प्रहरीले जनाएको छ ।
यता लुम्बिनी प्रहरीले पनि अहिले केही स्थानमा यात्रु सहायता कक्ष राख्न सुरु गरिएको र अब सबै जिल्लाका मुख्य स्थानहरूमा यात्रु सहायता कक्षको व्यवस्था गरिने बताएको छ । लुम्बिनी प्रदेश प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार हालसम्म प्रदेशका २३ वटा स्थानमा यात्रु सहायता कक्ष स्थापना भइसकेको छ । थप स्थानहरूको बुधबार सहायता कक्ष स्थापना गरिने कार्यालयले जानकारी दिएको छ । यात्रु सहायता कक्षहरूको स्थापनामा प्रहरीले यातायात व्यवसायी, सामुदायिक प्रहरी सेवा केन्द्रलगायतसँग सहकार्य गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस्