भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता



दशैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर पुग्नुभएको छ । प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा उहाँहरूको यात्रा निकै कष्टपूर्ण बन्यो । लामो यात्रा गरेर बजारसम्म आइपुग्दा पनि समयमै बिक्री गर्न नपाइने चिन्ताले उहाँहरूलाई सताएको छ । मुगुको छायानाथ रारा नगरपालिका–६ का बिकको टोलीले दुई सय भेडाच्याङ्ग्रा खेदाएर ल्याएको हो । त्यसमध्ये एक सय आफ्नै घरमा पालेका र एक सय छिमेकीबाट खरिद गरेका हुन् । दशैँका लागि पोखरामा बिक्री गर्ने उद्देश्यले उहाँहरू गएको भदौ १८ गते घरबाट हिँड्नुभएको थियो ।

‘यसपालि प्रतिकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा धेरै दुःख पाइयो,’ बिकले भन्नुभयो, ‘डोल्पाको छार्कामा हिमपात भएपछि एक हप्ता रोकियौँ । घरबाट हिँडेको ३६ दिनमा बल्ल गलेश्वर आइपुगेका छौँ ।’ शनिबार गलेश्वरबाट भेडाच्याङ्ग्रा गाडीमा राखेर पोखरा लैजाने उहाँहरूको योजना छ । तर, दशैँ नजिकिँदै गर्दा बजारमा माग र बिक्री कस्तो होला भन्ने चिन्ता छ । ‘ढिला भइसकेको छ । अब बजारमा बिक्री हुने हो कि होइन भन्ने चिन्ता लागेको छ,’ बिकले भन्नुभयो ।

डोल्पाको काइके गाउँपालिका–२ का मानप्रसाद रोकायासहित सात जना किसान पनि सात सय भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लाग्नुभएको छ । उहाँहरू शुक्रबार म्याग्दीको घोडेपानी हुँदै कास्कीको पोखरातर्फ जानुभएको हो । रोकायाको टोली घरबाट हिँडेको २२ दिन भइसकेको छ । भेडाच्याङ्ग्रापालन नै मुख्य पेशा भएकाले उहाँहरू हरेक वर्ष बिक्रीका लागि विभिन्न बजार पुग्ने गर्नुहुन्छ । तर, यसपालि बाढीपहिरोले यात्रामा थप सास्ती दिएको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनायो । यसले भेडाच्याङ्ग्रा खेदाएर ल्याउने र सवारीसाधनमा ढुवानी गर्ने दुवै काम प्रभावित भए । कतिपय किसानले लामो दूरी पैदल हिँड्नुप¥यो । सडकको अवस्थाका कारण बजारसम्म पुग्न ढिलाइ भएको हो । डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढा पनि २५ दिन पैदल हिँडेर एक सय ६० च्याङ्ग्रा बिक्री गर्न पोखरातर्फ लाग्नुभएको छ । समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिका क्षेत्रमा पालिएका च्याङ्ग्रा खेदाएर ल्याउन सहज छैन । ‘भिर, खोल्सा र साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पु¥याई बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो,’ उहाँले भन्नुभयो ।

सडक अवरुद्ध हुँदा किसानलाई सास्ती

दशैं नजिकिएसँगै हिमाली क्षेत्रका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । तर, प्रतिकूल मौसम र सडक अवरोधले यसपालि किसान तथा व्यापारीलाई समस्या भएको छ । डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा लिएर आएका किसान तथा व्यापारीको जोमसोमदेखि बेनीसम्म चहलपहल छ ।

मुस्ताङबाट बेनी–जोमसोम सडक हुँदै गलेश्वर ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाण्डौ लगायत सहरमा पठाउन थालिएको छ । यद्यपि, डोल्पाबाट मुस्ताङ आउने बाटो हिउँले ढाकिँदा त्यहाँका सबै किसानले भेडाच्याङ्ग्रा बजारसम्म ल्याउन नसकेको कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालले बताउनुभयो ।

तातोपानी र रसुवा नाका बन्द भएकाले यसपालि ठूला सहरमा भेडाच्याङ्ग्रा आपूर्तिको मुख्य मार्ग मुस्ताङ बनेको छ । जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिने व्यवस्था मिलाइएको छ । कार्यालय प्रमुख अर्यालका अनुसार अहिलेसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निकासी अनुमति दिइएको छ । गएको वर्ष १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए ।

लागत बढ्यो

यात्रा लामो हुँदा किसान र ब्यापारीको खर्च बढेको छ । मुस्ताङमा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग सम्पर्क गर्नसमेत कठिन भएको व्यापारीको भनाइ छ । बेनी नगरपालिका–९ का डेकबहादुर चोखालका अनुसार मुस्ताङमा असोज दोस्रो हप्तादेखि सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा खरिदमा समस्या भयो ।

‘किसानसँग सम्पर्क हुन नसकेपछि भनेजस्तो भेडाच्याङ्ग्रा ल्याउन पाइएन,’ उहाँले भन्नुभयो । मुस्ताङमा आकार अनुसार भेडा एउटा ३२ हजार रुपैयाँदेखि ३५ हजारसम्म र च्याङग्रा ४० हजारमा खरिदबिक्री भइरहेको ब्यापारीहरुले बताएका छन् । बेनीमा भने भेडा एउटाको झण्डै  ३६ हजार रुपैयाँ र च्याङ्ग्रा  ४५ हजार रुपैयाँसम्म पर्ने बेनी नगरपालिका–९ तोरीपानीका यामबहादुर बानियाले बताउनुभयो ।

‘पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयुक्त मानिन्छन्,’ उहाँले भन्नुभयो ‘महँगो परेपनि दशैँमा हिमाली क्षेत्रमा जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु खाने चलन छ ।’

मुस्ताङको भेडाच्याङ्ग्राको ठूलो बजार पोखरा र काठमाण्डौ हुन् । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा पनि यसको माग हुने गरेको धवलागिरि गाउँपालिका–७ का खसी व्यापारी प्रेम छन्त्यालले बताउनुभयो ।

च्याङ्ग्रापालनमै निर्भर हिमाली किसान

मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङले मुख्य आयस्रोत च्याङ्ग्रापालन भएको बताउनुभयो । मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ ।

तर, च्याङ्ग्रापालनमा पनि अनेक चुनौती छन् । हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट पशु जोगाउन किसानलाई कठिन हुन्छ । पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिने र आहारको अभाव हुने समस्या छ । हिउँदमा अत्यधिक हिमपात हुँदा पनि आहार नपाएर भेडाबाख्रा मर्ने गरेका छन् ।

दशैंको बजारबाट वर्षभरिको आम्दानी जुटाउने आशामा किसानले हिमालबाट भेडाच्याङ्ग्रा खेदाएर ल्याउँछन् । तर, यसपालि प्रतिकूल मौसम र सडक अवरोधले उनीहरूको यात्रा लम्बिएको छ । लामो दूरीको पैदल यात्रा, थप खर्च र बिक्रीमा भएको ढिलाइले किसानको आम्दानी प्रभावित हुने चिन्ता बढाएको छ ।
रासस

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार