वीरेन्द्रनगर ।
सिँजा सभ्यताको विकासलाई अघि बढाउन कर्णाली प्रदेश सरकारले प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । नेपाली भाषा र खस सभ्यताको ऐतिहासिक थलोका रूपमा चिनिँदै आएको सिँजा क्षेत्रको संरक्षण, खोज तथा अनुसन्धानसँगै आधुनिक विकासलाई जोड दिने प्रदेश सरकारको तयारी छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सिँजा सभ्यताको संरक्षण र प्रवर्धन सरकारको दायित्व भएकाले यस क्षेत्रको ऐतिहासिक महत्वलाई उजागर गर्ने गरी योजनाबद्ध रूपमा काम गरिने बताए ।
सिँजा गाउँपालिकाको भ्रमणका क्रममा स्थानीय जनप्रतिनिधि तथा नागरिकसँग छलफल गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । ‘सिँजा सभ्यतासँग सम्बन्धित ऐतिहासिक भग्नावशेष, पुरातात्तिक महत्वका संरचना र मौलिक सम्पदाको संरक्षणमा राज्यका तीनै तहका सरकारबीच समन्वय आवश्यक छ’ उनले भने, ‘सिँजाको इतिहास र सभ्यताबारे थप खोज तथा अनुसन्धान गरी यसको ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा स्थापित गर्नुपर्छ ।’
सिँजा एउटा भौगोलिक क्षेत्र नभई कर्णालीको इतिहास, भाषा, संस्कृति र सामाजिक विकाससँग जोडिएको महत्वपूर्ण सम्पदा भएको उनले बताए । यसको संरक्षणलाई विकासको मूलधारसँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो । ऐतिहासिक सम्पदाको संरक्षण नगरी आधुनिक विकास मात्रै अघि बढाउँदा सिँजाको मौलिक पहिचान कमजोर हुन सक्ने भएकाले संरक्षण र विकासलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
उनले थपे, ‘सिँजाको आधुनिक विकासलाई समेत प्रदेश सरकारले प्राथमिकतामा राख्नेछ, यसका लागि ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई एउटै विकास योजनाभित्र समेट्नुपर्नेछ ।’ सिँजा गाउँपालिकाले आगामी बजेटमा समेट्नुपर्ने विभिन्न योजना र विकासका प्राथमिकता प्रस्तुत गरेपछि मुख्यमन्त्री शाहीले स्थानीय तहबाट आएका सुझावलाई प्राथमिकताका आधारमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
सिँजामा यसअघि सुरु भएका ठोस विकास आयोजनालाई निरन्तरता दिने र अधुरा योजनालाई आगामी बजेटमा प्राथमिकताका साथ अघि बढाउने उनले बताए । सिँजाको विकासका लागि स्थानीय तहले उठाएका मागले यहाँको तत्कालीन आवश्यकता सडक पूर्वाधार रहेको देखाएको छ। गाउँपालिकाले विभिन्न सडकको स्तरोन्नति तथा नयाँ सडक निर्माणका लागि आवश्यक बजेट माग गर्दै मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्रसमेत बुझाएको छ ।
सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सिँजाको समग्र विकास निर्माणलाई तीव्रता दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताए । उनका अनुसार धिताललिहीदेखि वडा नं. ५ र ६ जोड्ने सडक, केदारनाथ जोड्ने सडक, नराकोट–‘बा’–मालिका सडकलगायतका महत्वपूर्ण सडकमा बजेट विनियोजन गर्न माग गरिएको छ । ‘यी सडकहरू सिँजाको आन्तरिक आवागमनसँग मात्र सम्बन्धित छैनन् । त्यसैले सडकको स्तरोन्नति सिँजाको समग्र विकाससँग जोडिएको विषय हो,’ उनले भने, ‘उत्पादनलाई बजारसम्म पु¥याउने, पर्यटकीय सम्भावनाको उपयोग गर्ने तथा गाउँ–गाउँबीचको आर्थिक तथा सामाजिक सम्बन्ध विस्तार गर्ने आधारका रूपमा समेत यी सडकलाई हेरिएको छ ।’
यस्तै, चुलेलगाउँ–धापा–कनकासुन्दरी सडक निर्माणमा भइरहेको ढिलाइलाई अन्त्य गरी आयोजनालाई गति दिनसमेत प्रदेश सरकारसँग माग गरिएको छ । गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष तीर्थ वडका अनुसार सडक निर्माणमा भइरहेको ढिलाइले स्थानीयवासीको दैनिक आवागमनसँगै विकास गतिविधिमा समेत असर परेको भन्दै आयोजनालाई शीघ्र अघि बढाउन आग्रह गरिएको हो । सिँजाको विकाससम्बन्धी छलफलमा भौतिक पूर्वाधारसँगै यसको ऐतिहासिक र भाषिक पहिचानको विषयसमेत उठेको हो ।
नेपाली भाषाको उद्गमस्थलका रूपमा चर्चामा रहेको सिँजामा भाषिक इतिहास, खस सभ्यता र पुरातात्तिक सम्पदासम्बन्धी थप अध्ययन तथा अनुसन्धान आवश्यक रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । प्रवक्ता वडका अनुसार सिँजाको इतिहाससँग सम्बन्धित प्रमाण, पुरातात्तिक अवशेष र सांस्कृतिक सम्पदाको व्यवस्थित अध्ययन, अभिलेखीकरण र संरक्षणका लागि राज्यले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएको छ । सिँजाका भग्नावशेष तथा ऐतिहासिक स्थल संरक्षणविहीन अवस्थामा रहेमा समयसँगै ती सम्पदाको मौलिक स्वरूप हराउन सक्ने स्थानीयको चिन्ता छ ।
त्यसैले संरक्षणका लागि आवश्यक कानुनी, प्राविधिक र आर्थिक व्यवस्थासहित दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । मुख्यमन्त्री शाहीसँगको भेटमा जुम्लासहित कालीकोट र मुगुका नागरिकले समेत आफ्नो क्षेत्रको विकाससँग सम्बन्धित विभिन्न माग प्रस्तुत गरेका थिए । नागरिकका मागमा सडक, पूर्वाधार तथा अन्य विकास आयोजनालाई प्राथमिकता दिन आग्रह गरिएको थियो । प्रदेश सरकारको पछिल्लो प्रतिबद्धता कार्यान्वयनमा परिणत भए सिँजाको विकासले नयाँ गति लिन सक्ने अपेक्षा गरिएको छ । तर त्यसका लागि प्राथमिकताका योजना छनोट, समयमै कार्यान्वयन, ऐतिहासिक सम्पदाको वैज्ञानिक संरक्षण र स्थानीय समुदायको सहभागितालाई सँगसँगै अघि बढाउनुपर्ने छ ।









प्रतिक्रिया दिनुहोस्