नवौं राष्ट्रिय बहिरा टि–ट्वान्टी क्रिकेट प्रतियोगिता चैत २० देखि बाँकेमा हुने



यानबी साहु : कोहलपुर,३ चैत/ बाँकेको कोहलपुरमा नवौं राष्ट्रिय बहिरा टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ राष्ट्रिय बहिरा क्रिकेट संघ नेपाल र बाँके बहिरा क्रिकेट संघको संयूक्त आयोेजनामा प्रतियोगिता आयोजना गर्न लागिएको आज कोहलपुरमा पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगिता यही चैत २० देखि २५ गते ६ दिनसम्म कोहलपुर क्रिकेट मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा बाँके, काठमाण्डौं, पोखरा, रुपन्देही, सुनसरी, हेटौडा, मोरङ, धनुषा र झापा गरी जम्मा ९ वटा टीमको सहभागिता रहने बाँके बहिरा क्रिकेट संघका अध्यक्ष सन्तोष केसीले जानकारी दिनुभयो ।

बाँके बहिरा क्रिकट संघले गतवर्ष राष्ट्रिय प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गरेकै कारण बाँकोबाट दुईजना खेलाडि छनौट भई भारतको मुम्बईमा भएको बहिरा एशिया कप–२०१७ मा पनि राम्रो प्रदर्शन गरेकोले यसवर्ष बाँकेमा नै प्रतियोगिता आयोजना गर्न सफल भएको अध्यक्ष केसीले बताउनु भयो ।

प्रतियोगिता सञ्चालनका लागि करिब १४ लाख खर्च हुने र यसको तयारी ५५ प्रतिशत पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिमा प्रथम हुने टीमले ५० हजार, द्वितीय हुनेले ४० हजार र तृतीय हुनेले ३० हजार पुरस्कार, ट्रफि, शिल्ड र प्रमाणपत्र पाउने भएका छन् ।

आज कोहलपु्र उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान लेख बहादुर क्षेत्रीले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता बाँकेमा आयोजना हुन बाँकेवासीहरुको लागि खुसीको कुरा भएको बताउदै यस प्रतियोगिताले यसक्षेत्रको आर्थिक विकासमा पनि ठूलो सहयोग पु¥याउने बताउनु भयो ।

यस्तै कोहलुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले खेल सञ्चालनका लागि आफूले संघको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ३ गते शनिबार