वस्तु, विचार र विज्ञान दिवस



जीतबहादुर शाह

हाम्रो मुलुकमा प्रत्येक वर्ष आजको दिन अर्थात असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइन्छ । विसं २०७० सालदेखि नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसको शुरुवात गरेको हो । देशमा विज्ञान र प्रविधिको विकास, अनुसन्धान, नवप्रवर्तन र जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक एवं प्राविधिकहरूलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।अहिलेसम्मको जानकारीअनुसार यसपालि भने भोटेकोशी बाढीको कारणले धनजनको अत्यधिक क्षति भएको आलो घाउ खाटा बसिनसकेको अवस्थामा दिवस मनाउन सान्दर्भिक नहुने भएर होला, संघीय सरकारले यससम्बन्धी कुनै विशेष कार्यक्रम र नारा तय गरेको देखिएन । तथापि प्रदेश र स्थानीय सरकारहरूले भने विज्ञान दिवस मनाउने गरी विभिन्न कार्यक्रमहरू तय गरेको देखिन्छ । यो पङ्क्तिकारले भने यसै अवसरमा विज्ञान र यससँग सम्बन्धित वस्तु (पदार्थ) र विचार (चेतना)जस्ता मुद्दाहरूको बारेमा बहस र छलफलका लागि प्रस्तुत आलेख तयार गर्ने काम भएको छ । वस्तु भन्नाले एक वा एकभन्दा बढी पदार्थहरू मिलेर बनेको निश्चित आकार, आकृति र प्रयोजन भएको भौतिक संरचनालाई जनाउँछ । वस्तु भनेको पदार्थको प्रयोग गरेर बनाइएको वा देखिएको ठोस रूप हो, जसको कुनै न कुनै काम वा उपयोगिता हुन्छ । जस्तैः कलम, बेन्च, किताब, कुर्सी आदि वस्तुहरू । यसरी नै पदार्थको कुरा गर्दा कुनै पनि वस्तु जसले स्थान ओगट्छ र जसको निश्चित पिण्ड हुन्छ, त्यसलाई जनाउने गर्दछ । अर्को शब्दमा भन्नुपर्दा पदार्थ एउटा व्यापक अवधारणा हो जसले ब्रह्माण्डका सबै भौतिक कुराहरूलाई समेट्छ र रसायनशास्त्रमा पदार्थ भन्नाले कुनै निश्चित रासायनिक गुण भएको शुद्ध तत्व वा यौगिकलाई बुझाउँछ, जस्तैः पानी, सुन, कार्बन, आदि । पदार्थ मुख्यतया ठोस, तरल र ग्यासजस्ता भौतिक अवस्थामा पाइन्छन् । बुझिने गरी भन्नु वस्तु पदार्थबाट बनेको तयारी रूप हो । यसको निश्चित आकार, आकृति र सीमा हुन्छ । यसको विशिष्ट प्रयोजन हुन्छ । धेरै वस्तुहरू एउटै पदार्थबाट पनि बन्न सक्छन्, जस्तैः काठ नामक पदार्थबाट कुर्सी, टेबल, पलङ, दराज आदि । वस्तुहरू पदार्थबिना बन्नै सक्दैनन् । पदार्थको निश्चित आकार र स्वरुप हुनैपर्छ भन्ने छैन, जस्तैः हावा, पानीको तरलता । पदार्थ कच्चा वस्तुको रूपमा रहन सक्छ । यसरी बुझ्दै गर्दा भौतिक विज्ञानका अनुसार पदार्थ भनेको त्यो कच्चा वस्तु हो जसले ठाउँ ओगट्छ र पिण्ड राख्छ भने वस्तु भनेको त्यही पदार्थलाई विभिन्न आकार दिएर बनाइएको प्रयोगयोग्य सामग्री हो ।

चेतना र विचार दार्शनिक, मनोवैज्ञानिक र वैज्ञानिक दृष्टिकोणबाट निकै गहन र सूक्ष्म विषयहरू हुन् । यी दुईबीच अन्तरसम्बन्ध भए पनि आन्तरिक रूपमा यिनीहरूको अर्थ र दायरा भिन्न हुन्छ । चेतना भन्नाले आफ्ना वरपरको वातावरण, आफ्नै अस्तित्व, अनुभूति, संवेदना र विचारहरूप्रतिको जागृत अवस्था वा बोध हो । यो जीवनको त्यो मूल आयाम हो जसले हामीलाई बाहिरी संसार महसुस गराउँछ, अर्थात् ‘म जीवित छु’ भन्ने महसुस गराउँछ । आधुनिक मनोविज्ञान र मस्तिष्क विज्ञानका अनुसार चेतना स्नायुप्रणाली र मस्तिष्कको सक्रियताबाट उत्पन्न हुने त्यो स्थिति हो, जसले संवेदनशीलता, आत्म–बोध र बाह्य जगत्को प्रतिक्रियालाई सम्भव बनाउँछ । पूर्वीय दर्शनमा चेतनालाई जड पदार्थभन्दा भिन्न, स्वयम्–प्रकाशित र अन्तिम सत्यको रूपमा लिइन्छ । योग र वेदान्त दर्शनमा यसलाई ‘चित्त’ वा आत्माको स्वरूप मानिन्छ, जसका कारण शरीर र मनले काम गर्छन् । चेतनासँग सम्बन्धित विचार भनेको मस्तिष्कमा उत्पन्न हुने मानसिक प्रक्रिया, कल्पना, धारणा वा बौद्धिक गतिविधि हो । जब हामी कुनै कुरा सोच्छौँ, विश्लेषण गर्छौँ, योजना बनाउँछौँ वा कुनै समस्याको समाधान खोज्छौँ, तब मस्तिष्कमा विचारहरू सिर्जना हुन्छन् । विचार भनेको स्मृतिको आधारमा वा वर्तमान अनुभवको विश्लेषणबाट मस्तिष्कमा खेलिने कल्पना, तर्क वा निष्कर्षहरूको शृंखला हो । यो चेतनाको सतहमा निरन्तर चलिरहने गतिविधि हो, जसलाई बौद्ध दर्शनमा ‘मनोवृत्ति’ वा ‘चित्तवृत्ति’ पनि भनिन्छ । चेतना र विचारको बीचमा पनि केही भिन्नताहरू देखाउने गरिएको छ । चेतना एउटा व्यापक आकाशजस्तै हो, जसमा सबै अनुभवहरू अटाउँछन्, जबकि विचार त्यो आकाशमा देखिने बादलहरूजस्तै हुन् । चेतना निरन्तर र समग्र जागृति हो । विचारहरू भने निरन्तर फेरिरहने, आउने र जाने अस्थायी तरङ्गहरू हुन् । ध्यान वा गहिरो विश्रामको अवस्थामा विचारहरू शून्य वा शान्त हुन सक्छन्, तर चेतना भने कायम रहन्छ । यी दुई अवधारणाहरूको अध्ययनले मानिसको मानसिक विकास र आत्मबोध बुझ्न ठूलो मद्दत गर्दछ । खप्तड स्वामी (खप्तड बाबा)ले आफ्नो प्रसिद्ध ग्रन्थ ‘विचार विज्ञान’मा विचारलाई केवल मानसिक कल्पना मात्र नभई एक अत्यन्त शक्तिशाली, जीवन्त र सिर्जनात्मक ऊर्जाको रूपमा परिभाषित गरेका छन् ।

विचारका सम्बन्धमा खप्तड बाबाका भनाइ र मान्यताहरू यस्ता छन् जसले केही विचारवान् मानिसहरूलाई समेत सोच्न बाध्य बनाउँछ । उनका अनुसार विचारहरू केवल अमूर्त कुरा होइनन्, तिनीहरूका पनि आफ्नै भार, गति र भौतिक अस्तित्व हुन्छन् । जसरी भौतिक संसारमा ऊर्जाका विभिन्न रूप हुन्छन्, त्यसैगरी विचार पनि एक प्रकारको सूक्ष्म मानसिक ऊर्जा हो जुन स्नायुप्रणालीमार्फत प्रवाहित हुन्छ । खप्तड बाबाका अनुसार जीवनको निर्माता विचार नै हो । उनको मान्यता छ कि मानिसले जस्तो विचार जतिबेला सोच्छ, उसको जीवन, स्वास्थ्य र भाग्य पनि त्यस्तै बन्दै जान्छ ।सकारात्मक, उच्च र पवित्र विचारले मानिसलाई सफलता, सुख र शान्तितर्फ डो¥याउँछ भने नकारात्मक र निम्नस्तरका विचारले दुःखी, अशान्त र असफल बनाउँछ । खप्तड बाबाले विचारमाथि नियन्त्रण नै सबैभन्दा ठूलो विजय हो भन्छन् । उनले मनमा उठ्ने अनियन्त्रित विचारहरूलाई अनुशासनमा राख्नु नै मानिसको सबैभन्दा ठूलो पुरुषार्थ हो भनेका छन् । जसले आफ्ना विचारहरूलाई मोड्न र एकाग्र गर्न जान्दछ, उसले ब्रह्माण्डको रहस्य र आत्मिक आनन्द प्राप्त गर्न सक्छ । उनले अनावश्यक बकवास कुराहरू नगर्न, मौनताको अभ्यास गर्न र मानसिक ऊर्जालाई व्यर्थका चिन्तनमा बर्बाद नगर्न जोड दिएका छन् । विचारलाई सकारात्मक र रचनात्मक मार्गमा लगाउँदा मानसिक रोगहरूबाट निको हुनुका साथै शारीरिक अवस्था समेत सुदृढ हुन्छ । ‘गर्न सकिन्छ’ भन्ने चिन्तन र विचारले मानिसभित्र थप उर्जा उत्पादन गर्न योगदान गर्दछ भने ‘गर्न सकिँदैन’ भन्ने चिन्तन र विचारले मानिसभित्र भएको उर्जासमेत क्षयीकरण गर्ने कुरा आज सबैले भोग्दै र अनुभूत गर्दै आएको देखिन्छ । स्वास्थ्य विज्ञानले समेत मानिसमा देखिने करिब असी प्रतिसत रोगहरू मानिसको सोच, विचार र चिन्तनका उपज हुन भनेर प्रमाणित गरेको अवस्था छ । आज यो दुनियामा विभिन्न दर्शन, दृष्टिकोण, विचार र वादहरूको विकास र प्रादूर्भाव भएको अवस्था छ । यसरी प्रादूर्भाव भएका दर्शन र वादहरूलाई मुख्य गरी दुई किसिमबाट विभाजन गर्न सकिन्छ । एउटा अध्यात्मवाद र अर्को भौतिकवाद । अध्यात्मवाद र भौतिकवाद दर्शनशास्त्रका दुई अति महŒवपूर्ण र विपरीत ध्रुवमा रहेका सिद्धान्त हुन् । यी दुवैले जगत, जीवन र सत्यको स्वरूपलाई फरक–फरक दृष्टिकोणबाट व्याख्या गर्छन् । अध्यात्मवादले चेतना, आत्मा वा परमात्मालाई जगतको मूल आधार र सत्य मान्दछ । अध्यात्मवादका अनुसार चेतना वा विचार नै पहिलो सत्य हो र यो भौतिक जगत त्यसैको अभिव्यक्ति वा परिणाम हो भनेर व्याख्या गर्दछ । भौतिकवादले पदार्थ वा प्रकृतिलाई प्राथमिक सत्य मान्दछ । भौतिकवादका अनुसार पदार्थ पहिलो हो र चेतना वा विचार भनेको विकसित पदार्थ (विशेषगरी मष्तिष्क)को उपज मात्र हो । भौतिकवादले संसार आफैँमा प्राकृतिक नियमहरू, भौतिक तत्वहरूको अन्तक्र्रिया र आफैँमा गतिशील पदार्थको परिणाम हो भनी वैज्ञानिक तथा वस्तुवादी ढङ्गले व्याख्या गर्दछ ।

अध्यात्मवादले संसारको सिर्जना कुनै अलौकिक शक्ति, दिव्य चेतना, ईश्वर वा नियतिद्वारा भएको हो भन्ने मान्यता राख्छ । अध्यात्मले जीवनलाई केवल भौतिक शरीरमा मात्र सीमित नराखी यसको आध्यात्मिक पाटो, नैतिक मूल्य, कर्मफल र मोक्ष वा आत्मिक शान्तिसँग जोडेर हेर्छ । अध्यात्मले ज्ञान प्राप्तिका लागि अनुभूति, आत्मनिरीक्षण, ध्यान, अन्तज्र्ञान र धार्मिक वा दार्शनिक ग्रन्थहरूलाई मुख्य आधार मान्ने गर्दछ । यसको विपरीत भौतिकवादले ज्ञान प्राप्तिका लागि इन्द्रिय अनुभव, प्रत्यक्ष प्रमाण, प्रयोग र वैज्ञानिक अनुसन्धानलाई सर्वोपरि मान्दछ । भौतिकवादले जीवनलाई जैविक र भौतिक विकासक्रमको रूपमा लिन्छ । यसले मानिसको वर्तमान भौतिक आवश्यकता, सामाजिक न्याय र सुख–सुविधालाई मुख्य प्राथमिकता दिन्छ । अध्यात्मले चेतनाले वस्तु वा पदार्थको विकास गरेको कुराको जिकिर गर्छ भने भौतिकवादले पदार्थले चेतनाको विकास गरेको हो भन्ने कुराको जिकिर गर्दछ । अझै किटान गरेर भन्नुपर्दा अध्यात्मले ‘तिमी विश्वास मात्र गर, प्रमाणहरू देखाउनेछु’ भन्छ भने भौतिकवादले ‘प्रमाण देखाउ, अनिमात्र विश्वास गर्छु’ भन्ने कुरा अघि सार्छ । भौतिक विज्ञानले विचारलाई विज्ञान मान्दैन । खप्तड स्वामी लगायतका विद्वानहरूले विचारलाई विज्ञान भन्छन् । विचार देख्न नसकेको मात्रै हो । त्यसो त विद्युत्को करेन्ट र हावाको झोक्कालाई पनि देख्न सकिँदैन । तथापि यसको असरलाई भने प्रत्यक्ष रूपमा महसुस गर्न सकिन्छ । त्यसैले पनि भौतिक विज्ञानले हावा र विद्युत्को अस्तित्वलाई स्वीकार गर्छ । भौतिक विज्ञानले स्वीकारोस् वा स्वीकार नगरोस्, विचारको पनि आफ्नो असर छ, मनको पनि आफ्नो असर छ र चिन्तनको पनि आफ्नो असर छ त्यसैगरी आत्माको पनि आफ्नो असर छ । मानिस कस्तो हुने ? अब्बल हुने कि कमजोर ? रोगी हुने कि निरोगी ? सफल हुने कि असफल ? मान्छे मानव हुने कि राक्षस ? यी सबै कुराको निर्धारण मान्छेभित्र रहेको मन, विचार, चिन्तन र सोचले निर्धारण गर्दछ । मानिसले चेतनालाई वजनदार र अब्बल बनाउनका लागि शिक्षित र दिक्षित गर्दछ । तथापि चेतना र विचार देखिँदैन, तथापि यसको असर वा प्रभाव भने देखिने कुरालाई अस्वीकार गर्न मिल्दैन । विचार र मनलाई निर्माण गर्न, परिवर्तन गर्न, सुधार गर्न वा माझ्नका लागि समेत निश्चित नियम र प्रक्रियाहरू छन् । त्यसकारण पनि अध्यात्मले विचारलाई पनि विज्ञान भन्छ र आत्मालाई पनि विज्ञान भन्छ । वैज्ञानिकहरूका पनि वैज्ञानिक भनेर चिनिएका अल्वर्ट आइन्स्टाइनले समेत अध्यात्मलाई स्वीकार गर्दै भनेका छन् ः अध्यात्मबिनाको विज्ञान लङ्गडो हुन्छ र विज्ञानबिनाको अध्यात्म अन्धो हुन्छ । उनको यो भनाइले विज्ञान र अध्यात्मको सन्तुलित सहअस्तित्वलाई स्वीकार गरेको प्रष्ट हुन्छ । त्यसरी नै वैज्ञानिककै रूपमा चिनिएका भारतका पूर्वराष्ट्रपति डा. एपिजे अब्दुल कलामले भनेका छन् ः विज्ञानले मानिसलाई बाह्य संसारको ज्ञान दिन्छ भने अध्यात्मले आन्तरिक उर्जा, नैतिकता र आत्मअनुशासन सिकाउँछ । मानिस पूर्ण हुनका लागि यी दुवैको आवश्यकता पर्दछ । पहिले पहिले मानिसहरू खुसी र सम्पन्न हुनका लागि भौतिक विज्ञान र भौतिक सम्पत्तिको पछि लाग्ने गर्थे भने अहिले मानिसहरू खुसी र सम्पन्न हुनका लागि अध्यात्मको आडभरोसा लिने गर्दछन् । नाट्यसम्राट बालकृष्ण समले समेत ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भनेर गएका छन् । अहिले दुनियाका मालिक भनेर वेभसाइट र इन्टरनेटका सर्जकहरू भइरहेका छन् भने त्यहाँका मजदुरहरूको रूपमा त्यसका युजर तथा प्रयोगकर्ताहरू भइरहेका छन् । विश्वको यो परिवर्तनले धनी र सम्पन्न को हो भन्ने कुरामा समेत पुनव्र्याख्या गर्नु पर्ने भइसकेको छ, जुन कुराको व्याख्या गर्न विज्ञानलाई समेत चुनौती थपिएको छ । बाँकी जो हजुरहरूको मर्जी !

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १ गते बिहीबार