युवाहरूलाई लागूऔषध न्यूनीकरणसम्बन्धी सचेतनात्मक तालिम



बर्दिया ।

युवाहरूलाई लागूऔषध दुव्र्यसनबाट जोगाइ स्वस्थ, अनुशासित र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘युवाहरूलाई लागूऔषध न्यूनीकरणसम्बन्धी सचेतनात्मक तालिम’ सुरु भएको छ । ठाकुरबाबा नगरपालिका–९ मा आयोजित तालिमको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले एक कार्यक्रमका बीच उद्घाटन गरे ।

मन्त्री पाण्डेले देशले हाल बेहोरेका विभिन्न सामाजिक तथा मानवीय क्षतिहरूमध्ये लागूऔषध दुव्र्यसन पनि एउटा गम्भीर कारणका रूपमा रहेको बताए । राष्ट्रका होनहार युवायुवतीलाई लागूऔषधजस्तो कुलतबाट बचाउन युवाहरू आफैँ सचेत र अग्रसर हुनुपर्नेमा उनले जोड दिए । मन्त्री पाण्डेले बेरोजगारीको मारमा परेका धेरै युवाहरू दिनप्रतिदिन लागूऔषधको दुव्र्यसनमा फँस्दै गएको भन्दै यस समस्याको समाधानका लागि परिवार, विद्यालय, स्थानीय सरकार, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवाला निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य अम्बिका काफ्ले, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल, ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष लगायतले मन्तव्य व्यक्त गर्दै लागूऔषधविरुद्ध सबै तहबाट अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । तालिममा प्रशिक्षक गोपीन्द्र बुढामगरले लागूऔषध दुव्र्यसनका कारण सामाजिक, मानसिक, आर्थिक तथा स्वास्थ्यमा पर्ने असर, कानुनी व्यवस्था र रोकथामका उपायबारे सहजीकरण गरेका थिए ।

तालिममा ठाकुरबाबा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, पत्रकार, मन्त्रालयका कर्मचारीलगायत करिब ८० जना युवायुवतीको सहभागिता रहेको आयोजकले जनाएको छ । युवाहरूमा सकारात्मक सोच, आत्मविश्वास र लागूऔषधविरुद्ध सामाजिक अभियान विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिम केही दिनसम्म सञ्चालन हुने जनाइएको छ । शाखा अधिकृत ओमभक्त थापाले कार्यक्रमको उद्देश्यका बारेमा प्रष्टाएका थिए । मोहम्मद साजिद खाँले सञ्चालन गरेको उक्त कार्यक्रम मन्त्रालयका उपसचिव विष्णुप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार