मुगु ।
मुगुको सोरु गाउँपालिका–७ की बालसुन्दरी विष्ट मात्र होइन, त्यहाँका अधिकांश विद्यार्थी उपयुक्त कोठा नहुँदा टहरामा पढ्न बाध्य छन्। गाउँपालिकामा रहेको एकमात्र ‘आवासीय विद्यालय’ मा आवश्यक भौतिक पूर्वाधार (कक्षाकोठा) नहुँदा विद्यार्थीहरू कष्टकर रूपमा जस्ताको टहरोमा बसेर पढ्न थालेको वर्षौँ भयो।
प्राथमिक तहमा सामान्य कक्षाकोठा भए पनि निमाविदेखि माविसम्मका विद्यार्थीहरू जस्ताको टहरामा बसेर पढ्न बाध्य भएका हुन्। कक्षाकोठाको अभावले गर्दा विद्यार्थीलाई जस्ताको टहरोभित्र बसालेर पढाउनुपरेको प्रधानाध्यापक रत्नराज चौलागाईले बताए।
दुर्गम बस्तीका, सहरमा गएर पढ्न नसक्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई शिक्षा प्रदान गर्ने उद्देश्यले यो आवासीय विद्यालय सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छक्कबहादुर विष्टले जानकारी दिए।
अभिभावक वर्ग, नागरिक अगुवा र वडा सदस्यले सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारको शिक्षा मन्त्रालयसँग तत्काल बजेट व्यवस्था गरी विद्यालयमा भवन र सुरक्षित कक्षाकोठा निर्माण गरिदिन माग गरे पनि अहिलेसम्म कतैबाट सुनुवाइ हुन सकेको छैन।उक्त आवासीय माविमा बुम्च, ख्याल्च, सिरुपाट, गोइलपानी, पारपानी र तारापानी लगायतका दुर्गम बस्तीहरूबाट विद्यार्थीहरू पढ्न आउने गरेका छन्।
प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्