नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा रुकुम पश्चिम पहिलो जिल्ला बनेको छ । पछिल्ला तीन वर्षको तथ्यांकअनुसार जिल्लाले निरन्तर सुधार गर्दै उत्कृष्ट नतिजा हासिल गरेको हो । शिक्षा विकास निर्देशनालय सुर्खेतको तथ्यांकअनुसार रुकुम पश्चिममा २०८० सालमा ६३.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
उक्त दर २०८१ मा बढेर ७४.९४ प्रतिशत पुगेको थियो भने २०८२ मा ७९.३४ प्रतिशत कायम भएको छ । लगातार सुधारसँगै रुकुम पश्चिम प्रदेशकै उत्कृष्ट नतिजा ल्याउने जिल्ला बनेको हो । यस्तै, मुगु जिल्लाले पनि एसइई नतिजामा उल्लेखनीय फड्को मारेको छ । २०८२ सालमा मुगुमा ७५.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । २०८० मा त्यहाँ केवल ४१.८९ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए भने २०८१ मा यो दर ६९.०९ प्रतिशत पुगेको थियो ।
तीन वर्षको अवधिमा मुगुले झण्डै दोब्बर सुधार गर्दै प्रदेशका जिल्लामध्ये उत्कृष्ट प्रगति गर्ने जिल्लाको रूपमा आफूलाई स्थापित गरेको तथ्यांकले देखाएको छ । यी विद्यालयहरूले नियमित पठनपाठन, शिक्षक व्यवस्थापनमा सुधार, विद्यार्थीको बढ्दो सहभागिता तथा स्थानीय तहको चासोका कारण नतिजामा सकारात्मक परिवर्तन आएको बताएका छन् ।
यस्तै, जुम्लाको नतिजा पनि सुधारोन्मुख देखिएको छ । २०८० मा ५१.०७ प्रतिशत रहेको नतिजा २०८१ मा ७५.८५ प्रतिशत पुगेको थियो । २०८२ मा केही घटेर ६८.१७ प्रतिशत भए पनि जुम्ला प्रदेशका उच्च नतिजा ल्याउने जिल्लामध्येमा परेको छ । सल्यानमा पनि तीन वर्षको अवधिमा एसइईको नतिजामा सुधार भएको देखिन्छ । सल्यानमा २०८० मा ४८.५१ प्रतिशत रहेको उत्तीर्ण प्रतिशत २०८१ मा ६५.८९ प्रतिशत पुगेको थियो भने २०८२ मा ६८.५२ प्रतिशत पुगेको छ ।
यता, हुम्लामा भने लगातार नतिजा घट्दोक्रममा देखिएको छ । २०८० मा ४७.८९ प्रतिशत रहेको उत्तीर्ण प्रतिशत २०८१ मा ५१.६० प्रतिशत पुगे पनि २०८२ मा घटेर ४९.३७ प्रतिशतमा झरेको छ । यस्तै, जाजरकोटको एसइई नतिजा पनि खराब विन्दुमा झरेको छ । २०८० मा जाजरकोटमा ५५.३१ प्रतिशतबाट बढेर २०८१ मा ८२.११ प्रतिशत पुगेको नतिजा २०८२ मा घटेर ४५.९१ प्रतिशतमा सीमित भएको छ भने डोल्पाको नतिजा पनि तीन वर्षको अवधिमा सबैभन्दा कमजोर अवस्थामध्येमा देखिएको छ ।
२०८० मा ४४.९८ प्रतिशत रहेको उत्तीर्ण प्रतिशत २०८१ मा झन् घटेर ३३.१० प्रतिशत पुगेको थियो । २०८२ मा केही सुधार हुँदै ४६.६९ प्रतिशत पुगेको नतिजालाई सन्तोषजनक मानिएको छैन । त्यस्तै दैलेखको अवस्था झन् चिन्ताजनक देखिएको छ । २०८० मा १६.८५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका दैलेखमा २०८१ मा २२.८९ प्रतिशत पुगेको थियो । २०८२ मा केही सुधार भएर एसइईको नतिजा ३१.८२ प्रतिशतमा सीमित भएको छ । प्रदेशका सबै जिल्लामध्ये दैलेखको नतिजा सबैभन्दा कमजोर छ ।
यता, सुर्खेतमा २०८० मा ३३.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । २०८१ मा यो प्रतिशत बढेर ५४.१३ पुगेको थियो । २०८२ मा पुनः बढेर ५८.१९ प्रतिशत पुगेको छ । प्रदेश राजधानी रहेको जिल्लामा पछिल्ला वर्षमा सुधार देखिए पनि अपेक्षा अनुसारको नतिजा आउन नसकेको शिक्षा क्षेत्रका जानकारहरूको भनाइ छ । कालीकोटको नतिजामा पनि सुधार देखिएको छ ।
२०८० मा ३६.०२ प्रतिशत रहेको उत्तीर्ण प्रतिशत २०८१ मा ५७.०८ प्रतिशत पुगेको थियो । २०८२ मा बढेर ७३.१३ प्रतिशत पुगेको छ । यो तीन वर्षकै सबैभन्दा ठूलो सुधारमध्ये एक मानिएको छ । राष्ट्रियस्तरमा भने २०८१ मा एसइई उत्तीर्ण प्रतिशत ६१.५१ प्रतिशत थियो । २०८२ मा बढेर ६५.८५ प्रतिशत पुगेको छ । तर कर्णाली प्रदेशको समग्र नतिजा राष्ट्रिय औसतभन्दा निकै तल देखिएको छ ।
शिक्षा क्षेत्रमा भौगोलिक विकटता, शिक्षक अभाव, विद्यालय पूर्वाधारको कमजोरी, नियमित पठनपाठनमा समस्या तथा आर्थिक–सामाजिक अवस्था कमजोर हुनु कर्णालीको कमजोर नतिजाका मुख्य कारणका रूपमा औँल्याइँदै आएको छ । तर केही जिल्लामा देखिएको सुधारले उचित शैक्षिक व्यवस्थापन र नियमित अनुगमन भए कर्णालीको शैक्षिक अवस्था सुधार हुनसक्ने जनाइएको छ ।
५९ प्रतिशत विद्यार्थी उत्तीर्ण
कर्णाली प्रदेशमा गत वर्ष २०८२ को चैतमा लिइएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा समग्रमा सुधार भएको पाइएको छ । उच्च शिक्षाको ढोका मानिने एसइईमा गत वर्ष कर्णालीबाट साधारण र प्राविधिक धार गरी कूल ३२ हजार तीन सय ३६ विद्यार्थी सहभागी भएका थिए। जसमा १९ हजार ९५ अर्थात् ५९.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यो विगत दुई वर्षको तुलनामा केही अंकले सुधार भएको नतिजा हो । तथ्यांकअनुसार कूल विद्यार्थीमध्ये १३ हजार दुई सय ४१ अर्थात् ४०.९५ विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउने गरी फेल भएका छन् । निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार कर्णालीका १० जिल्लामध्ये केहीले सन्तोषजनक नतिजा सुधार गरेका छन् भने केही जिल्लामा नतिजा निरन्तर कमजोर बन्दै गएको देखिन्छ ।
प्रदेशको समग्र नतिजा २०८० मा ४१.५३ प्रतिशत रहेकोमा २०८१ मा बढेर ५६.८७ प्रतिशत पुगेको थियो । २०८२ मा बढेर ५९.०५ प्रतिशत पुगेको छ । तथ्यांकअनुसार २०८२ सालमा सबैभन्दा राम्रो नतिजा मुगु जिल्लाले ल्याएको हो । कर्णालीका १० जिल्लामा ३.२० देखि ४ जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या एक हजार दुई सय ६८ छ ।
यस्तै तीन हजार नौ सय ८९ जनाले ३.२० देखि ३.६०, सात हजार ६ सय ३० जनाले २.८० देखि ३.२०, पाँच हजार ६ सय १९ जनाले २.४० देखि २.८० जिपिए प्राप्त गरेका छन् । यस्तै, पाँच सय ८९ जनाले २ देखि २.४० जिपिए प्राप्त गरेको तथ्यांकमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्