सर्वोच्चको निर्णयपछि नेपाली काँग्रेसभित्र तीव्र ध्रुवीकरण



राजनीतिक विश्लेषकहरूका अनुसार अहिलेको अवस्था ‘फुटको पूर्वसंकेत’ हो । यदि दुवै पक्षले लचिलोपन नदेखाए काँग्रेस औपचारिक रूपमा विभाजनतर्फ जान सक्ने जोखिम बढ्दै गएको उनीहरूको विश्लेषण छ ।

काठमाडौँ।

आन्तरिक विवादले लामो समयदेखि थलिएको नेपाली काँग्रेस अहिले झनै गम्भीर मोडमा पुगेको छ । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाले पार्टीभित्रको शक्ति सन्तुलन नै हल्लाइदिएको छ । अदालतले गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिएको व्याख्या सार्वजनिक भएपछि काँग्रेसभित्र खुला ध्रुवीकरण सुरु भएको हो ।

पार्टीभित्रको यो नयाँ शक्ति समीकरणले पुरानो संस्थापन पक्षलाई दबाबमा पारेको छ भने सुधारवादी धारलाई बलियो बनाएको छ । सर्वोच्चको व्याख्यालाई आफ्नै तरिकाले व्याख्या गर्ने काम भइरहेको छ । पार्टी नेता विमलेन्द्र निधीले फैसलाले पुराना कार्यकर्तामाथि अन्याय भएको दाबी गरेका छन् भने महामन्त्री गुरुराज घिमिरेले अदालतले वर्षौँदेखि थिचोमिचोमा परेका कार्यकर्ता उठ्ने मौका आएको प्रतिक्रिया दिएका छन् ।

थापा समूहले आफूहरूलाई वैधानिक र संस्थागत रूपमा सही धार भएको दाबी गर्दै पार्टीको आगामी दिशा तय गर्ने संकेत दिएको छ । उनीहरू यतिबेला काँग्रेसलाई समयअनुसार रूपान्तरण नगरे पार्टीको अस्तित्वमै प्रश्न उठ्ने बताइरहेका छन् । यता संस्थापन पक्ष भने अदालतको निर्णयलाई ‘आंशिक’ रूपमा मात्र स्वीकार गर्ने रणनीतिमा देखिएको छ ।

नेताहरूबीचको संवाद असफल हुँदै जाँदा अब विवाद समाधानभन्दा पनि शक्ति प्रदर्शनतर्फ केन्द्रित हुने संकेत देखिएको छ । यही सन्दर्भमा विशेष महाधिवेशन अघिसम्मका उपसभापति पूर्णबहादुर खड्काले आइतबारका लागि केन्द्रीय समिति बैठक बोलाएका छन् । उक्त बैठकलाई निर्णायक मानिएको छ ।

खड्काले सबै पक्षलाई सहभागी हुन आग्रह गरे पनि थापा समूहले आफ्नो स्पष्ट एजेन्डाबिना बैठकमा सहभागी नहुने काँग्रेस निकट स्रोतहरू बताउँछन् । खड्काले बोलाएको बैठकमा मुख्यतः अदालतको निर्णयको औपचारिक समीक्षा, पार्टीको संगठनात्मक पुनर्संरचना र आगामी रणनीतिबारे छलफल हुने उनी निकट एक नेताले बताए । तर, थापा समूहले भने नेतृत्व परिवर्तन र नीतिगत सुधारलाई प्राथमिकता दिनुपर्ने अडान राखेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार अहिलेको अवस्था ‘फुटको पूर्वसंकेत’ हो । यदि दुवै पक्षले लचिलोपन नदेखाए काँग्रेस औपचारिक रूपमा विभाजनतर्फ जान सक्ने जोखिम बढ्दै गएको उनीहरूको विश्लेषण छ । विगतमा पनि आन्तरिक विवादका कारण पार्टी कमजोर भएको उदाहरण उल्लेख गर्दै विश्लेषकहरू अहिलेको संकटलाई ‘निर्णायक मोड’ मान्छन् ।

थापा समूहले युवापुस्तालाई आकर्षित गर्ने, पारदर्शिता बढाउने र नीतिगत स्पष्टता ल्याउने एजेन्डा अघि सारेको छ । ‘अब पनि परिवर्तन नगर्ने हो भने काँग्रेस इतिहास बन्न सक्छ,’ थापा निकट एक नेताले भने । संस्थापन पक्ष भने अनुभव र निरन्तरताको पक्षमा उभिएको छ । उनीहरूका अनुसार पार्टीलाई स्थिरता आवश्यक छ, न कि अचानकको प्रयोग । उनीहरूले थापा समूहलाई पार्टी एकता कमजोर पार्ने आरोप लगाएका छन्।

काँग्रेसभित्रको यो द्वन्द्वले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने देखिएको छ । प्रमुख प्रतिपक्ष दलका रूपमा रहेको काँग्रेस कमजोर भएमा सत्तारूढ गठबन्धनलाई सहज हुने विश्लेषण गरिएको छ । कार्यकर्ता तहमा समेत विभाजनको असर देखिन थालेको छ ।

विभिन्न जिल्लामा समानान्तर भेला, छलफल र रणनीतिक बैठकहरू भइरहेका छन् । सामाजिक सञ्जालमा समेत नेताहरूबीच आरोप–प्रत्यारोप बढेको छ, जसले विवादलाई थप चर्काएको छ । अबको केही दिन काँग्रेसका लागि अत्यन्त महत्वपूर्ण हुने देखिएको छ । आइतबार बस्ने बैठकले पार्टी एकताका लागि नयाँ मार्ग खोल्ने कि औपचारिक विभाजनको बाटो तय गर्ने भन्ने स्पष्ट हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार