अस्पताल निर्माणको काममा गति



सिमिकोट ।

हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा शिलान्यास भएर निर्माण सुरु भएको १५ शैयाको अस्पतालको कामले फेरी गति लिएको छ । चार वर्षअगाडि सम्झौता भए पनि पटक पटकको म्याद थप र गाउँपालिकाले सम्झौता रद्द गर्नेसम्मको ताकेता दिएपछि निर्माण कम्पनीले असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिएको हो ।

गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले अस्पताल भवन निर्माणले गति लिएकाले चालू आर्थिक वर्षभित्र सम्पन्न हुने अपेक्षा गरिएको बताए । उनका अनुसार अस्पताल निर्माणका लागि सम्झौता भएको वर्ष शिलान्यास गर्ने काम मात्र भएको थियो भने दोस्रो वर्ष हात्तीपाइले ढलानको कार्य भएको थियो । तेस्रो वर्ष पिल्लर ढलान भएर काम रोकिएको थियो ।

उनले भने, ‘गाउँपालिकाले सम्झौता रद्द गर्नेसम्मको धम्की दिएपछि गत भदौबाट कामले तीव्रता पाएको छ ।’ निर्माण कम्पनी सिएम कन्स्ट्रक्सनका सबइन्जिनियर डिबी लामाले अहिलेसम्म अस्पतालको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको दाबी गरे । ‘सुरुमा सडक सञ्जाल नजोडिएका कारण बाहिरबाट ढुवानी गरेर निर्माण सामग्रीको व्यवस्था गर्न कठिन थियो ।

त्यसैले काम अगाडि बढ्न सकेन,’ उनले भने, ‘अहिले राष्ट्रिय सडक सञ्जालसँग गाउँपालिका जोडिँदा निर्माण सामग्री सहज रूपमा ढुवानी हुन थालेको छ । जसले गर्दा कामलाई अगाडि बढाउन सहज भएको छ ।’ उनका अनुसार हाल भवनको पहिलो तला ढलान पूरा भएको छ भने अब उक्त भवनको फिनिसिङ कार्य पनि चलिरहेको छ ।

स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित निर्माण थालिएको उक्त अस्पतालको काम ठेकेदार कम्पनीले पुनः सक्रियताका साथ अघि बढाएको हो । निर्माण कार्यमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधान भएसँगै कामले गति लिएको सम्बन्धित पक्षले बताएका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ३ गते बिहीबार