सल्यान ।
जिल्लाबाट एक वर्षमा अवधिमा एक अर्ब ६९ करोड १० लाख चार हजार बराबरको कृषिजन्य वस्तु निकासी भएको छ । कृषि विकास कार्यालय सल्यानको आर्थिक वर्ष २०८१–०८२ को तथ्यांकअनुसार चार लाख १४ हजार ५८७ मेट्रिकटन कृषिजन्य वस्तुबाट एक अर्ब ६९ करोड १० लाख रूपैयाँ जिल्ला भित्रिएको हो ।
जसमा तीन करोड ७२ लाखको मकै, ३७ लाख ८० हजारको कोदो, ५१ करोड ९८ लाख ५७ हजारको ताजा तरकारी र ४२ करोड १८ लाख ८५ हजार रूपैयाँको सुन्तला बिक्रि भएको छ । यस्तै कागती र किबी निकासीबाट पनि राम्रै रकम भित्रिएको कार्यालयले जनाएको छ । एक करोड ९४ लाख ६६ हजारको फलफूल नर्सरी, ३८ करोड १९ लाख ८१ हजारको अदुवा, बेसार र ५० लाख ५७ हजार रूपैयाँको अलैँची बिक्री भएको कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिए ।
उनका अनुसार २९ करोड चार लाख ५२ हजारको आलु, ८५ लाखको मह र १९ लाख २५ हजारको तिल, भांगो सिमी निकासी भएको छ । जिल्लाबाट बेमौसमी ताजा तरकारी र सुन्तला बढी मात्रामा निकासी हुने गरेको उनले बताए । तरकारी, सुन्तला मसलाबाली अन्तर्गतको अदुवा र बेसार विशेष गरी सल्यानका किसानको मुख्य आम्दानीको स्रोत बनेका छ ।
जिल्लामा उत्पादन भएको कृषिजन्य वस्तु दाङ, नेपालगन्ज, सुर्खेत, पोखरा, बुटवल, काठमाडौँ, धनगढी लगायतका मुख्य व्यापारिक केन्द्रमा जाने गर्दछ । कार्यालयका अनुसार सल्यानबाट मकै एक हजार १७० मेट्रिकटन, कोदो ३२ मेट्रिकटन, ताजा तरकारी ६५ हजार ५४९ मेट्रिकटन र सुन्तला, कागती, किबी पाँच हजार १३१.१ मेट्रिकटन निर्यात भएको छ ।
यस्तै फलफूल नर्सरी ३२ लाख पाँच हजार ५५० वटा, आठ हजार ११५ मेट्रिकटन अदुवा, बेसार, २.५८ मेट्रिकटन अलैँची, आठ हजार ८६४ मेट्रिकटन आलु, ८.५ मेट्रिकटन मह र १६५ मेट्रिकटन तिल, भांगो सिमी निकासी भएको हो । आव २०८०–०८१ मा सल्यानबाट ३० हजार ३०१ मेट्रिकटन कृषिजन्य वस्तु निकासी हुँदा एक अर्ब ४२ करोड ११ लाख २२ हजार रूपैयाँ जिल्ला भित्रिएको छ ।
यस्तै चालू आर्थिक वर्ष २०८२–०८३ मा सल्यानमा २० हजार ९५० मेट्रिकटन अदुवा उत्पादन भएको छ । पछिल्लो दुई वर्षयता अदुवाले राम्रो मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित बनेका छन् । कृषि विकास कार्यालयका अनुसार जिल्लामा एक हजार ४२० हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ ।
अघिल्लो आर्थिक वर्षमा सोही क्षेत्रफलबाट २० हजार ९०९ मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष उत्पादन बढेको हो । यस वर्ष अदुवा प्रतिकिलो ४० देखि ५० रूपैयाँसम्ममा बिक्री भएको किसानहरुले जनाएका छन् । बागचौर नगरपालिका–७ का किसान दीपेश डिसीले गत वर्ष ३५ क्विन्टल बिक्री गरेको अदुवा यस वर्ष ५० क्विन्टल पुगेको बताए ।
बीउ नछानेको अदुवा प्रतिक्विन्टल पाँच हजार ५०० र बीउ छानेको चार हजार ५०० रूपैयाँ क्विन्टल बिक्री गरेको डिसीको भनाइ छ । विगतमा उत्पादन बढी हुँदा मूल्य घट्ने समस्या रहे पनि पछिल्लो दुई वर्षदेखि भने बजार र मूल्य दुवैमा सुधार आएको किसानहरू बताउँछन् ।
छत्रेश्वरी गाउँपालिका–२ का डम्बर महरले पनि अदुवाबाट राम्रो उत्पादन पाएको बताए ।
एक क्विन्टल बीउबाट ६ क्विन्टलसम्म उत्पादन भएको जानकारी दिँदै थप खेती विस्तार गर्ने तयारी गरेको उनको भनाइ छ । बजार सुनिश्चितता कायम रहे अदुवा खेती अझै विस्तार हुने कृषि प्राविधिकहरूको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्