सुर्खेत ।
चालू आर्थिक वर्ष २०८२–०८३ मा कर्णाली प्रदेशभरबाट ६५६ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका अनुसार विभिन्न स्रोतमार्फत प्राप्त उजुरीहरूमध्ये अधिकांश अनलाइन प्रणालीमार्फत आएका छन् ।तथ्यांकअनुसार साउन महिनामा सबैभन्दा धेरै १५७ उजुरी दर्ता भएका छन्, जसमा १३५ उजुरी ‘आयोगको वेबसाइट’मार्फत प्राप्त भएका छन् ।
त्यसैगरी भदौ र असोज महिनामा समान रूपमा २०६२–०६२ उजुरी दर्ता भएका छन् भने कात्तिकमा ४६ उजुरी प्राप्त भएका छन् । मंसिर महिनामा उजुरी सङ्ख्या बढेर ७६ पुगेको छ भने पुसमा ८८ उजुरी दर्ता भएका छन्, जुन दोस्रो उच्च सङ्ख्या हो । माघमा ६८ उजुरी, फागुनमा ३५ र चैतमा ५१ उजुरी दर्ता भएका छन् । उजुरी प्राप्त हुने माध्यममध्ये आयोगको वेबसाइट प्रमुख रहेको छ ।
त्यसपछि इमेल, मोबाइल एप, टेलिफोन, हुलाक सेवा, फेसबुक, समाचारपत्र, एसएमएस, तथा प्रत्यक्ष निवेदनजस्ता माध्यमबाट पनि उजुरी आउने गरेको आयोगले जनाएको छ । आयोगका अनुसार डिजिटल माध्यमको प्रयोग बढेसँगै अनलाइनमार्फत उजुरी दिने प्रवृत्ति उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ ।
यसले सेवाग्राहीलाई सहज पहुँच उपलब्ध गराएको तथा पारदर्शिता अभिवृद्धिमा सहयोग पुगेको आयोगको भनाइ छ । कार्यालयले प्राप्त उजुरीहरूको छानबिन तथा अनुसन्धान कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको जनाएको छ । साथै, भ्रष्टाचारविरुद्ध नागरिकको सक्रिय सहभागिता सकारात्मक संकेत भएको आयोगले उल्लेख गरेको छ ।
आयोगको कार्यालयले प्राप्त उजुरीमाथि कडा निगरानी बढाउँदै धमाधम कारबाही सिफारिस गर्न थालेको जनाएको छ । आयोगका अनुसार पछिल्लो समय उजुरीहरूको प्रारम्भिक छानबिन तीव्र बनाइँदै अनियमितता पुष्टि भएका प्रकरणहरूमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो ।
कार्यालयका प्रमुखले उजुरी व्यवस्थापनलाई व्यवस्थित बनाउँदै प्राथमिकता निर्धारणका आधारमा अनुसन्धान अघि बढाइएको जानकारी दिए । विश्वसनीय आधारसहित आएका उजुरीहरूलाई छिटो छानबिन गरी सम्बन्धित निकायमा कारबाही सिफारिस गर्ने काम धमाधम भइरहेको कार्यालयले जनाएको छ ।
आयोगका अनुसार डिजिटल माध्यमबाट उजुरी दिने प्रवृत्ति बढेसँगै केसहरूको सङ्ख्या पनि वृद्धि भएको छ । त्यसलाई मध्यनजर गर्दै तथ्य संकलन, प्रमाण व्यवस्थापन र अनुगमन प्रणालीलाई अझ सुदृढ बनाइएको जनाइएको छ । कार्यालयले सार्वजनिक सेवा प्रवाहमा देखिएका अनियमितता, घुस लेनदेन, पदको दुरुपयोग लगायतका विषयमा आएका उजुरीमाथि विशेष ध्यान दिँदै आएको छ ।
प्रमाण पुष्टि भएका घटनामा सम्बन्धित कर्मचारी वा निकायविरुद्ध विभागीय कारवाही, मुद्दा दर्ता वा अन्य कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरिएको आयोगले जनाएको छ । आयोगले भ्रष्टाचार नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सत्यतथ्यमा आधारित उजुरी दिन सबैलाई आग्रह गरेको छ । साथै, उजुरीकर्ताको गोपनीयता सुरक्षित राख्दै निष्पक्ष अनुसन्धान गरिने प्रतिबद्धता समेत जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्