सन्तुलित कूटनीति र शान्ति केन्द्रमाः प्रधानमन्त्री शाह



काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले सन्तुलित, व्यवहारिक र जिम्मेवार कूटनीति अपनाउँदै विश्व शान्तिलाई साझा प्राथमिकताका रूपमा अघि बढाउने बताएका छन् । पदभार सम्हालेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखहरूलाई सामूहिक रूपमा ब्रिफिङ गर्दै उनले नेपालको परराष्ट्र नीतिको दिशा स्पष्ट गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा शाहले नेपालले छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपालको परराष्ट्र नीति सन्तुलित र व्यावहारिकता दोहो¥याउँदै शाहले अन्तर्राष्ट्रिय सम्बन्धमा सहकार्य र संवादलाई प्राथमिकता दिने बताएका थिए । उनले विश्वका विभिन्न क्षेत्रमा जारी युद्ध र द्वन्द्वतर्फ संकेत गर्दै यस्तो परिस्थितिमा शान्ति सबै राष्ट्रको साझा एजेन्डा हुनुपर्ने धारणा राखे ।

सुशासन र विकासमा सरकारको ध्यान 

प्रधानमन्त्री शाहले नयाँ जनादेशपछि बनेको सरकारले सुशासन, आर्थिक विकास र जनजीवन सुधारलाई मुख्य प्राथमिकता बनाएको बताएका थिए । उनले कूटनीतिक समुदायसँग नेपालमा लगानी, विकास सहकार्य र आर्थिक साझेदारीलाई थप विस्तार गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ब्रिफिङ कार्यक्रममा भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, फ्रान्स, जर्मनी, कतार, साउदी अरेबिया, इजरायल, दक्षिण कोरिया, बंगलादेश, श्रीलंकालगायत विभिन्न मुलुक तथा संयुक्त राष्ट्रसंघका राजदूत र नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार