तीन पालिकाको फोहर व्यवस्थापन एकीकृत रूपमा गरिने



नन्दराम जैशी । सुर्खेत ।

जिल्लाका तीन नगरपालिकाको फोहर व्यवस्थापन अब एकीकृत रूपमा गरिने भएको छ । भेरीगंगा, लेकबेँसी र गुर्भाकोट नगरपालिकाबाट संकलित फोहरलाई एउटै स्थानमा राखेर प्रशोधन गर्ने योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको हो । भेरीगंगा नगरपालिका–१२ मा निर्माणाधीन फोहर प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

केन्द्र सञ्चालनमा आएपछि तीनवटै नगरपालिकाको फोहर व्यवस्थापन व्यवस्थित हुने विश्वास गरिएको छ । हालसम्म छुट्टाछुट्टै रूपमा फोहर व्यवस्थापन गर्दै आएका नगरपालिकाहरूले अब एउटै केन्द्रमार्फत फोहर प्रशोधन गर्नेछन् । यसले वातावरणीय प्रदूषण न्यूनीकरण हुनुका साथै स्रोतको सदुपयोगमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय तहका अनुसार फोहर प्रशोधन केन्द्र सञ्चालनमा आएपछि दैनिक रूपमा संकलित फोहरलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गरिनेछ । यसले दीर्घकालीन रूपमा स्वच्छ र स्वस्थ वातावरण निर्माणमा टेवा पुग्ने विश्वास गरिएको भेरगिंगा नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए । उनका अनुसार प्रदेश सरकार र भेरीगंगा नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा उक्त प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको हो भने भौतिक संरचना निर्माणको काम पूरा भएको छ ।

‘निर्माण भएका भवनमा पानी तथा बत्ती, पर्खाललगायत केही संरचना बनाउन बाँकी रहेको छ,’ उनले भने, ‘भौतिक पूर्वाधार तथा सडकको काम भए पनि अब कुहिने र नकुहिने फोहरलाई प्रशोधन गर्ने उपकरण खरिद गर्ने रकम नहुँदा समस्या भएको छ ।’ उनका अनुसार प्रदेश सरकारले सुरुमा सहयोग गरेको थियो । तर अहिले नगरपालिकाले एक्लै काम गर्नुपर्दा समस्या भएको हो ।

‘भेरीगंगा–१२ स्थित रामजानकी सामुदायिक वनमा प्रशोधन केन्द्र छ, २० रोपनी जग्गामा उक्त संरचना निर्माण गरिएको हो,’ उनले थपे, ‘विसं २०७९ चैतमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा निर्माण सुरु भएको थियो ।’
फोहर व्यवस्थापन र प्रशोधन गरी ग्यास उत्पादन गर्ने योजना समेत रहेको नगरप्रमुख ढकालले जानकारी दिए ।

फोहर प्रशोधन केन्द्रमा फोहरको वर्गीकरण तथा प्रशोधन समेत हुनेछ । प्रशोधन केन्द्र पूर्ण रूपमा सम्पन्न भई सञ्चालनमा आएपछि नगरपालिकाको आन्तरिक आम्दानी पनि बढ्ने अपेक्षा छ । फोहरलाई मोहर बनाउन प्रशोधन केन्द्र निर्माण थालिएको हो । फोहरलाई व्यवस्थापन गर्दै फोहरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रशोधन केन्द्रसम्म पुग्ने पहुँचमार्ग निर्माण लगायतका काम सकिएको नगरपालिकाले जनाएको छ । अन्य संरचना निर्माणसमेत भइसकेका छन्। केन्द्र निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७९–०८० मा ५० लाख बजेट विनियोजन गरेको थियो । उक्त आयोजनाको निरन्तरताका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ भने नगरपालिकाले ४९ लाख ५० हजार बजेट छुट्याएर काम गरेको थियो ।

सडक, पानीलगायत पूर्वाधार निर्माणका लागि गत वैशाख २४ गते सौरव निर्माण सेवासँग ९९ लाख ९८ हजार ३५३ मा सम्झौता गरिएको थियो भने आगामी असार १५ गतेसम्म सबै काम पूरा गर्ने सम्झौतामा उल्लेख छ । फोहरलाई व्यवस्थापन गर्दै फोहरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य राखिएको छ भने लक्ष्यअनुसार कामले गति लिएका सयौँले रोजगारी समेत पाउनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार