सरकारी कार्यालय र शैक्षिक संस्था साताको पाँच दिन मात्र



अन्तर्राष्ट्रियस्तरमा बढ्दो तनाव र पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको असहज अवस्थाले नेपालमा दैनिक जनजीवन प्रभावित हुन थालेपछि सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको जनाएको छ ।

काठमाडौँ ।

सरकारले सरकारी कार्यालय सातामा पाँच दिन मात्र खुला गर्ने निर्णय गरेको छ । साताको ६ दिनको कार्यालय समयलाई घटाउँदै अबदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरिएको हो । साताको दुई दिन बिदा दिइसकेपछि बाँकी पाँच दिन भने बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सरकारी कार्यालय र शैक्षिक संस्था खुला हुनेछन् ।

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी दुई दिने साप्ताहिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

अन्तर्राष्ट्रियस्तरमा बढ्दो तनाव र पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको असहज अवस्थाले नेपालमा दैनिक जनजीवन प्रभावित हुन थालेपछि सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको जनाएको छ । पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएकाले इन्धन खपत घटाउने उद्देश्यले यस्तो निर्णय गरिएको पोखरेलले जानकारी दिए ।

यस्तो निर्णयले सीमित इन्धन आपूर्तिका बीच प्रशासनिक कामलाई व्यवस्थित बनाउने र अनावश्यक आवतजावत कम गर्ने लक्ष्य राखिएको पोखरेलले बताए । साथै मन्त्रीपरिषद्ले डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई क्रमशः विद्युतीय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय पनि गरेको छ । ऊर्जा संकटलाई दीर्घकालीन रूपमा समाधान गर्न विद्युतीय सवारी प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको बताइएको छ ।

पछिल्लो समय मध्यपूर्व क्षेत्रमा बढेको द्वन्द्व, विशेषगरी इरान–अमेरिका–इजरायलबीचको तनावले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढाएको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिएको छ, जसका कारण पेट्रोलको मूल्य प्रतिलिटर २ सय २ रूपैयाँसम्म पुगेको छ। युद्ध जारी भए अझै मूल्य वृद्धि हुने तथा आर्थिक संकट बढेर जाने भन्दै संसारभरि चिन्ता व्यक्त भइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २३ गते सोमबार