थारू पत्रकार संघ बाँकेको अध्यक्षमा जागेश्वर



कोहलपुर (बाँके) ।

थारू पत्रकार संघ नेपाल जिल्ला कमिटी बाँकेको नयाँ कार्यसमिति चयन गरिएको छ । बिहीबार बैजनाथ–१ गाभर भ्यालीमा सम्पन्न पाँचौँ जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनले जागेश्वरसिंह थारूको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

संघको उपाध्यक्षमा लिला चौधरी, सचिवमा लक्ष्मी चौधरी, सहसचिवमा अमृति चौधरी र कोषाध्यक्षमा सुविता थारूलाई चयन गरिएको छ । यस्तै सदस्यहरूमा रुपा थारू, कमल थारू, मिलन चौधरी र रमेश चौधरी चयन भएको निवर्तमान अध्यक्ष भगतराम थारूले बताए । अधिवेशनकै अवसरमा विभिन्न पत्रकारहरूलाई सम्मान समेत गरिएको छ ।

नेपाल टेलिभिजनमा कार्यरत थारू पत्रकार लिला चौधरीलाई नगद ५ हजार रूपैयाँसहित सम्मान गरिएको छ । उनले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक थारू पत्रकार संघ नेपाल जिल्ला कमिटी बाँकेले जनाएको छ । त्यसैगरी संघका पूर्वजिल्ला अध्यक्षहरू कृष्ण चौधरी, विमला चौधरी, भगतराम थारू र हेमन्त चौधरीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि थारू पत्रकार संघका केन्द्रीय उपाध्यक्ष जनक चौधरीले उनीहरूलाई सम्मान गरेका हुन् । चौधरीले पत्रकारिता क्षेत्रको वर्तमान अवस्था, चुनौती र अवसरका विषयमा मन्तव्य राख्दै संगठनलाई थप प्रभावकारी बनाउन सुझाव दिए ।

उनले भने, ‘पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो । यसलाई अझ जिम्मेवार, निष्पक्ष र प्रभावकारी बनाउन पत्रकारहरूलाई संगठित र सचेत हुन आवश्यक छ ।’ संघका नवनिर्वाचित अध्यक्ष जागेश्वरसिंह थारूले आफ्नो कार्यकालमा पत्रकारहरूको हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा व्यावसायिक पत्रकारिताको विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘पत्रकारिता क्षेत्र चुनौतीपूर्ण अवस्थामा छ । यस्तो अवस्थामा हामी सबै एकजुट भएर अघि बढ्न आवश्यक छ ।’ अधिवेशनमा थारू पत्रकार संघका केन्द्रीय महासचिव हेमन्त चौधरी तथा वरिष्ठ सल्लाहकार विश्वराज पछल्डंग्यासहित जिल्लास्थित क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २२ गते आइतबार