नेपालगन्जबाट ब्राउनसुगरसहित चार जना पक्राउ



नेपालगन्ज ।

बाँकेको नेपालगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार एक सय ४१ ग्राम सात सय ९० मिलिग्राम ब्राउनसुगरसहित नेपालगन्जकै चार जना कारोबारी पक्राउ परेका हुन् ।

नेपालगन्ज वडा नम्बर १ राष्ट्रिय वाणिज्य बैंक नजिकबाट पक्राउ पर्नेहरूमा नेपालगन्ज–१६ जयसपुरका सोनु जोलाह, ईरफान जोलाह, मन्ना जोलाह र नेपालगन्ज १८ का सुमेर शेष रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको जानकारी दिइएको छ । पक्राउ परेकाहरूविरुद्ध लागूऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २२ गते आइतबार