अर्याललाई नेपाली कम्युनिस्ट पार्टी र नेपाली काँग्रेसले समेत समर्थन गर्ने घोषणा गर्दै ती दलले उपसभामुख मागेका छन् । रास्वपाले भने उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिने मनसाय राखेको छ ।

उपसभापति अर्याल
काठमाडौँ, २० चैतः प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्तापश्चात् शुक्रबार सञ्चारकर्मीसँग धारणा राख्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सभामुखका उम्मेदवार डोलप्रसाद (डिपी) अर्याल । तस्बिरः रत्न श्रेष्ठररासस
काठमाडौँ ।
प्रतिनिधिसभाको सभामुख पदमा सांसद डीपी अर्याल निर्विरोध निर्वाचित हुने भएका छन् । मनोनयन दर्ताको निर्धारित समयभित्र अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध बन्ने निश्चित भएको हो । औपचारिक घोषणा भने प्रतिनिधिसभाको आगामी बैठकमा गरिनेछ । सभामुख पदका लागि शुक्रबार ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।
सो अवधिमा अन्य कुनै उम्मेदवार नउठेपछि अर्याल एक्लै उम्मेदवार बनेका हुन् । प्रतिनिधिसभा नियमावलीअनुसार एक जना मात्रै उम्मेदवार भए समर्थक सदस्यले प्रस्ताव राखेपछि अध्यक्षता गर्ने व्यक्तिले निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ । प्रतिनिधिसभाको बैठक आगामी आइतबार बस्ने तय भएकाले सोही बैठकबाट अर्याललाई सभामुख निर्वाचित भएको घोषणा गरिनेछ ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट बहुमत रहेकाले प्रतिपक्षी दलहरूले उम्मेदवारी दिएनन् । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेका छन् भने अन्य दलहरूको सङ्ख्या तुलनात्मक रूपमा कम छ । अर्याललाई नेपाली कम्युनिस्ट पार्टी र नेपाली काँग्रेसले समेत समर्थन गर्ने घोषणा गर्दै ती दलले उपसभामुख मागेका छन् ।
रास्वपाले भने उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिने मनसाय राखेको छ । यद्यपि यसबारे अन्तिम निर्णय भइनसकेको रास्वपा स्रोतले जानकारी दिएको छ । सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ । संसद् सचिवालयका अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक प्रावधान भए पनि एकल उम्मेदवारी परेको अवस्थामा एउटै दलबाट पनि चयन हुन सक्ने व्यवस्था छ ।
उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुनेछ । निर्वाचित सभामुखले कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने हुन्छ । सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्का सदस्य हुने भएकाले उपसभामुखको चयनलाई पनि राजनीतिक रूपमा महत्वका साथ हेरिएको छ ।
संवैधानिक परिषद्ले अख्तियार, निर्वाचन आयोग, प्रधानन्यायाधीश लगायतका संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्ने भएकाले उपसभामुख पदमा कुन दलको प्रतिनिधित्व हुन्छ भन्ने विषय अब राजनीतिक चासोको केन्द्र बनेको छ ।
को हुन् अर्याल ?
अर्यालको पुख्र्योली घर धादिङ हो । तर उनको अधिकांश समय काठमाडौँमा बितेको छ । काठमाडौँ आउँदा उनी होटल मजदुरको रूपमा काम गर्थे । उनको जन्म २०३१ भदौ ६ गते धादिङको मैदीमा भएको हो । केही वर्ष जापानमा बसेका उनी २०५८ मा नेपाल फर्किएर पर्यटन व्यवसायमा सक्रिय भएका थिए ।
यही क्रममा उनको रवि लामिछानेसँग चिनजान भएको थियो र पछि राजनीतिक सहकार्यमा परिणत भयो । राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएपछि अर्याल संस्थापक केन्द्रीय सदस्य र उपसभापतिका रूपमा सक्रिय भए । लामिछाने नागरिकता विवादमा पदमुक्त हुँदा र सहकारी प्रकरणमा थुनामा जाँदा उनले कार्यवाहक सभापतिको जिम्मेवारी पनि सम्हाले ।
२०७९ को निर्वाचनमा समानुपातिक सांसद बनेका अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत बनेका थिए । उनको पहिलो कार्यकाल करिब २० दिन र दोस्रो कार्यकाल चार महिनाजति भएको थियो । गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने उनी काठमाडौँ–९ बाट विजयी भएका हुन् ।









प्रतिक्रिया दिनुहोस्