कर्णाली प्रदेशका १६ पालिकामा नविल निःशुल्क जलन उपचार शिविर हुने



सुर्खेत ।

जलनका कारण शरीरमा गम्भीर समस्या भोगिरहेका बिरामीहरूलाई लक्षित गर्दै कर्णाली प्रदेशका विभिन्न १६ वटा स्थानीय तहमा नविल निःशुल्क जलन उपचार शिविर सञ्चालन गरिँदैछ । जलनपछि देखिने विभिन्न समस्या भएका बिरामीलाई विशेष उपचार सेवा प्रदान गर्ने ध्ययेले कर्णालीका सात जिल्लाका १६ पालिकामा शिविर सञ्चालन गर्न लागिएको हो ।

शिविरबारे पत्रकारहरूलाई जानकारी दिँदै आयोजक संस्थाले विभिन्न स्थानीय तहबाट बिरामी छनोट गरिने र उनीहरूलाई आवश्यक परे शल्यक्रिया समेत गरिने जनाएका छन् । शिविरमा जाँच गर्दा शल्यक्रिया गर्न आवश्यक देखिएमा त्यस्ता बिरामीलाई प्रदेश अस्पताल सुर्खेतमा ल्याएर अप्रेशन गरिने छ । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई आउजाउ र उपचार खर्च सबै आयोजक संस्थाले बेहोर्ने आयोजक संस्थाले जनाएका छन् ।

प्रदेश अस्पताल र नविल बैंकलेको आयोजना तथा अन्य संस्थाको सहकार्यमा हुन लागेको शिविरमा किर्तिपुर अस्पताल काठमाडौँका विशषेज्ञ चिकित्सकसहितको टोली परिचालन हुनेछ । किर्तिपुर अस्पतालका कैलाश खाकी श्रेष्ठका अनुसार शिविरमा जलनका कारण शरीरको कुनै भाग खुम्चिएका, छाला टाँसिएका तथा चलायमानता गुम्ने जस्ता समस्या भएका बिरामीहरूलाई जाँच तथा शल्यक्रिया सेवा प्रदान गरिनेछ ।

यस्ता समस्याबाट पीडित व्यक्तिहरूलाई समयमै उपचार नपाउँदा दैनिक जीवन कष्टकर हुने भएकाले शिविर उपयोगी हुने अपेक्षा गरिएको उनले बताए । शिविरका लागि बिरामी छनोट गर्ने कार्य चैत २३ गतेदेखि २६ गतेसम्म विभिन्न सम्बन्धित पालिकाहरूमा गरिनेछ । छनोट भएका बिरामीहरूलाई अस्पतालमा ल्याई विशेषज्ञ टोलीबाट निःशुल्क उपचार गरिनेछ ।

जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका बिरामीहरूलाई यस अवसरको लाभ लिन आग्रह गरिएको छ । यसैबीच फेक्ट नेपाल र प्रदेश अस्पताल सुर्खेतको संयुक्त आयोजनामा निःशुल्क प्लाष्टिक सर्जरी (अप्रेशन) पनि गरिनेछ । जसमा ओठ तथा तालु (मुखभित्र जिब्रोभन्दा माथि) चिरिएका खुंडे मानिसहरू र आगोले पोलिएर शरीरको एक भाग अर्को भागसँग जोडिएका व्यक्तिले विशेष फाइदा लिनसक्नेछन् ।

यस्तै पहिले अप्रेशन गरेर पनि ओठ नमिलेको, गिजामा प्वाल भएको, तालुमा प्वाल भएको तथा पहिले नै अप्रेशन भएका मानिसहरूको निःशुल्क परामर्श सेवा प्रदान गरिनेछ । चैत २३ गते नगर अस्पताल, आठबिसकोट नगरपालिका रूकुमपश्चिम, स्याउली बजार नगर अस्पताल, मेरी नगरपालिका जाजरकोट, जिल्ला अस्पताल कालीकोट र तातोपानी गाउँपालिका–३, स्वास्थ्य चौकी, जुम्लामा शिविर सञ्चालन हुनेछ ।

भने चैत २४ जिल्ला अस्पताल रूकुम पश्चिम, जिल्ला अस्पताल जाजरकोट, तिलागुफा नगर अस्पताल कालिकोट र नराकोट स्वास्थ्य चौकी, सिंजा गाउँपालिका जुम्लामा शिविर हुनेछ । यस्तै, चैत २५ जिल्ला अस्पताल, सल्यान, प्राथमिक स्वास्थ्य केन्द्र थारमारे, बाघचौर नगरपालिका सल्यान, त्रिवेणी स्वास्थ्य चौकी, मैसेखोर, नारायण नगरपालिका–५ दैलेख र लयाती विन्द्रासैैनी स्वास्थ्य चौकी, चामुण्डा बिन्दाशैनी नगरपालिका–८ दैलेखमा शिविर हुनेछ ।

त्यस्तै चैत २६ गते बेलपाटा स्वास्थ्य चौकी, डुङगेश्वर गाउँपालिका दैलेख, सालकोट आधारभुत अस्पताल, पञ्चपुरी नगरपालिका–२ सुर्खेत, राकम स्वास्थ्य चौकी, सिम्ता गाउँपालिका सुर्खेत र मेहेलकुना अस्पताल, गुर्भाकोट गाउँपालिका सुर्खेतमा शिविर सञ्चालन हुनेछन् ।
जन्मदै ओठ तालु (मुखभित्र जिब्रोभन्दा माथि) चिरिएका, जन्मदै औंला जोडिएका, बढी भएका तथा चोटपटक लागेर समस्या भएका मानिसहरूले पनि सरसल्लाहका लागि परामर्श सेवा लिनसक्ने जनाइएको छ । समस्या लुकाएर नबसी शिविरमार्फत अवसर लिन आग्रह गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार