मधेस प्रदेशमा ४० वटा आधारभूत विद्यालयका भवन बनाउँदै ‘विल्डअन’



सिरहा ।

विद्यालय भवनको अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै ‘विल्डअन’ नेपालले मधेस प्रदेशमा ४० वटा आधारभूत विद्यालयका भवन निर्माण गर्ने भएको छ । सन् २०२६ भित्र उक्त लक्ष्य पूरा गर्ने योजनासहित संस्थाले काम अघि बढाएको हो । शुक्रबार सिरहाको लहानमा आयोजित कार्यक्रममा विल्डअन नेपाल, लहान नगरपालिका र स्थानीय समुदायबिच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको छ ।

सम्झौतापछि लहान २ स्थित भानु आधारभूत विद्यालय, लहान–१ स्थित आधारभूत विद्यालय सिंगराही मटियर्वा र लहान–४ स्थित मधेस सहिद विजय सहनी आधारभूत विद्यालयमा तीन कोठे भवन तथा दुई कोठे शौचालय निर्माणको संयुक्त रूपमा शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा विल्डअनको केन्द्रीय कार्यालय धनगढीकी निर्देशक निर्मला चौधरी र लहान नगरप्रमुख महेशप्रसाद चौधरी सहभागी थिए ।

भवन निर्माणका लागि विल्डअन र नगरपालिकाबीच संयुक्त साझेदारी रहनेछ भने स्थानीय समुदायको जनश्रमदान अनिवार्य रहनेछ । यसअनुसार एक विद्यालय भवन निर्माणका लागि लाग्ने अनुमानित लागत रु ४९ लाख ९८ हजारमध्ये संस्थाले रु ३३ लाख ९७ हजार व्यहोर्ने छ भने नगरपालिकाले रु १५ लाख योगदान गर्नेछ ।

निर्देशक चौधरीले ग्रामीण क्षेत्रमा शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले आवश्यकताअनुसार विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको बताइन् । “विद्यालय भवन अभाव, जीर्ण अवस्था र विद्यार्थी सङ्ख्यालाई ध्यानमा राखेर हामीले भवन निर्माणमा सहयोग गर्दै आएका छौँ”, उनले भनिन्, “लहानबाट यो अभियान सुरु भइसकेको छ र अन्य स्थानमा विद्यालय व्यवस्थापन समिति र प्रशासनसँग छलफल भइरहेको छ ।”

उनले सिरहामा २० वटा तथा समग्र मधेस प्रदेशमा ४० वटा विद्यालय भवन निर्माण गर्ने योजना रहेको जानकारी दिइन् । निर्माण कार्य तीन महिना १६ दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले स्पष्ट पारिन् । यी आयोजना सम्पन्न भएपछि वार्षिक रूपमा क्रमशः ५० र ६० वटा थप भवन बनाइने उनले जानकारी दिइन् ।

विल्डअन एक अमेरिकी अन्तरराष्ट्रिय गैरनाफामूलक संस्था हो, जसले विकासोन्मुख देशहरूमा विद्यालय पूर्वाधार निर्माण गर्दै आएको छ । संस्थाका स्वयंसेवकहरू प्रत्यक्ष फिल्डमा खटिएर स्थानीय समुदायसँग सहकार्य गर्दै निर्माण कार्य सम्पन्न गर्ने कार्यक्रममा जानकारी दिइएको थियो । चौधरीका अनुसार निर्माण कार्यमा छड, सिमेन्ट, फलाम, फर्निचरलगायत सामग्री संस्थाले उपलब्ध गराउनेछ भने स्थानीय तहले बालुवा, गिट्टी र ढुङ्गा उपलब्ध गराउनेछन् । साथै, स्थानीय समुदायको अपनत्व र दीगोपनाका लागि श्रमदान अनिवार्य गरिएको छ ।

सन् १९९४ देखि विद्यालय संरचना निर्माण र साक्षरता अभियानमा सक्रिय रहेको विल्डअनले समाजकल्याण परिषद्बाट स्वीकृति लिएर मात्र निर्माण प्रक्रिया अघि बढाउने गरिएको जनाएको छ । हालसम्म संस्थाले नेपालका सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायतमा चार सय ५७ विद्यालयमा भवन निर्माण गरिसकेको छ भने बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी १५ वटा विद्यालय भवन निर्माणाधीन छन् ।

नगरप्रमुख चौधरीले शैक्षिक क्षेत्रमा संस्थाले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गर्दै नगरपालिकाबाट आवश्यक सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, “सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारविना गुणस्तरीय शिक्षा सम्भव हुँदैन । यस प्रकारको साझेदारीले शिक्षाको स्तर उकास्न ठुलो सहयोग पुग्नेछ । नगरपालिकाको तर्फबाट आवश्यक स्रोतसाधन र सहकार्यमा कुनै कमी हुन दिइने छैन ।” रासस

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार