दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाउँदै



सप्तरी ।

तिहार नजिकिएसँगै जिल्लाका विभिन्न गाउँका कुमाले महिला दियो र हुक्कापाती बेचेर खर्च जुटाउने प्रयास गरिरहेका छन् । ती कुमाले महिला दीपावली अर्थात् लक्ष्मी पूजामा बाल्न राजविराज क्षेत्रका घरघर पुगेर आफ्ना उत्पादन दियो र हुक्कापाती बिक्री गर्ने कार्यमा व्यस्त रहेको पाइएको छ । ती समुदायका विपन्न महिला दीपावलीको खर्च जुटाउन घरघर गएर हुक्कापाती बिक्री गरिरहेका राजविराज नगरपालिका–११ कविता यादवले बताइन् । उनीहरूले तिहार आउनु केही समयअघि देखि नै हुक्कापाती दियो बनाउने अनि त्यसबाट प्राप्त रकमबाट तिहारको खर्च जुटाउने विगतदेखिकै अभ्यास रहेको उनले बताइन् ।

मजदुरी गरी परिवार पाल्दै आएकाले ती समुदायका महिलाले चाडबाडमा खर्च जुटाउन हुक्कापातीलाई आयआर्जन प्रमुख माध्यम बनाइरहेको देखिन्छ । दुई हजारको सामानबाट हुक्कापाती बनाएर बिक्री गर्दा रु १५ हजारसम्म सकिने उनीहरूको भनाइ छ । कुमाले समुदायले दियो र हुक्कापाती बनाएर घरघरमा पु¥याएपछि सहरका उपभोक्तालाई त्यसका लागि आवश्यक सामाग्री जुटाएर तयार पार्ने समस्या र बाध्यता हटेको छ । हुक्कापातीका लागि सन्ठी, खर र सनपाट घरमा ल्याएर घण्टौँ लगाएर बनाउने गरिन्छ ।

विगतमा घरघरमा बनाइने हुक्कापाती अहिले विशेषगरी सहरी भेगमा किनेर प्रयोग गर्न थालेको राजविराज नगरपालिका–७ का उर्मिला देवले बताइन् । उनले भनिन्, ‘पहिले बजारमा बनाएको हुक्कापाती किन्न पाइँदैनथ्यो । सन्ठी, खर र सनपाट किनेर ल्याएर घरघरमा बनाइने चलन थियो । तर, अहिले सहरी क्षेत्रमा हुक्कापाती बनाउने चलन हराउँदै गएको छ। हाल किनेर प्रयोग गर्ने परम्परा बढेको छ ।’

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तोपाकी रूकमिणी यादवलाई एक हप्तायता हुक्कापाती बनाउन भ्याइनभ्याइ छ । घरको काम सकेर दिनहुँ बनाएको हुक्कापाती बेचेर तिहारमा रु १५ देखि २० हजार आम्दानी गर्दै आएको छ । उनले भनिन्, ‘जति लक्ष्मीपूजा नजिकिँदै जान्छ त्यति बिक्री हुने गरेको छ । दिनको ३०० देखि ५०० हुक्कापाती बिक्री हुँदै आएको छ । १० देखि २० रूपैयाँ प्रतिहुक्कापाती बेच्दै आएकी छु ।’ उनले प्रत्येक वर्ष एक महिना उक्त काम गर्दै आएकी छिन् ।

लक्ष्मी पूजाको दिन पूजा हुनुअघि घरमाथि, तुल्सामोठ, कुलदेवताको कोठा तथा मन्दिरमा मधेसमा हुक्कापाती राख्ने चलन छ । लक्ष्मीपूजा सकिएसँगै प्रत्येक घरपरिवारमा हुक्कापाती अनिवार्य खेल्ने परम्परा छ । त्यस कार्यले कुल पितृ उज्यालो मार्गमार्फत स्वर्गमा जान्छन् भन्ने जनविश्वास छ । त्यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी कविता पण्डित यतिबेला माटोको दियो बनाउने कार्यमा व्यस्त छिन् ।

घरको काम सकेर दियो बनाउने अनि घरघरमा गएर दियो बेच्दै आएको उनले बताइन् । तराई मधेसमा माटो भाँडाको तिहारदेखि छठभित्र राम्रो बिक्री हुने गरेको छ ।
उनले प्रत्येक दिन दुई हजारको सङ्ख्यामा दियो बोकेर बजार जाने र प्रतिदियो दुई रूपैयाँमा बेच्दै आएकी छिन् । श्रीमती पण्डितले यस याममा २० देखि ४० हजार रूपैयाँसम्म कमाइ गर्दै आएकी छिन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार