गुणस्तरीय शिक्षा, अध्ययन तथा लेखन कला



सकारात्मक सोच राख्ने विद्यार्थीहरू समाजमा विद्यमान विभिन्न प्रकारका कुलतको फन्दाबाट सधैँ अलग रहनु पर्दछ । लागूऔषध, धुम्रपान, मद्यपान, गलत आचरण र व्यवहार भएका व्यक्तिको संगत, लामो समयसम्म टिभी वा मोबाइल हेरेर अमूल्य समय खेर फाल्नु हँुदैन । यी र यस्तै विषयमा समयमै सचेत हुन सकिएन भने पछि पछुताउनु शिवाय केही बाँकी रहँदैन ।

गोविन्दप्रसाद पाण्डे

कुनै पनि परीक्षामा सफलता प्राप्त गर्नका लागि लगनशिलता, निरन्तरता, मिहिनेत र सकारात्मक सोचको महत्वपूर्ण भूमिका हुन्छ । परीक्षा ज्ञान र क्षमता मापनको एक महत्वपूर्ण औजार हो । परीक्षाले ज्ञान र सीपको स्तर पनि मापन गर्दछ । क्याम्पस, विद्यालय तथा अन्य निकायमा अध्ययनका सिलसिलामा र सरकारी तथा गैरसरकारी निकायमा रोजगारी प्रवेशका क्रममा दिइने परीक्षाहरूको तयारी कसरी गर्न,े अध्ययन कसरी गर्ने, लेखन सीप कसरी विकास गर्ने, केकस्ता पाठ्यपुस्तक एवं सन्दर्भ सामग्रीको सहायता लिने, समय व्यवस्थापन कसरी गर्ने आदि आधारभूत कुरामा नै परीक्षार्थीहरू सुनश्चित हुनु पर्दछ । जुनसुकै प्रकारका परीक्षाहरूको तयारीमा रहेका प्रतिस्पर्धीहरूका लागि प्रभावकारी हुने विषयवस्तुहरू समेटेर यो सामाग्री तयार गरिएको छ । लक्षित विभिन्न काममा सफलता प्राप्त गर्न सर्वप्रथम सकारात्मक सोचको विकास हुनु पर्दछ । सकारात्मक सोच भनेको अगाडि बढ्न उत्पे्ररित गर्ने आफूभित्र भएको एक प्रकारको ऊर्जा हो ।

सकारात्मक सोचका कारण हाम्रो उन्नति र प्रगतिका बाटाहरू खुल्छन् । सकारात्मक सोचले व्यक्ति, परिवार तथा समाज तथा राष्ट्रकै स्वास्थ्य र शिक्षामा मात्र नभई मानव जीवनको समग्र वातावरणमा समेत प्रभाव पार्दछ । नेपाली समाजमा चलेका ‘आफू भला त जगत् भला’जस्ता उखान र ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’जस्ता गीत पनि सकारात्मक सोचका उपज नै हुन् । नेपाली भाषिक सीप विकासमा बोध र अभिव्यक्तिको भूमिका महत्वपूर्ण रहेको छ । बोध भनेको पढेको कुरा बुझ्ने र अभिव्यक्ति भनेको बुझेको कुरा बोलेर वा लेखेर व्यक्त गर्ने सीप हो । लेखन र वाचन सीप विकास लागि हरेक पल हामीले सकारात्मक सोचका साथ आफूलाई नियन्त्रणमा राख्नु पर्दछ । सकारात्मक सोचका साथ अध्ययन कार्य गर्ने हो भने अरु बेलाको भन्दा यस बेला विषयवस्तु राम्रोसँग बुझिने सो बारेमा राम्ररी लेख्न सकिने तथा स्मरण शक्ति पनि बढोत्तरी हुने गर्दछ । सकारात्मक सोच राख्ने विद्यार्थीहरू समाजमा विद्यमान विभिन्न प्रकारका कुलतको फन्दाबाट सधैँ अलग रहनु पर्दछ । लागूऔषध, धुम्रपान, मद्यपान, गलत आचरण र व्यवहार भएका व्यक्तिको संगत, लामो समयसम्म टिभी वा मोबाइल हेरेर अमूल्य समय खेर फाल्नु हँुदैन । यी र यस्तै विषयमा समयमै सचेत हुन सकिएन भने पछि पछुताउनु शिवाय केही बाँकी रहँदैन ।

गुणस्तरीय शिक्षा

शिक्षाको अर्थ सिक्नु, जान्नु, स्वीकार गर्नु वा आत्मसात् गर्नु भन्ने हुन्छ । कुनै पनि विषयका बारेमा जान्नु, बुझ्नु र जाने बुझेका कुरालाई आफ्नो व्यक्तिगत जीवन, समाज र राष्ट्रको उन्नति र प्रगतिको लागि प्रयोग गर्नु भन्ने हुन्छ । व्यक्तिगत जीवन, समाज र राष्ट्रको लागि आवश्यक ज्ञान, सीप, दक्षता विकास गरी शिक्षालाई जीवन उपयोगी बनाउने काम गुणस्तरीय शिक्षा हो । गुणस्तरीय शिक्षाले राष्ट्रकोे विकास, शिक्षा, स्वास्थ्यय, कृषि, आविष्कार लगायतका विषयमा टेवा पु¥याउँछ । गुणस्तरीय शिक्षाको लागि विद्यालयमा हुने औपचारिक शिक्षाका विभिन्न चरणमा ध्यान दिनु पर्दछ । पछिल्लो समय विद्यार्थी तथा शिक्षकहरूमा पाठ्यपुस्तकमा दिएका विषयवस्तुहरू अध्ययन अध्यापन गरेर जाने बुझेका कुराहरू आफ्नो दैनिक जीवन, समाज र राष्ट्रको लागि प्रयोग गर्ने गरेको पाइँदैन । बनिबनाउ उत्तर कण्ठ गरेर परीक्षामा जसरी भए पनि राम्रो अंक ल्याएर सफल हुने तर्फ केन्द्रित रहेका देखिन्छन् । माध्यमिकस्तरका विद्यार्थीहरूसमेत शब्दकोष, व्याकरण वा अन्य सन्दर्भ सामग्रीको सहायता लिएर अध्ययनकै समयमा जगमा पुगेर पाठ बुझ्ने गरेमा मात्र विषयवस्तु बुझाइमा दिगो प्रभाव पर्न जान्छ । गणित तथा विज्ञान विषयलाई बढी अभ्यासको आवश्यकता पर्छ । शिक्षक तथा विद्यार्थीहरूले आवश्यकता अनुसारको अभ्यास गर्ने गराउने गरेको पाइँदैन जसले गर्दा विद्यार्थीको जग कमजोर भएको छ । यस्तो खालको कमजोरी प्रत्येक कक्षामा दोहोरिँदै गएको देखिन्छ । अभ्यासबिनाको अध्ययनबाट गुणस्तरीय शिक्षाको विकास सम्भव हुँदैन ।

शिक्षाको गुणस्तर सुधारका लागि विद्यार्थी, शिक्षक, अभिभावक तथा सरकारको बहुपक्ष्ीाय पहलको आवश्यकता पर्दछ । विद्यार्थीहरूले नियमित रूपमा जिज्ञासु तथा लगनशील भएर पढ्ने लेख्ने, शिक्षकले विद्यार्थीको स्तरको मापन गरेर नियमित रूपमा पृष्ठपोषण दिने, अभिभावकले नियमित रूपमा आफ्ना छोराछोरीको अध्ययनको बारेमा चासो र निगरानी राख्ने, घरमा पढ्ने लेख्ने वातावरण बनाउने तथा सरकारले सबै पक्षको संयोजन गरी असल नीति बनाई कार्यान्वयन गर्ने तथा गुणस्तरका मापदण्ड बनाई नियमित अनुगमन र मूल्यांकन गर्ने गर्नुपर्छ । नियमित रूपमा पढ्ने, पढेका विषयवस्तुहरू स्मरण गर्ने तथा गृहकार्य गर्नुपर्ने हुन्छ । विद्यार्थीहरूले आफ्नो रुचि अनुसारका विषय छनोट गरेर पढ्नु पर्दछ जस्तैः डाक्टर तथा इन्जिनियर बन्ने इच्छा भएमा विज्ञान, ऐच्छिक गणितजस्ता विषय, लेखा लेखा परीक्षण, राजस्व तथा बैंकिङ क्षेत्रका लागि लेखा तथा अर्थशास्त्र, शिक्षा सेवा तथा शिक्षक सेवाका लागि शिक्षा विषय, न्याय कानुन तथा वकिल क्षेत्रका लागि कानुन विषय पढ्नु पर्दछ । क्याम्पस तथा विद्यालयहरूमा राम्रोसँग अध्ययन अध्यापन नगर्ने नगराउने प्रवृतिले विद्यार्थीको भविष्य अन्धकार हुन्छ जसले गर्दा अन्ततः स्वयम् विद्यार्थी र राष्ट्रलाई घाटा हुन्छ । कमजोर विद्यार्थीहरूले विद्यालय तथा क्याम्पसको अध्ययनपछि लोकसेवा, शिक्षक सेवा, सेना, प्रहरी सेवा तथा संस्थान सेवाका परीक्षामा सफलता प्राप्त गर्न कठिन हुन्छ भने गाउँ, समाजमा बसेर व्यवसायिक रूपमा राम्रो पेसा तथा व्यवसाय गर्न समेत सहज हुँदैन । पेसा तथा व्यवसाय गर्दा समेत सो विषयकेन्द्रित उत्पादन, वितरण, गुणस्तर ग्राहक सम्बन्ध, सूचजा प्रविधिको प्रयोगजस्ता विविध प्रकारका ज्ञानको आवश्यकता पर्दछ ।

अध्ययन कला

सर्वप्रथम विद्यार्थीहरूले शब्दकोश, व्याकरण, सामान्यज्ञान तथा सकारात्मक सोच विकासमा टेवा दिने विविध पुस्तकहरू किनेर नियमित रूपमा ती पुस्तकहरूको अध्ययन गर्ने बानीको विकास गर्नु पर्दछ । अंग्रेजीमा दिइएको कुनै पाठ बुझ्नलाई उक्त पाठभित्र भएका अप्ठेरा शब्दावली शब्दकोषबाट टिपोट गरेर अर्थसहित त्यसका विभिन्न स्वरुप र पक्षको पनि अध्ययन गर्नु पर्दछ जसले गर्दा पाठ बुझ्न सजिलो ह्ुन्छ ।
नियमित रूपमा सामान्यज्ञान तथा समसामयिक विषयको अध्ययन गर्नाले पछि गएर प्रतिस्पर्धात्मक परीक्षा पास गर्न र रोजगारीका अवसर पाउन सजिलो हुन्छ । अध्ययन गरेर मात्र हुँदैन अध्ययन गरेका विषयवस्तुका बारेमा लेखन सीप विकास गर्न नियमित रूपमा एक दुई पेज लेख्ने तथा प्रश्न उत्तर लेख्ने बानी बसाल्नु पर्दछ । जुनसुकै विषयको परीक्षाको लागि तोकिएको पाठ्क्रम अनुसारका विषयवस्तुहरू सर्वप्रथम एकसरो पढेर विषयका बारेमा आप्mनो धारणा बनाउने तथा विषयवस्तुसंँग परिचित हुने काम गर्नुपर्छ । परीक्षाको लागि तोकिएको विषयसँग सम्बन्धित सैद्धान्तिक तथा व्यवहारिक कुराहरू समेटेर पाठ्यक्रमको सिलसिला अनुसारको नोट बनाउनु पर्छ । विषयलाई स्पष्ट र खदिलोसँग समेटेर आफूले बुझ्ने गरी नोट बनाउने उक्त नोटकापीमा अध्ययनको क्रममा पछि भेटिएका सूचना तथा तथ्यांकहरूसमेत टिपोट गर्दै रहनु पर्छ । पाठ्यपुस्तकमा दिइएका तथा विगतमा सोधिएका प्रश्नहरूको तोकिएको समयमा उत्तर लेखेर आफूभन्दा जान्ने व्यक्तिसँग जाँच गराएर पृष्ठपोषण लिने गर्नुपर्छ । परीक्षाको तयारीका लागि अध्ययन गर्न लागिसकेपछि मनस्थिति कमजोर बनाउनु हुंँदैन । लक्ष्य प्राप्त गर्ने दृढ अठोट र सकारात्मक सोचका साथ स्थिर मन गरेर निरन्तर अध्ययन र लेखन कार्य गरिरहनु पर्छ । कुनै पनि परीक्षामा सहभागी हुने निर्णय गरिसकेपछि आफ्नो निर्णयबाट पछाडि हटने, यो वर्ष अनुभवको लागि परीक्षा दिने हो, परीक्षा पास नभए के फरक पर्छ, व्यापार गर्छु, विदेश जान्छु भन्ने जस्ता मनोबल कमजोर बनाउने विचारहरू मनमा आउन दिनु हँुदैन । निरन्तर गरिने अभ्यासबाट जुनसुकै विषयवस्तुमा पनि स्पष्ट हुन सकिन्छ र उक्त विषयबाट जस्ता खालका प्रश्न सोधे पनि मौलिक उत्तर लेख्न सकिन्छ ।

परीक्षाको तयारी गर्दा धेरै बुँदा कण्ठ गर्नुपर्ने भएमा सूत्र बनाएर कण्ठ गर्न सकिन्छ । ठुलोबाट सानो, सानोबाट ठूलो पहिलो दोस्रो जस्ता क्रम आउने विषयबस्तुको सुत्र बनाउँदा सो विषयको अगाडीको अक्षर अनुसार क्रमशः सुत्र बनाउनु पर्छ जस्तैः हाल सम्मका संयुक्त राष्ट्रसंघका महासचिवहरू ग्ल्याट्रीड्याउकुह्याबुकोवाए (ग्याड वाइडेन जेव (बेलायत), ट्रीक वेली (नर्वे), ड्याग ह्यामर सोल्ज (स्वीडेन), उथान्त (बर्मा), कुर्तवाइल्ड (अष्टेलिया), ह्याबियर पेयर द कोयार (पेरु), बुत्रोस बुत्रोस घाली (इजिप्ट), कोफी अन्नान (घाना), वानकी मुन (दक्षिण कोरिया), एटनियो गुटरेस (पोर्चुगल) । नेपालका ८००० मिटरभन्दा अग्ला हिमाल सकल्होमचोधमअ (सगरमाथा, कञ्चनजंगा, ल्होत्से, मकालु, चोयु, धौलागिरी, मनास्लु र अन्नपूर्ण) सप्तकोसीका सात सहायक नदीका लागि अतलिइसुतादु (अरुण, तमोर, लिखु, इन्द्रावती, सुनकोसी, तामाकोसी र दुधकोसी) सप्तगण्डकीका सात सहायक नदीका लागि त्रिबुकामदमासे (त्रिसुली, बुढीगण्डकी, काली गण्डकी, मस्र्याङयादी, दरौदी, मादी, र सेती) कर्णालीका सात सहायक नदीका लागि हुमुसाठुबुतिसे (हुम्ला कर्णाली, मुगु कर्णाली, सानी भेरी, ठुली भेरी, बुढी गंगा, तिला र सेती) ।
पाठ्यक्रममा भएका विषयवस्तुको परिचय, सैद्धान्तिक पक्ष, उद्देश्य, महत्व, विशेषता, समस्या, समास्या समाधानका उपायहरूको चिरफार गरेर गहन अध्ययन गर्ने बानी विकास गर्नु पर्दछ । दुई तीन जना मिल्ने साथीहरू समूहमा बसेर तयारी गर्दा तयारीका क्रममा एक्लोपनको महसुस नहुने र सजिलोसँग तयारी गर्ने वातावरण बन्दछ । समूहमा तयारी गर्दा एक आपसमा खुलेर अध्ययन गर्ने र जानेका विषयवस्तुहरूका बारेमा इमान्दरीपूर्वक एकआपसमा खुलस्त रूपमा छलफल गर्ने वातावरण बनाउनु पर्दछ । यसो गर्न नसकिएमा एकआपसमा विश्वासको संकट उत्पन्न भई समूहगत अध्ययन प्रभावकारी नहुन पनि सक्छ ।

लेखन कला

परीक्षाको दिनभन्दा एक दिन अगाडि आप्mनो परीक्षा केन्द्र यकिन गरेर बस्नु पर्दछ जसले गर्दा परीक्षाको दिन आफूलाई केन्द्र पत्ता लगाउने तनाव हुँंदैन । परीक्षा समयभन्दा आधा घण्टा अगाडि परीक्षा केन्द्रमा प्रवेश गरेर उत्तर पुस्तिकामा नाम थर, ठेगाना, रोल नं. जस्ता आवश्यक विवरण लेख्नु पर्दछ । यसो गर्दा प्रश्नपत्र प्राप्त भएपछि उत्तर लेख्ने समय बचत हुन्छ । उत्तर लेख्दा छोटो प्रश्नको हकमा मिल्ने भएसम्म प्रश्नले मागेको कुरालाई बुँदागत रूपमा प्रस्तुत गर्नु पर्दछ भने लामो प्रश्नको हकमा परिचय, मागेको विषयवस्तु तथा अन्तमा सार लेख्नु पर्छ ।
महत्व, विशेषता, प्रकार, समस्या तथा समाधानका उपायहरू बुँदागत रूपमा लेख्नुपर्दछ भने विश्लेषण गर, तर्क देऊ, प्रष्ट पार, आफ्नो धारणा लेख भनेका प्रश्नहरूको उत्तर बुदाँगत रूपमा नभई भाषागत रूपमा लेख्नु पर्दछ । उत्तरको अन्तमा सार लेख्नुपर्छ जसमा सकारात्मक अन्त्य गर्नु पर्दछ । आफूलाई सजिलो लाग्ने प्रश्नहरूको उत्तर पहिला र सोचेर सम्झेर लेख्नुपर्ने प्रश्नहरूको उत्तर पछि लेख्ने गरी योजना बनाउनु पर्छ ।
उत्तर लेख्दा आपूmलाई उपलब्ध समयलाई ध्यान दिँंदै तोकिएको समयमा तोकिएको उत्तर लेखी सक्नुपर्छ । सबै प्रश्नको उत्तर लेख्नैपर्छ । कुनै प्रश्न छोड्नु हुँदैन । उत्तर लेख्दा राम्रोसँग बुझिने र दोहोरो अर्थ नलाग्ने गरी स्पष्ट भाषामा लेख्नु पर्दछ । राम्रो र स्पष्ट अक्षरमा उत्तर लेख्दा परीक्षकलाई सहज हुने हँुंदा मन खुलाएर अंक दिने वातावरण बन्छ । उत्तर लेख्दा सन्दर्भ र प्रसङ्गअनुसार मिल्ने उदारहण, तालिका, चित्र, तर्क तथा तथ्याङ्क प्रस्तुत गर्दा बढी नम्बर प्राप्त गर्न सकिन्छ । परीक्षामा धेरै पढेका, जानेका र बुझेका परीक्षार्थी सफल भइहाल्छन् भन्ने हुँंदैन जानेका कुराहरू तोकिएको समयमा सिलसिला मिलाएर उत्तर पुस्तिकामा आकर्षक रूपमा लेख्न सक्ने परीक्षार्थीहरूले सफलता प्राप्त गर्दछन्।
लिखित परीक्षाको उत्तर लेख्दा उत्तर पुस्तिकाको दायाँबायाँ डेढ इन्च तथा तलमाथि एक इन्च मार्जिन छोडेर लेख्नुपर्छ । वस्तुगत परीक्षामा दिइएका विकल्पहरू उस्तै उस्तै खालका हुने हुँदा नहडबडाएर संयमतापूर्वक विकल्प छनोट गर्नुपर्दछ । धैर्यता, निरन्तरता र सकारात्मक सोचका साथ अध्ययनमा लागिरहने परीक्षार्थीले सफलताको शिखर चुम्न सक्छन् । ‘गरे हुन्छ, हिँडे पुगिन्छ’ भनेजस्तै निरन्तर मिहिनेत गरेमा सफलता हात पर्दछ । सफलता अरुको हातमा नभै आप्mनो मिहिनेत र निरन्तरतामा भरपर्दछ । घोडा चढ्ने मानिस लड्छ र पुरस्कार पनि त्यसैले प्राप्त गर्दछ भने जस्तै सबै प्रकारका परीक्षाको लागि निरन्तर अध्ययन र लेखनले विद्यार्थी एक पटक असफल भए पनि पुन राम्रो अंक ल्याएर सफल हुन सक्छ ।

(तातोपानी गाउँपालिका वडा नं ४ गिडीखोला निवासी लेखक पाण्डे नेपाल सरकारको उपसचिवमा कार्यरत छन् ।)

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २४ गते आइतबार